मंगलबार, माघ १३, २०८२

मधेसमा एमाले–लोसपा गठबन्धन गर्ने तयारी

मेरोन्यूज २०७९ वैशाख १ गते १९:४३

महोत्तरी । नेकपा एमालेले मधेस प्रदेशमा लोसपासँग गठबन्धन गर्न आन्तरिक संवाद शुरु गरेको छ । आन्तरिक छलफलका क्रममा लोसपासँग गठबन्धनको सम्भावना बढेको मधेस प्रदेश नेकपा एमालेले जनाएको छ ।

सकेसम्म सत्तारुढ गठबन्धन दलसँग एक्लै लड्ने यदि, गठबन्धन गर्नु परेमा लोसपासँग गर्न सक्ने मधेस प्रदेशकी नेतृ तथा प्रदेशसभा सदस्य शारदादेवी थापाले बताइन् ।

सोमबार बर्दिबासमा बसेको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिँदै शपथ ग्रहणसमेत गराएको छ । पालिकाको काम बाँडफाँडका लागि निर्वाचन समिति तय गरेको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए ।

प्रदेश कमिटीमा रिक्त रहेका झण्डै २१ जना सदस्य मनोनित गरेको छ । निर्वाचनसम्बन्धी कार्य योजना बनाएर निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ ।

लोसपासँग गठबन्धन हुन नसके एमाले सत्तारुढ दलसँग एक्लै लड्ने नेकपा एमालेकी नेतृ शारदादेवी थापाले बताइन् । नेकपा एमालेबाट टुक्रिएर नेकपा एकीकृत समाजवादी बनेपछि नेकपा एमाले मधेस प्रदेशमा कमजोर देखिएको छ ।

माधव नेपालको नेतृत्वमा नेकपा एस बनेपछि सबै प्रदेशमा एमाले सरकारबाट बाहिरिएको थियो । मधेस प्रदेशमा एमाले अल्पमतमा परेपछि माधव नेपाल नेतृत्वको नेकपा एस सरकारमा सहभागी बन्यो ।

धेरैजसो जनप्रतिनिधिले नेकपा एसको पक्षमा सनाखत गरेपछि गठबन्धनको मोडालिटीमा एमालेले जितेका पालिका आफ्नो भागमा हुनु पर्ने माधव पक्षले गठबन्धनमा दाबी गर्दै आएको छ ।

यता गठबन्धन इतर दलहरू चुनावी तालमेलको खोजीमा छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लोसपासँग तालमेलको प्रयासमा छ । सत्तारुढ दल जसपा भने गठबन्धनभित्रै आश्रय खोजिरहेको देखिन्छ ।

माधव नेपाल पक्षधर भागबण्डामा स्पष्ट वटमलाइनमा अडिग छ । यता, एमालेलाई सत्ताघटक दलको चुनावी तालमेलले निकै भारी पर्ने देखिएको छ ।

जसले गर्दा एमाले मधेस प्रदेशले लोसपासँग गठबन्धनको साझेदारीको तयारी गरेको हो । लोसपा महोत्तरीका अध्यक्ष रामबाबु साहका अनुसार जरुरत भएको ठाउँमा विचार मिल्ने दलसँग गठबन्धन हुन सक्ने छ ।

यो पनि पढ्नुहोस्

एमालेमा उम्मेदवार छनोट प्रकृया शुरु, गण्डकीमा एमाले-माओवादीको सहकार्य !

प्रतिक्रिया