सोमबार, माघ १२, २०८२

प्रधानमन्त्री देउवा पाँचौं पटक आज भारत भ्रमणमा जाँदै, यो भ्रमण अहिलेसम्मकै छोटो

यस्तो छ देउवाको भारत बसाईको कार्य तालिका

मेरोन्यूज २०७८ चैत १८ गते १०:५५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा आज निस्कदैछन् । प्रधानमन्त्री देउवा तीनदिने भारत भ्रमणमा निस्कन लागेका हुन् । देउवाको प्रधानमन्त्री भएपछिको औपचारिक भारत भ्रमण यो पाँचौं पटक हो ।

चार वर्षअघि राजकीय भ्रमणमा भारत निस्केका देउवाको यसपटक औपचारिक भ्रमण हुँदै छ । देउवा पहिलो पटक प्रधानमन्त्री बनेपछि वि.स.२०५२ साल माघ २८ देखि फागुन ५ गतेसम्म सात दिने भारत भ्रमणमा निस्केका थिए । जुन उनको पहिलो औपचारिक भारत भ्रमण थियो ।

पाँच वर्षपछि दोस्रो पटक वि.स. २०५८ साल चैत ७ देखि १२ गतेसम्म दिल्ली भ्रमण गरेका थिए । त्यो समयमा ६ दिनको भारत भ्रमणमा निस्केका थिए । तेस्रो पटक प्रधानमन्त्री बनेपछि वि.स.२०६१ साल भदौं २३ देखि २७ गते भारत भ्रमण गएका थिए । त्यस समयमा ५ दिन भारत भ्रमणमा निस्केका थिए ।

भने चौंथो पटक वि.स. २०७४ भदौ ७ देखि ११ गतेसम्म भारत भ्रमणमा निस्केका थिए । उनको त्यो समयमा ५ दिनको भारत भ्रमण थियो । आज अर्थात वि.स.२०७८ चैत्र १८ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा निस्कदैछन् । जुन तीन दिनको छ । प्रधानमन्त्री देउवाको औपचारिक भारत भ्रमण अहिलेसम्मकै छोटो हो ।

यस्तो देउवाको भारत बसाईको कार्य तालिका
प्रधानमन्त्री देउवा आज अपराह्न २.५० बजे भारतको दिल्लीस्थित ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछन् । भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार शुक्रबार अपराह्न ४ ३० मा विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

आजै प्रधानमन्त्री देउवालाई भाजपा मुख्यालय आइटिओमा भाजपा अध्यक्ष जेपी नड्डाले स्वागत गर्ने कार्यक्रम छ । तर, देउवाले प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेस र अन्य प्रतिपक्षी नेताहरूसँग बेग्लाबेग्लै भेट्ने कार्यक्रम छैन ।
आज साँझ नेपाली राजदूतावासमा नेपालप्रति शुभेच्छा राख्ने भारतीय नेतासँग रात्रिभोजसहित प्रधानमन्त्री देउवाको सामूहिक भेटवार्ताको कार्यक्रम तय भएको छ ।
शनिबार बिहान प्रधानमन्त्री देउवा राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने कार्यक्रम छ ।

शनिबार स्थानीय समय अनुसार विहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट जानेछन् । त्यसपछि सोही दिन ११ः१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितीमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ । त्यसपश्चात सवा १२ बजे प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल सुरुवात गर्ने कार्यक्रम छ ।

नेपालमा उत्पादित र नेपाललाई आवश्यकताभन्दा बढी भएको विद्युत् खरिदको विषयमा सम्झौताका लागि द्विपक्षीय छलफल भइरहेको छ । शनिबार नै अपराह्न ४ः३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् 

प्रधानमन्त्री देउवा आइतबार बिहान ९ बजे विशेष जहाजबाट बनारस पुग्ने कार्यक्रम छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट्ने छन् । बनारसबाट प्रधानमन्त्री देउवा अपराह्न ४ बजे दिल्ली आएर स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया