बुधबार, माघ १४, २०८२

सत्ता गठबन्धनको बैठक सकियो, भाेलि पुन: बस्ने

मेरोन्यूज २०७९ वैशाख ५ गते १८:३१

काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबै दलले आआफ्नो अडान नछाडेपछि बैठक निष्कर्षविहीन भएर सकिएको हो ।

गठबन्धनको बैठकले महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुंग्याउने विषय रहेको थियो । स्रोतका अनुसार सहमति नभई बैठक सकिएको हो ।

बैठक भोलि बिहान पुन: बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा विशेष गरी ६ महानगर र ११ उपमहानगरको भागबण्डाका बारेमा छलफल भएको थियो । तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो ।

स्रोतका अनुसार कांग्रेसले सबै महानगर नछोड्ने अडान राखेका छ । यस्तै, कम्तिमा ६ वटा उपमहानगर आफूलाई चाहिने दाबी गरेको छ ।

त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले (जसपा)ले एक– एक वटा महानगर चाहिने अडान राखेका छन् ।

प्रतिक्रिया