मंगलबार, माघ १३, २०८२

यी हुन् गठबन्धनमा सहमति भएका नेकपा एसले पाउने पालिका प्रमुखहरू

गठबन्धनमा नेकपा एसको अवस्था कस्तो ?

मेरोन्यूज २०७९ वैशाख ३ गते २०:१४

काठमाडौँ । एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धनबाट कति सिट पाउला भन्ने कौतुहलता रहेको छ । गठबन्धन दलहरूबीच भागबण्डाको कुरा नटुंगिएका बेला एस पार्टीका लागि गठबन्धनले कति सिट दिने वा उसले कति सिट माग्ने भन्ने नै अन्योलमा रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एस पार्टीले अलि बढी नै सिट मागेकाले गठबन्धनमा समस्या उत्पन्न भएको भन्ने अभिव्यक्ति दिएको हल्ला मिडिया आएको छ । यद्यपि, प्रचण्डले यो विषयमा कुनै जवाफ दिएका छैनन् ।

एमाले छाडेर आफ्नो पार्टीमा आएका देशभरका जनप्रतिनिधिको विवरण संकलन गरेर गठबन्धनको बैठकमा बसेको एस पार्टीले करिब एक हजार १३ सय जनाका लागि सिट दाबी गरेको छ । पार्टी उपमहासचिव जगन्नाथ खतिवडा र विजय पौडेल नेतृत्वको टोलीले एमालेबाट आएका जनप्रतिनिधिको नामावली तयार पारेर गठबन्धनको बैठकमा दाबी गरेको स्रोतको भनाइ छ ।

एमालेले जितेका दुई सय ९८ स्थानीय तहका प्रमुख÷अध्यक्षमध्ये अहिलेसम्म २६ जना मात्रै एस पार्टीमा खुलेका छन् । एस पार्टी स्रोतले दिएको जानकारीअनुसार काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख कृष्णहरि थापा, रामेछापको मन्थली नगरपालिकाको प्रमुख रमेशकुमार बस्नेत, काभ्रेको मण्डन–देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका प्रमुख जीवन लामा, कैलाश गाउँपालिका प्रमुख टंक मोक्तान, धादिङको धुनीबेँसी नगरपालिका प्रमुख बालकृष्ण आचार्य र गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ एस पार्टीमा रहेका छन् ।

उनीहरु सबैलाई गठबन्धनले सहयोग गर्नु पर्ने सो पार्टीका अध्यक्ष माधव नेपालले गठबन्धनको बैठकमा दबाब दिएका छन् । त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाही, दैलेखका महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, सल्यानको सिद्धकुमाख गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउने, कालिकोटको नरहरिनाथ गाउँपालिका प्रमुख धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई एस पार्टीमा रहेका छन् ।

मुगको सोरु गाउँपालिका उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बम, दैलेखको नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, खत्याड गाउँपालिका उपाध्यक्ष जयनन्दा रावल, मुगुम कार्मारोङ गाउँपालिका उपाध्यक्ष छिरिङ तामाङ, दैलेखको महाबु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, सल्यानको कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, कालिकोटको शुभकालिका गाउँपालिका उपाध्यक्ष पुष्पाकुमारी शाही, सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री, ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंह र कालिकोटको ठाडाचक्र नगरपालिका उपप्रमुख विजया विष्ट पनि एकीकृत समाजवादीमा छन् । उनीहरुले अध्यक्षको दावी गरेका कारण ती स्थानीय तहमा पनि गठबन्धनले सहयोग गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

यस्तै, अछामको साँफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिका प्रमुख अशोककुमार चन्द, पुनर्वास नगरपालिका प्रमुख जीवनराम थापा, डडेल्धुराको आलिताल नगरपालिका प्रमुख गणेश साउद, बैतडीको पुर्चौडी नगरपालिका प्रमुख रणबहादुर कुँवर, अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद, बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामी, बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामी पनि एस पार्टीमा रहेका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका उपप्रमुख प्रेमकुमारी थापा, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत, अछामको साँफेबगर नगरपालिका उपप्रमुख वीरमाला बुढथापा, कैलालीको चुरे गाउँपालिका उपाध्यक्ष दीपादेवी साउद पनि समाजवादीमा रहेका छन् । उनीहरुले पनि स्थानीय तहमा दाबी गरेका कारण पार्टी अध्यक्ष नेपालले सबैलाई गठबन्धनले सहयोग गर्नु पर्ने दबाब दिएका छन् ।

प्रदेश १ मा उदयपुरको त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी र इलामको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई एसमा छन् । त्यसबाहेक दुई वटा गाउँपालिका अध्यक्ष पनि एमाले छोडेर एकीकृत समाजवादीमा रहेको बताइए पनि उनीहरुको नाम खुल्न सकेको छैन ।

त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशमा एक जना रहेको भए पनि उनीहरुको नाम पनि सार्वजनिक भएको छैन ।

प्रतिक्रिया