सोमबार, चैत १६, २०८२

‘दिनभर गिट्टी फोर्दा पेटभर खान पुग्दैन’

मेरोन्यूज २०७८ चैत १३ गते १५:२५

काठमाडौँ । छायानाथ रारा नगरपालिका ५ ढुम गाउँमा ढुंगा कुटिरहेका महिला ठाउँठाउँमा देखिन्छन् । यही कामबाट उनीहरूले जेनतेन परिवार पालिरहेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यिनै महिलामध्येकी एक हुन्, रन्नदेवी विक । उनलाई हरेक बिहान उठ्नेबित्तिकै आज कति गिट्टी कुट्न सकिएला भनेर चिन्ता हुन्छ । यहाँका कयौँ परिवार महिलाको यही कमाईले धानिरहेको छ ।

आम्दानीको अर्को उपाय नहुँदा छायानाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाले गिट्टी कुटेरै जीवन धान्न बाध्य भएका हुन् । सोही ठाउँकी रामती कामीले गिट्टी फोडेको आम्दानीबाट घर खर्च चलाउँदै आएको निकै वर्ष भयो ।

बिहानै गिट्टी फोड्न घरबाट निस्केएकी उनी बेलुका मात्र फर्किन्छिन् । उनी सदरमुकाम गमगढी बजार आसपासका स्थानमा गिट्टी फोड्ने पुग्छिन् ।

‘गिट्टी कुटेर मासिक पाँचदेखि १० हजारसम्म आम्दानी हुन्छ,’ उनले भनिन्, ‘यही आम्दानीबाट घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु, यस्तै काम गर्न थालेको करिब १० वर्ष भयो ।’

उनी जस्तै ४० वर्षीया रन्नदेवीले विकको पनि उस्तै पीडा छ । उनका त श्रीमानसमेत गिट्टी कुट्छन् । श्रीमान श्रीमतीले नै दिनभर गिट्टी कुट्दा दुई छाक मुस्किलले टर्ने गरेको उनी बताउँछिन् ।

तर, अन्य आयस्रोत नहुँदा उनीहरूको विकल्प पनि नभएको दुखेसो गर्छन । रन्नदेवीले भनिन्, ‘हाम्रो रोजगारी नै यही हो, यसैलाई स्वरोजगार ठानेका छौँ, दुवैले महिनाको २० हजारसम्म कमाई गर्छौं ।’

यस्तै, बालमन्दिर आधारभूत विद्यालय चैनगाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीय बालिका भैपुरा कामी आमा, काकीसँगै गिट्टी कुट्न बजार पुग्छिन् । तर उनी रहरले गिट्टी कुटन भने आएकी होइनन् । उनी पढाई खर्च जुटाउन आएको बताउँछिन् ।

उनी आवश्यक कपी कलम किन्न खर्च यहीबाट जोहो गर्छिन । उनले भनिन्, ‘आमाले पनि गिट्टी कुट्दै मलाई पढाई रहनुभएको छ, आमा एक्लैको कमाइले घरखर्च जुटाउन हम्मेहम्मे परेपछि म पनि आएको हो ।’ अरु साथीहरू जस्तै पढ्न, खेल्न मन भए पनि यता आएर काम गर्नु परेको उनले सुनाइन ।

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउनका लागि निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन् । तर, काम गरेअनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ ।

परिवार चलाउन उनीहरू न्युन पारिश्रमिकमा पनि काम गर्न बाध्य छन् । अझ महिलालाई न्युन पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ । महिलाले एक कट्टाको ५० देखि ६० रुपैयाँ मात्रै पाउँछन् ।

उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी फोड्छन् । हिउँदमा खेतीपातीको काम पनि नहुने हुँदा थोरै पारिश्रमिकमा पनि काम गर्न बाध्य भएको महिला बताउँछन् ।

प्रतिक्रिया