बिहीबार, वैशाख १०, २०८३

कंगोमा विद्रोहीको हमलामा ज्यान गुमाउने शान्ति सैनिक सुर्खेतका अनिल गुरूङ

मेरोन्यूज २०७८ चैत २३ गते १०:११

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ । नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।

Advertisement
NiccNicc

अपरेसन ‘बाली’को दौरान मंगलबार विद्रोहीले अज्ञात स्थानबाट अचानक चलाएको गोली लागी गुरुङ घाइते भएका थिए । 

घाइते नेपाली शान्ति सैनिकलाई हेलिकप्टरमार्फत उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा अफ्रिकी राष्ट्र कंगोमा खटिएका एक जना नेपाली सेनाको मृत्यु भएको पुष्टी गरेको छ । 

‘शान्ति स्थापना जस्तो महान एवं पवित्र कार्यमा संलग्न नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा निज शान्ति सैनिकप्रति प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट उहाँको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गर्नु भएको छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।

सिंगो नेपाली सेनालाई नै स्तब्ध बनाएको यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति नेपाली सेनाले समवेदना प्रकट गरेको छ ।         

राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।

शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया