महानगर ‘मेयर’ बन्ने लालबाबु पण्डितको सपना !

लालबाबु पण्डित चिनाईरहनु पर्ने नाम होइन । एमालेको स्थायी कमिटि सदस्य, पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री । एमालेको दशौं महाधिवेशनमा पदाधिकारी चुनाव लड्ने योजनासहित चितवन भरतपुर पुगेका थिए पण्डित । तर ओलीले सहमतिका नाममा उनको योजनामा ‘दागा’ धसे ।
ओलीले महाधिवेशन हलमा प्रस्तुत गरेको केन्द्रीय कमिटिको लिष्टमा उनको नाम केन्द्रीय सदस्यमा मात्रै राखिएको थियो । तर उनले त्यसमा असहमति जनाए ।
चितवनबाटै पण्डितले सामाजिक सन्जालमा लेखे, -‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’ त्यसपछि पनि उनले सञ्चारकर्मीहरुसँग भने, –‘अव म पार्टीको संगठित सदस्य मात्रै हुन्छु । पार्टीको कार्यकारी भूमिकामा नरहेरै काम गर्छु ।’
तर उनको त्यो बोली ब्यवहारतः कार्यान्वयन भएन । उनी आफ्नै बोलीमा अडिन सकेनन । त्यसपछि उनी पार्टी बैठकमा जान थाले । पदीय जिम्मेवारी नलिने घोषणा गरेका पण्डितले एमालेको स्थायी कमिटि सदस्य पद स्वीकारे ।
त्यसो त उनी एमालेमा माधव नेपाल पनि सँगै रहँदा माधव नेपालको टिममा थिए । नवौं महाधिवेशनमा माधव नेपालको टिमबाट उपाध्यक्ष लडेका थिए । तर त्यसवेला उनी पराजित भए । ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बन्दा सम्म उनी माधव नेपालकै कोटामा मन्त्री बनेका थिए ।
जव पार्टीभित्र अन्तरसंर्घष चुलियो, उनले माधव नेपाललाई चटक्कै छोडे । अहिले एमालेमा १० बुँदे सहमति गरेर बसेका घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भटटाराईहरु भन्दा पहिल्यै उनले माधव नेपालको साथ छोडेका थिए । जसकाकारण पनि पण्डितप्रति कतिपय नेता-कार्यकर्ताले गर्ने टिप्प्णी पहिले जस्तो ‘सफाचट’ छैन । अर्थात उनीमाथी ‘ढोंगी’को आरोप लगाउने पनि अहिले एमालेभित्रै छन् ।
पहिलो पटक सामान्य प्रशासन मन्त्री हुँदा डीभी-पीआर प्रकरणमा उनी निक्कै चर्चामा आए । राष्ट्रवादी नेता, एमालेकै शीर्षस्थ नेतृत्वले डीभी पीआर प्रकरणमा उनले लिएको अडान छोडन गरेको आदेश नमानेको अडिग नेताका रुपमा उनलाई जनमानसले चिनेका थिए । पार्टी नेतृत्वको आदेश डिभि पीआर प्रक्रणमा नमानेको स्वंयम पण्डितले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका थिए ।
राम्रो काममा लिएको अडान संगै सादा जीवन शैलीका नेताका रुपमा पनि उनको वाहवाही भएको थियो । साइकल चढेर हिड्ने, सादाजीवन उच्च विचारका नेताका रुपमा उनको चर्चा थियो । सिंहदरबारलाई पृष्ठभूमिमा पारेर झण्डावाल साइकल चढेको उनको तस्वीर भाइरल नै भएको थियो । तर त्यसमा पनि उनी टिक्न सकेनन । पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा उनले आफनो विगतको छविमा आफैले दाग लगाए ।
ओली नेतृत्वको सरकारमा मन्त्री भएका बेला चार–चार वटा सरकारी गाडी प्रयोग गरेर उनले आफ्नो ‘साइकल मन्त्री’को छवि आफैले ध्वस्त पारे । मन्त्री भएका बेला उनले श्रीमती विमला महत सहित निकटस्थहरूका लागि सरकारी गाडी प्रयोग गरेको विषय सञ्चारमाध्यममा छ्याप्पछ्याप्ती नै आयो ।
उनले आफ्नो सादा जीवनको प्रतिष्ठा कायम राख्न सकेनन् ।
उनको बोली र ब्यवहार नै फरक देखिन थालेको आरोप एमालेभित्रै उनीमाथी लाग्न थाल्यो । आफ्नै बोलीमा उनी अडिन नसक्ने नेताका रुपमा परिचित हुन थाले ।
अहिले फेरि उनी एकाएक चर्चामा छन् । त्यसको कारण हो, – उनले विराटनगरको मेयरमा राखेको रुची । संघीय सरकारको मन्त्री भईसकेका ब्यक्ति, कांग्रेसको एउटा इतर समुहका नेता शेखर कोइरालालाई गत प्रतिनिधीसभा चुनाव हराएर सांसद बनेका ब्यक्ति, विराटनगरको मेयरमा उठने चर्चा चलाएर उनी अहिले फेरि चर्चामा आएका हन् ।
हुन त उनको यो चर्चा भन्दा रहर नै भएको उनी निकटस्थहरु बताउँछन् ।
राजनीतिमा लाग्ने मान्छेहरु स्थानीय तहमा जिम्मेवारी पाएपछि क्रमशः प्रदेश र संघमा आउन खोज्छन्, तर उनको रहर भने अव संघबाट फर्केर स्थानीय तह तिर झरेको छ । लालवावु पण्डितमा जागेको यो रहर भित्र अनेक किस्सा छन् । पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराईले केही समय पहिले आफु मेयरमा उठ्न तयार रहेको भन्ने सार्वजनिक बोलीले उनको रहरलाई ढाढस दिएको देखिन्छ । तर उनले त्यस्तो ढाढस देखाउन चाहाँदैनन ।
संघीय सरकारमा उनी ओली नेतृत्वको सरकारका बेला काम देखाउन नसकेको भनी वीचमै फालिएका थिए । पार्टीभित्र उनको पहिले जस्तो अहिले टेक्ने टेको छैन । माधव नेपालले पहिले दरिलो टेको दिएपनि अहिले उनलाई टेको थाम्ने नेता एमालेमा विरलै छ ।
जसकाकारण पनि उनले संघीय सरकारमा पुग्ने सपना अव खासै नदेखेका हुन् की भन्ने उनी निकटस्थ नेता कार्यकर्तालाई लागेको छ । त्यही भएर पण्डितमा स्थानीय तहको कार्यकारी पद, त्यसमा पनि महानगरको मेयर हुने भोक जागेको हुनसक्ने एमालेकै नेता कार्यकर्ता बताउँछन् ।
उनको त्यो भोक अहिले मात्रै जागेको होइन । २०७२ मा संविधान निर्माण भएपछि स्थानीय तहको संरचना निर्माण भयो । स्थानीय तहमा रहेको अधिकार, विराटनगर महानगरमा मेयर भएर हुने ठाँटबाँठ देखेरै उनी २०७३ सालदेखि नै विराटनगरको मेयरमा मोहित भएका थिए ।
पहिलो पटक स्थानीय तह चुनाव २०७४ मा भईरहँदा पनि पण्डितले विराटनगरको मेयरमा आकाँक्षा देखाएका थिए ।
‘पार्टीले तपाईले नै लड्नुपर्यो भन्यो भने म पछि हट्दिनँ । एमालेले चुनाव जित्नुपर्छ, यसका लागि म आवश्यक हुँ भन्ने पार्टीले भन्छ भने म तयार छु ।’ त्यसवेला पनि पण्डितले मेयरको आकांक्षा देखाउँदै सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘अब बिराटनगरको विकासका लागि पनि एमालेको नेतृत्व चाहिएको छ ।’
तर उनले भित्री रुपमा मेयरमा गरेको प्रयास त्यसवेला सफल भएन । विनोढ ढकालले पार्टीको टिकट पाए । तर ढकालले चुनाव जितेनन ।
अहिले फेरि लालबाबुले भित्री रुपमा महानगरको मेयरमा रुची देखाएका छन् । उनलाई निकटबाट जान्नेवुझनेहरु भन्छन्, उनले भित्री चाह देखाएका छन्, त्यही भएर मुख खोलेका हुन्, पार्टीले चाहे आफु तयार रहेको भनेर सन्देश दिएका हुन् ।
एकातिर सत्ता गठबन्धन दलको चुनावी तालमेलका वीचमा हेवी वेटकै उम्मेदवार खोज्नुपर्ने एमालेभित्र वहस छ । त्यही वहसका वीचमा उनले पार्टीले चाहे आफु उम्मेदवार बन्न तयार रहेको सन्देश पार्टी नेतृत्वमा सुनाउन पनि उम्मेदवारको चर्चा गराउन आफै कस्सिएका हुन् ।
यसपटक पनि उनले अनौपचारीक रुपमा चर्चा चलाएर पार्टीको मनसाय बुझ्न लागेको स्रोतको दाबी छ । ‘मेयरमा उठ्ने नउठ्ने यो मेरो हातको कुरो होईन ।’ पण्डितले मेरोन्यूज सँग भने,‘पार्टीको निर्णयमा भर पर्ने कुरो हो ।’
लालबाबुको मेयर सपना रहर, काम गर्ने इच्छाशक्ति या चर्चा के हो त ? ‘रहरले मात्रै सबै सम्भव हुँदैन, पार्टीको निर्णयले टिकट दियो भने पछाडी हट्ने कुरै छैन,’ पण्डितले मेरोन्यूजसँग भने ।
२०३९ सालबाट राजनीति प्रारम्भ गरेका पण्डित पुर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका नेता हुन् ।
बाबुरामको स्टाटसले दिएको बल
पूर्व प्रधानमन्त्री भईसकेकै ब्यक्तिले स्थानीय तहको मेयरमा रुची रहेको अभिब्यक्ति दिएपछि लालबाबुमा विराटनगरको मेयरमा थप रुची जाँगेको देखिन्छ । भलै, त्यो विषय उनले सार्वजनिक रुपमा देखाएका छैनन । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समेत स्थानिय सरकारमा जाने रुचीको अभिव्यक्ति दिएका थिए ।
गत चैत ५ गते डा भटटराइले सामाजिक सन्जालमार्फत भनेका थिए –‘प्रम भएको मान्छे मेयर बन्न गजबले मिल्छ ! फ्रान्सका पूर्व प्रम इडवार्ड फिलिप अहिले त्यहाँको हाब्रे नगरका मेयर छन्। म सधैं साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख र मेयर बन्नोस् ! कसैले सुने पो ! हाम्रो संस्कार जो छ !’
स्थानीय तहको उम्मेदवार वन्न जाहाँ मतदाता नामावली छ, त्यही नै बन्न सक्छ । लालबाबुको विराटनगर महानगरभित्रै मतदाता नामावली छ । डा बाबुरामको गोरखाको पालुङटार नगरपालिकामा छ । भटटराईले अहिले पालुङटार नगरपालिका वाहेक महानगरमा आएर उम्मेदवार बन्न सक्दैनन, तर लालबाबुले चाहे उनले विराटनगरको मेयरमा उम्मेदवार बन्न पाँउछन् ।
भट्टराईले एक सञ्चार माध्यमसँगको अन्तरवार्ताको क्रममा भनेका थिए ‘अहिले मैले चाहेर पनि काठमाडौं महानगरमा उठ्न सक्दिनँ । जनताले चाहे, त्यस्तो आवश्यकता भयो भने अर्को चोटि मतदाता नामावली परिवर्तन गर्न सक्छु । यो मेरो ‘रोमान्टिसिज्म’ होइन । कहिलेकाहीं सोच्छु– ६८ वर्ष भइसकें । पटक–पटक सांसद हुनुको सट्टा बरु एकचोटि स्थानीयतहमा बसेर आफ्नो अनुभव र क्षमताको उपयोग गर्न सकिन्छ भने जस्तो पनि लाग्छ ।’
पण्डितलाई पनि भटटराईलाई जस्तै स्थानीय तहकै महानगरको मेयर बन्ने सपना छ । त्यो सपनामा पार्टी सहयोगी बनिदेओस् भन्ने उनको भित्री आकांक्षा हो । तर पार्टीकै अन्य स्थानीय तह ताकेरै बसेका नेताहरु वाधक बनिदिने भएपछि उनी बेला बेला चर्चा चलाएर पनि त्यक्तिकै बसेका छन् ।
अहिले पनि उनले नेताहरुको मनोविज्ञान भरपूर वुझने प्रयास गरेका छन् । भलैं, उनको यो मनोकांक्षा कति पूरा हुन्छ ? प्रतिक्षाको विषय बनेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया