शुक्रबार, मंसिर १२, २०८२

नेपालको दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

मेरोन्यूज २०७८ चैत १६ गते १५:१५

काठमाडौँ । त्रिकोणात्मक टी २० श्रृंखलाअन्तर्गत आजको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । मलेसियाले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरको क्षतिमा ४ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर ११४ रन बनाएको थियो । बलिङतर्फ नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।

जसमा करणले ३ ओभरमा १६ रन मात्र खर्चिएका थिए भने लामिछानेले ४ ओभरमा २७ रन खर्चिए । यस्तै, दीपेन्द्र सिंह ऐरी, अविनाश बोहरा र कुशल मल्लले १–१ विकेट लिएका थिए ।

ब्याटिङतर्फ नेपालका लागि ओपनर कुशल भुर्तेलले एक रन मात्र बनाएर आउट भए । यस्तै, असिफ शेखले ३८ बल खेल्दै अर्धशतक बनाए । उनले सर्वाधिक ५७ रन बनाएका थिए ।

यसैगरी, रोहित पौडेलले १२ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २१ रन बनाए । खेलमा दिलिप नाथ १५ रन र कुशल मल्ल ३ रनमा नटआउट भए ।

मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनाएको थियो । मलेसियाका जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रन बनाए । यसबाहेक, कप्तान अहमेद फैजले २४, मुहम्मद अमिर १६, सेद अजिजले १४ रन बनाए ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)लाई १५ रनले हराएको थियो । यस्तै, मलेसियाले पनि पिएनजीमाथि आठ रनको जित दर्ता गराएको थियो । अब नेपालले भोलि पीएनजीसँग तेस्रो खेल खेल्ने छ ।

प्रतिक्रिया