सोमबार, चैत १६, २०८२

जब त्रिविका सहप्राध्यापकले उत्तरपुस्तिकामा केरमेट र नतिजा फेरबदल गरेपछि…

मेरोन्यूज २०७८ चैत १६ गते ६:४४

काठमाडौं । देशको पुरानो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ। उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै भएको छ, जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा हेर्दा आयोगमा कार्यरत कर्मचारीले परीक्षामा अनाधिकृतरूपमा चलखेल गरेको पाइएको छ।

आयोगले ०७३ फागुन १८ मा प्रकाशित विज्ञापन नं १८-०७३-०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा अख्तियारको दुरुपयोग गरेको पाइएको छ।

ती पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता गरेको पाइएको आयोगले स्पष्ट पारेको छ।

प्राप्ताङ्क केरमेट गरेको, थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको समेत पाइएको छ।

आयोगले लेखा सहायक पदको प्रथमपत्रको परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायकको दोस्रो पत्रको परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको छ।

यस्तै पुस्तकालय सहायक पदको दोस्रो पत्रको परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्न आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

उनीहरुलाई तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजारदेखि रु १० हजारसम्मको जरिवानाको मागदावी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। रासस

प्रतिक्रिया