शनिबार, माघ १०, २०८२

स्थायित्वका लागि कांग्रेससँग सहकार्य गरिएको हो: देव गुरूङ

मेरोन्यूज २०७८ चैत ९ गते ७:१९

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन्।

पोखरामा मंगलबारदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले कांग्रेस सँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र सङ्घीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको बताए।

‘माओवादीको पहल कदमीमा कांग्रेस सहितका शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो,’ उनले भने।

नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो।

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्ने उल्लेख गर्दै नेता गुरुङले भने, ‘माओवादीले जितेन भने देशको संविधान र सङ्घीयता धरापमा पर्छ। अहिलेको सबै खालको परिवर्तन माओवादीको एजेण्डा भएकाले यसको रक्षाका लागि माओवादीले जित्नुको विकल्प छैन।’

आगामी स्थानीय तहको निर्वाचनमा माओवादी अरुसँगको तालमेलमा भर पर्न नहुने उनको भनाइ थियो। रासस

प्रतिक्रिया