मंगलबार, माघ १३, २०८२

सत्ता गठबन्धनको निर्वाचन तयारी : वडासम्मकै ‘ग्राउन्ड रिपोर्ट’ बुझाउने आज अन्तिम दिन

मेरोन्यूज २०७८ चैत २२ गते ८:१०

काठमाडौं । सत्ता गठबन्धन दलले आफनो मातहात पार्टी कमिटीलाई बडासम्मकै ‘ग्राउन्ड रिपोर्ट’ बुझाउने आजसम्मको समयसिमा तोकेका छन् । सत्ता गठबन्धन दलका नेताहरुको बैठक बसेर पालिका तहसम्मकै ‘ग्राउन्ड रिपोर्ट’ तयार पारि केन्द्रमा पठाउन गठबन्धनमा आवद्द सबै दलले आफ्ना तल्लो पार्टी कमिटीलाई सर्कुलर गरेका थिए ।
सोही आधारमा पालिका, जिल्ला र प्रदेश स्तरमा सत्तागठबन्धन दलमा आवद्द कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्टिय जनमोर्चाका नेताहरु सम्मिलित संन्यत्रको बैठक चैत १८ यता वसिरहेका छन् ।
कतिपय पालिका र जिल्लाले प्रदेश स्तरमा आँकडा सहितको ग्राउन्ड रिपोर्ट बुझाईसकेका छन् भने कतिपयले आज पनि छलफल गरेर प्रतिवेदन तयार पारेर बुझाउने तयारी गरेका छन् ।

केन्द्रमा भने ‘ग्राउन्ड रिपोर्ट’ आएपछि गठबन्धन दलको बैठक बसेर कसरी अगाडी बढ्ने भन्ने बारेमा निर्णय लिने तयारी छ ।
‘२२ गतेसम्म हामीले सवै पालिका, जिल्ला र प्रदेश संन्यत्रलाई बैठक बसेर केन्द्रमा प्रतिवेदन पठाउनुस् भनेका छौं, त्यही आधारमा आजसम्ममा तलबाट रिपोर्ट आउँछ, त्यसपछि संयन्त्रको बैठक बसेर, कसरी अगाडि बढ्ने भन्ने तय गरिन्छ,’ नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले मेरोन्यूजसँग भने ।
तर कतिपय पालिका र जिल्ला स्तरमा अझै गठबन्धन दलहरुका बीचमा छलफल चलिरहेकोले केन्द्रले आजसम्म ग्राउण्ड रिपोट बुझाउन निर्देशन गरेपनि भोलि २३ चैत साँझसम्ममा बुझाउने गरी तयारी भएको छ ।
केन्द्रले भोलिसाँझबाट भने ढिलो नगर्न निर्देशन गरिसकेको छ । गठबन्धन दलको चैत्र १७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह चुनावमा सत्ता गठबन्धन दलहरुका वीचमा चुनावी तालमेल गर्ने सैद्धान्तिक निर्णय गरेका थिए ।
साथै बैठकले गठबन्धन भन्दा बाहिरका दलसँग गठबन्धनमा रहेका दलले चुनावी तालमेल नगर्ने, गनै पर्ने भएमा गठबन्धन दलका बीचमा आपसी समझदारी निर्माण गरेर मात्र गर्नुपर्ने निर्णय गरेको थियो ।
त्यही निर्णय पछि वडा तहसम्मकै ‘ग्राउन्ड रिपोर्ट’ लिनका लागि प्रदेश, जिल्ला र पालिका तहसम्मै गठबन्धनमा आवद्ध दलका सम्वन्धित पार्टी प्रमुखहरु रहेको संन्यत्र बनाउने निर्णय गरेको थियो ।
त्यस्तो संन्यत्रले आपसी समझदारीका आधारमा बैठकको अध्यक्षता गर्ने र त्यसले गत स्थानीय तह चुनाव र अहिलेको धरातलीय यर्थाथता विश्लेषण गरेर प्रतिवेदन तयार पारि जिल्ला, प्रदेश हुँदै केन्द्रमा पठाउने निर्देशन गरेको थियो ।
यसरी प्रतिवेदन बनाउँदा गत स्थानीय तह निर्वाचनमा हाल गठबन्धनमा रहेका दलहरूको जिल्ला समन्वय समिति, जिल्लास्थित सबै पालिका तथा वडामा प्राप्त मतको अवस्था, एमाले तथा अन्य प्रतिस्पर्धी पार्टीले प्राप्त गरेको मतको अवस्था,गठबन्धनमा रहेका दलको अलग–अलग सबै स्थानीय तहमा रहेको वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत), गठबन्धनमा रहेका दलहरूको संयुक्त वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत) र एमाले तथा प्रतिस्पर्धी अन्य पार्टीको वर्तमान सांगठनिक अवस्था (मतभारको प्रतिशत) बारे अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन तयार पारि वुझाउन भनिएको छ । यसरी आजसम्म ग्राउण्डबाट आउने रिपोर्टका आधारमा चुनावी तालमेलका बारेमा केन्द्रले निर्णय गर्ने तयारी छ ।

प्रधानमन्त्री र प्रचण्डवीच भेटवार्ता
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डका वीचमा सोमबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डका वीचमा झण्डै एक घण्टा छलफल भएको थियो । भेटवार्तामा केन्द्रबाटै टुग्गो लगाउने भनिएको ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको गठबन्धनको विषयमा पारम्भिक छलफल पनि भएको बालुवाटार स्रोतले बताएको छ ।

कांग्रेसमा देउवा इतर समुहका नेताहरु अझै गठबन्धनको विपक्षमा धारणा बनाईरहेका बेला देउवा भने गठबन्धनमा दृढ देखिएका छन् । दुई नेताका बीचमा गठबन्धनमा के कसरी भागवन्डा मिलाउन सकिन्छ ? भन्ने बारेमा पारम्भिक छलफल भएको र ग्राउन्डबाट आउने प्रतिवेदन रिपोर्ट पछि थप निश्कर्षमा पुग्ने समझदारीमा कुरा भएको बालुवाटार स्रोतको भनाई छ ।

प्रतिक्रिया