आइतबार, वैशाख २०, २०८३

कोरोनाबाट नेपालमा २६ जना सञ्चारकर्मीको मृत्यु

मेरोन्यूज २०७९ वैशाख १ गते १६:०९

काठमाडौँ । कोरोना भाइरस संक्रमणले हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए ।

Advertisement
NiccNicc

‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन्, त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी बिदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका संक्रमितमध्ये ११ हजार ९५१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ लाख ६६ हजार १६० जना संक्रमित निको भइसकेका छन् ।

विश्वमा पहिलोपटक कोरोना सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।

प्रतिक्रिया