बुधबार, माघ १४, २०८२

गृहमन्त्री खाँण र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

मेरोन्यूज २०७९ वैशाख ६ गते १६:५८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले भेटघाट गरेका छन् । गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए । उनले उच्च शिक्षा अध्ययन गर्न र ईपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार तथा कोरियाका उद्योगीलाई धन्यवाद दिए ।

त्यस्तै, पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाँणले बताए । भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंसा गर्दै गृहमन्त्री खाँणले कोरियन गाडी, मेसिनहरू र मोबाइललगायतका कोरियन प्रविधियुक्त सामान नेपालले आयात गरेर उपभोग गरिरहेको बताए ।

उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाध रूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको बताए । भेटमा दक्षिण कोरियाका राजदूत चोङ सुकले कोभिड–१९ का कारण रोकिएको ईपीएस अब सुरु हुने चरणमा रहेको जानकारी गराए ।

त्यस्तै, कोभिडले कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ सुकले बताए । अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया