मंगलबार, माघ १३, २०८२

प्रहरी जवान उर्मिला श्रेष्ठको घाँटीमा गोली प्रहार भएको पुष्टी

मेरोन्यूज २०७८ चैत २९ गते २०:०३

काठमाडौँ । यौन दुव्र्यवहारको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न पुगेका नेपाल प्रहरीकी जवान उर्मिला श्रेष्ठको गोली प्रहार गरी हत्या भएको पुष्टि भएको छ । मोरङस्थित लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा उनको मृत्यु भएको हो ।

मंगलबार उर्मिलाको पोस्टमार्टम रिपोर्ट आएको हो । सोही रिपोर्टको आधारमा उनको घाँटीमा गोली प्रहार भएको पुष्टि भएको हो । अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा गोली लागेर भएको उल्लेख गरिएको छ ।

सरकारी वकिल कार्यालयले तयार पारेको अभियोग पत्रमा उल्लेख भएको पोस्टमार्टम रिपोर्टअनुसार हत्या गरिएकी महिला प्रहरीको धारिलो हतियार खुकुरी, लाठी, ढुंगा मुढा नभएर गोली लागेर हत्या भएको रिपोर्ट आएको हो ।

विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायर आम्र्ड इन्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ । हत्या भएको महिला प्रहरीको शरीरबाट गोली पनि निकालिएको छ ।

हत्यामा संलग्न बालकलाई अविभावकको जिम्मा

प्रहरीले सो घटनामा संलग्नको अभियोगमा ६३ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दै छ । पक्राउ परेकामध्ये १५ जना बालकलाई अभद्र व्यवहार, उमेर पुगेका १४ जनालाई कर्तव्य ज्यान, ३२ जनालाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन ।

पक्राउ परेकामध्ये एक जना बालकलाई अदालतले अभिभावकको जिम्मामा लगाउने आदेश मंगलबार गरिसकेको छ । चैत ६ गते मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान २६ वर्षीया श्रेष्ठको मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक महिला र एक नाबालकसहित २१ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतलाई जिम्मा लगाएको हो ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा अदालत बुझाइएका थपमध्ये लेटाङ ५ का ४८ वर्षीय चन्द्र तामाङ भनिने चन्द्र कान्ता लामा, सोही ठाउँका २५ वर्षीय रविन राई, २० वर्षीय रविन तामाङ, ६ का १८ वर्षीय बलराम भनिने पालाराम राई, १८ वर्षीय राम राई, १८ वर्षीय सन्तोष पौडेल, २० वर्षीय हिमाल श्रेष्ठ, लेटाङ ५ का २३ वर्षीय प्रदीप राई, १८ वर्षीय निशा पुलामी मगर, १८ वर्षीय सुरज अधिकारी, १९ वर्षीय संजय मगर रहेका छन् ।

त्यसैगरी छिमेकी मिक्लाजुङ गाउँपालिका २ घर भई लेटाङ ५ मा बस्ने २० वर्षीय कृष्ण विक, लेटाङ ५ का संजीव प्रधान, प्रनिस कट्टेल, झविन भनिने जस्विन पाख्रिन, सनिल लिम्बु, प्रल्हाद खड्का, अर्पण परियार, पासाङ तामाङ र लेटाङ ६ का श्रवण यादव छन् ।

प्रतिक्रिया