लालपुर्जा पाउँदाको खुसी
′हामीसँग पनि अब लालपुर्जा भएको छ । अब त कसैले पनि हेप्दैनन् होला नि ! ’

काठमाडौँ । भरतपुर महानगरपालिकाभित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको संख्या १० हजार ७ सय ७७ जना रहेको तथ्यांक छ । जब चुनाव आउँछ, उनीहरुमाथि सबैको नजर पर्छ । ‘भोट हामीलाई देउ, लालपूर्जा हामी दिलाइदिन्छौं′ हरेक जसो चुनावमा कांग्रेस, माओवादी, एमालेदेखि अन्य राजनीतिक दलका नेताहरुबाट उनीहरुले पाउने आश्वासन त्यही हो ।
अर्थात जब-जब चुनाव आउँछ, उनीहरुलाई भोट बैंकका रुपमा प्रयोग गर्ने राजनीतिक दललाई उनीहरुले राम्रैसँग नापेर चिन्नै थालेका छन् । तीन दशक, चार दशकसम्म उनीहरुले लालपुर्जाकै आशमा जीवन गुजारे । कयौँ चुनावमा उनीहरुको भोट त्यक्तिकै खेर पनि गयो, तर लालपुर्जा कहिले हात लागेन ।
पछिल्ला दिनमा लालपुर्जा दिन्छौँ भन्नेसँग उनीहरुको विश्वास टुटिसकेको थियो । बुधबार लालपूर्जा वितरण हुँदैछ भन्ने हल्ला उनीहरुले एक साताअगाडि देखि नै सुनेका थिए । तर विश्वास गरेका थिएनन् । हातमा लालपुर्जा प्राप्त भइसक्दासम्म उनीहरुलाई विश्वास लागेको थिएन ।
तर बुधबार भरतपुर महानगरपालिका २ आँपटारीमा रहेको त्यो पुरानो सुकुम्बासी बस्तीमा भने एकाएक खुसीको चमक देखियो । कारण थियो- उक्त बस्तीका ४६ जना भूमिहीन दलितहरुले जग्गाधनी पुर्जा (लालपुर्जा) पाए । वर्षाे जग्गाधनी पुर्जाको आशमा दलका नेताको मुख ताकेर बसेका ४६ भूमिहीन दलित परिवारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बस्तीमा पुगेर लालपुर्जा वितरण गरे ।
भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल मेयर छिन् । उनी फेरि महानगरको मेयर बन्ने योजनामा छिन् ।
लालपुर्जा वितरणपछि रेणुले भनिन्, ′हामी जे बोल्छौँ त्यो गरेरै छाड्छौं। भरतपुर महानगरपालिका वडा न २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई जग्गा धनी प्रमाण पुर्जा प्रदान गरेर भूमिहीन जनतालाई भूमिपति बनाउने कामको थालनी भएको छ। साथै अब यस कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने छौँ र सम्पूर्ण भरतपुरबासी भूमिहीनहरूलाई भूमिको मालिक बनाएरै छाड्ने छौँ, यो हाम्रो प्रतिबद्धता हो।′

रेणुले मात्रै होइन, उनका पिता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि निर्वाचनका बेला भूमिहीनलाई भूमिको मालिक बनाउने उद्घोष गरेका थिए । प्रचण्डको निर्वाचन क्षेत्र पनि त्यही हो । गत चुनावमा उनले आफू भूमिहिनलाई जग्गाको मालिक बनाउने अभियानमा लाग्ने बताएका थिए । बुधबार नै चितवन पुगेर सुकुम्बासी भूमिहीन दलितका ४६ परिवारलाई लालपुर्जा वितरणपछि प्रचण्डले भने, ‘२०३६ सालदेखि जनयुद्ध, ऐतिहासिक जनआन्दोलन र पछिल्लोपटक संविधान निर्माणका क्रममा मैले महुसस गरें कि जबसम्म हामीले नेपालमा भूमिहीन, सुकुम्बासी र गरिब किसानहरुलाई जमिनको मालिक बनाउन सक्दैनौं । भूमि समस्या समाधान गर्न सक्दैनौं । हामीले भन्ने गरेको समृद्धि आउँदैन।’
जसले दियो त्यसैलाई भोट !
झण्डै चार दशकदेखि लालपुर्जाको आशमा बसेकी चितवन भरतपुर महानगरपालिका २ आँपटारीको पुरानो सुकुम्बासी बस्तीमा बस्दै आएकी ७४ वर्षे जसीकला विक बुधबार औधी खुसी थिइन् । उनलाई बेलाबेला लालपुर्जा नभएको भन्दै डोजर लगाइदिने र थातथलोबाट वेदखल बनाइदिने धम्की यो बीचमा धेरैले दिए ।
सुकुम्बासीका रुपमा जीवन बाच्नुपर्दा उनलाई निक्कै ठूलो पीडा थियो । बुधबार माओवादी अध्यक्ष प्रचण्डको हातबाट लालपूर्जा पाएपछि उनमा आँट बढेको छ । ′पहिले पहिले सुकुम्बासी भनेर उठाइदिने पो हुन् की भन्ने डर सधैभर भइरहन्थ्यो, अब लालपुर्जा मिलेको छ, अब कसले उठाउँछ ?′ उनले मेरोन्यूजसँग भनिन्, ′अब आँट बढेको छ । पहिले दुई चार हजार ऋणसमेत कसैले पत्याउँदैनथ्थे, अब त कसो नपत्याउलान्, हामी पनि भूमिको मालिक भएका छौँ ।′ उनले जसले लालपुर्जा दिए त्यही पार्टीलाई भोट दिने बताइन् ।

‘जसले लालपुर्जा दियो त्यसैलाई भोट हाल्ने हो, जुन पार्टीले जिते पनि यो लालपुर्जा र पाइराखेको भत्ता हरिन्न होला नि,’ उनले खुसी हुँदै भनिन्, ′हामीसँग पनि अब लालपुर्जा भएको छ । अब त कसैले पनि हेप्दैनन् होला नि ! ’
जसीकला विक मात्रै होइन, बुधबार नै लालपुर्जा पाएकी ५५ वर्षीया पूर्णमाया दर्जी र ५९ वर्षीया चेलीमाया विश्वकर्माले पनि बल्ल आफूहरुले न्याय पाएको बताए । ‘लालपुर्जाकै लागि कयौँ वर्ष नेताहरुका मुख ताक्दै बस्यौं, बल्ल पायौं, जसले लालपुर्जा दियो, उ हामी गरिबका विधता बनेर आइदियो, अब भोट पनि हामीले उनीहरुलाई नै दिने हो,′ पूर्णमाया दर्जीले भनिन् ।
बुधबार वितरण गरिएको लालपुर्जा अत्याधुनिक विज्ञान प्रविधिको विकासलाई प्रयोग गरेर स्याटेलाइट इमेजबाट नक्सांकन गरेर वितरण गर्ने काम सरकारले गरेको थियो । नेपालमा पहिलोपटक यस्तो प्रविधिबाट लालपुर्जा वितरण गरिएको थियो ।
अझै चितवनमा भूमिहीनले पूर्ण रुपमा लालपुर्जा पाएका छैनन् । तर क्रमशः अब भूमिहीन सकुम्बासी दलितहरुलाई लालपूर्जा वितरणको काम हुने भरतपुर महानगरपालिकाका मेयर दाहाल बताउँछिन् ।
राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्रिप्रसाद तिमिल्सिनाले महानगर तथा अन्य स्थानीय तहहरुमा अहिले जग्गाको नापी गर्ने र निस्सा दिने काम भइरहेको र प्रक्रिया पूरा गरेर अन्य भूमिहीन सुकुम्बासी दलितलाई पनि जग्गा धनी पूर्जा वितरण गरिने बताए ।
माओवादी नेतृ शशी श्रेष्ठले भूमि मन्त्रालय सम्हालेयता अहिलेसम्म चार महिनाको अवधिमा गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपुर्जा वितरण गरिसकिएको बताएकी छन् । त्यही क्रममा चितवनमा पनि ४६ परिवारलाई लालपुर्जा वितरण गरिएको उनको भनाइ छ । यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घर परिवारलाई श्रेष्ठले नै लालपुर्जा वितरण गरेकी थिइन् ।
चुुनावी प्रभाव
देशका ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका विकासका दृष्टिले अगाडी छ । तर महानगरको मेयर रहेकी रेणु दाहालको पार्टी माओवादी केन्द्रको संगठन कांग्रेस एमालेको तुलनामा चितवनमा कमजोर छ । स्थानीय चुनाव सम्मुखमा छ । बैशाख ३० मा चुनाव घोषण भएको छ । सत्तागठबन्धन दलभित्र मुख्यतः कांग्रेसले भरतपुर महानगरपालिकाको नेतृत्व नछोड्न पार्टी नेतृत्वमा निरन्तर दबाब बढाएको छ ।
बिहीबार मात्रै पनि कांग्रेस चितवनका अगुवा नेताहरुले काठमाडौं आएर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरको नेतृत्व गठबन्धनका नाममा नछोड्न दबाब बढाएका छन् । माओवादीलाई दबाबमा राख्न कांगेसका चितवनका पुराना नेताहरुले माओवादीलाई मेयर दिए बागी उठ्ने भनेर धम्की पनि दिइरहेकै छन् ।
तर माओवादीले गठबन्धनमा आफ्नो पार्टीले नै मेयर पाउनु पर्ने र मेयर नछोड्ने बताइरहेको छ । कांग्रेस र माओवादी दुवैको नेतृत्वमा रस्साकस्सी मज्जैले चलेको छ । यस्तो बेला चुनावमा भरतपुर महानगरपालिकामा यसै हुन्छ भन्ने अवस्था अहिले छैन । तर कांग्रेसले नछोडे पनि माओवादी एक्लै भए पनि चुनाव लड्ने मनस्थिति बनाएर अगाडि बढेको छ ।
भरतपुर महानगरमा आफूले गरेका काम देखाएरै जनताले माओवादीलाई मत दिने र जित्ने विश्वासमा माओवादी देखिन्छ । विगतमा राप्रपा चितवनभित्र राम्रो प्रभाव बनाएका नेता बद्री तिमल्सिना माओवादी केन्द्रमा आइसकेको, ०७४ मा जस्तो अस्तव्यस्त संगठनमा नभई व्यवस्थित र सुदृढ संगठनमा आफूहरु अहिले चितवनमा रहेको र ५ वर्ष भरतपुर महानगरको मेयरमा रहेर माओवादी केन्द्रले गरेको कामका आधारमा पनि माओवादीको जनमत नपत्याउँदो गरी कांग्रेस, एमाले सरहनै रहेको जिकिर माओवादी चितवनका नेताहरुको छ ।
निर्वाचन सम्मुखमा भरतपुर २ आँपटारीको पुरानो सुकुम्बासी बस्तीमा प्रचण्ड र भूमिसुधार मन्त्रीसम्म पुगेर गरेको लालपुर्जा वितरण त्यसैको एउटा रणनीति भएको पनि कतिपयले बताउन थालेका छन् । गत स्थानीय तह चुनावमा जहाँ माओवादी कमजोर थियो, त्यही अहिले माओवादीले बढी मात्रामा आफ्नो ध्यान खिचिररहेको छ । भरतपुर २ मा गत चुनावमा एमालेका पूर्णबहादुर श्रेष्ठ विजयी भएका थिए । श्रेष्ठले १९२६ मत ल्याउँदा कांग्रेस दोस्रो भएर १३५४ मत ल्याएको थियो । तर एमाले र कांग्रेसको तुलनामा यो वडामा माओवादी केन्द्र कमजोर थियो ।
यो वडामा गत स्थानीय तह चुनावमा माओवादीका उम्मेदवारले ७७० मत मात्र ल्याएका थिए । तर लालपु0र्जा सुकुम्बासीलाई वितरण गरेपछि त्यहाँ अब माओवादीले आफ्नो मत बढ्ने विश्वास गरेको छ । त्यसो त माओवादीकी मेयर दाहालले नगरपालिका भित्रका सबै वडामा सडक, बिजुली, खाने पानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गरेको दाबी छ ।
प्रचण्ड चितवन जाँदै
बुधबार चितवन पुगेर सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गरेका प्रचण्डको ध्यान अहिले गृह जिल्ला चितवनमै छ । खासगरी एमालेसँग बढेको पछिल्लो टसल र कांग्रेसका जिल्ला नेताहरुले गठबन्धनविरुद्ध दिइरहेको चुनौतिका बीच प्रचण्डले पनि चितवनलाई विशेष ध्यान दिइरहेका छन् ।
माओवादी केन्द्रले जितेको महानगर, काम गराईका हिसाबले पनि उत्कृष्ट काम भएको महानगरका कारण पनि माओवादीको भरतपुरमा स्वभाविक नेतृत्वको दाबी हुने प्रचण्डले सार्वजनिक रुपमा बताइरहेका छन् । स्थानीय स्तरमा निर्माण भएका सन्यत्रले पहिलो चरणको रिपोर्ट केन्द्रमा पठाएपछि गठबन्धन दलका शीर्ष नेताहरू बसेर महानगरपालिका बाँडफाँडको योजना बनाएका छन् ।
चितवनका कांग्रेस नेताहरूले कांग्रेसभित्र बढाइरहेको दबाबका कारण प्रचण्डले गृह जिल्लामा विशेष ध्यान दिइरहेका छन् । उद्घाटन, शिलान्यासका कार्यक्रमदेखि अन्य जुनकुनै कार्यक्रममा पनि प्रचण्ड जति व्यस्त समय भए पनि समय मिलाएर चितवन जाने गरेका छन् ।
शुक्रबार मात्रै प्रचण्ड चितवन जाने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवनका नेताहरु बताउँछन् । चितवन जिल्ला अस्पतालको उद्घाटनका लागि उनी चितवन जान लागेका हुन् ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया