शुक्रबार, चैत २०, २०८२

बालुवाटारमा मध्यरातसम्म गठबन्धन शीर्ष नेताहरुको छलफल, तर जुटेन सहमति

गठबन्धनको बैठक ११ बजे फेरि बस्ने

मेरोन्यूज २०७९ वैशाख ७ गते ७:३०

काठमाडौं । सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूले महानगरपालिका भागबन्डा गरे पनि उपमहानगरपालिकाबारे गए राति अबेरसम्म छलफल गर्दा पनि सहमति जुटाउन सकेका छैनन्। मंगलबार दुई चरणमा छलफल भएको थियो।

Advertisement
nepal life insurencenepal life insurence

गएराति १ बजेसम्म बालुवाटारमा छलफल चलेको थियो ।

छ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर लिने भएको छ। यी ठाउँमा उपमेयर अन्य पार्टीबाट हुनेछन्।

बाँकी तीन महानगरमध्ये भरतपुर नेकपा माओवादी केन्द्रलाई, पोखरा नेकपा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादी पार्टी नेपाललाई दिने सहमति छ। मेयर पाएका दलले उपमेयर फरक दललाई दिने सहमति छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगर भागबन्डाबारे दलहरू सहमति नजिक पुगिसकेको बताए । दलहरूले उपमहानगरबारे आज बिहान ११ बजे फेरि छलफल गर्दैछन्।

११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको स्रोत बताउँछ ।

जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव गरिएको छ । तर कांग्रेसले पनि दाबी गरेका छन्। कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी गरेको छ।

जनकपुर कसले लिने भन्नेमा सहमतिमा गठबन्धन पुग्न सकेको छैन।

नेकपा माओवादी केन्द्रले जितपुर-सिमरा र घोराही पाउनेबारे छलफल भएको छ भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ।

प्रतिक्रिया