शुक्रबार, चैत २०, २०८२

महानगर र उपमहानगरमा माओवादीले मेयर उम्मेदवारकाे नाम टुंग्यायो

मेरोन्यूज २०७९ वैशाख ९ गते १२:५९

काठमाडौं । पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ।

Advertisement
nepal life insurencenepal life insurence

भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो ।

जितपुर सिमरामा राजन पौडेल र घोराहीमा हेमराज शर्मालाई मेयरका लागि सर्वसम्मत रुपमा सिफारिस गरेर केन्द्रमा नाम पठाएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन् । जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाउने ढकालले जानकारी दिएका छन् ।

यसअघि जितपुर सिमराबाट मेयरका उम्मेदवार रहेका पौडेललाई पुन: मेयरका लागि सिफारिस गरेको हो भने घोराहीमा मेयरका अर्का आकांक्षी जीवन गौतमले पार्टी परित्याग गरेपछि शर्मा स्वत : सर्वसम्मत सिफारिस भएका हुन् ।

गत स्थानिय तहको निर्वाचनमा सिमरामा तेस्रो स्थानमा रहेको माओवादी घोराहीमा भने दोस्रो स्थानमा रहन सफल भएको थियो । पाँच दलीय गठबन्धनका कारण दुवै स्थानमा विजयी हासिल गर्न सक्ने माओवादीको विश्वास छ ।

माओवादीको निर्णयअनुसार महानगर र उपमहानगरको मेयर र उपमेयरको निर्णय केन्द्रीय कार्यालयले गर्नेछ । भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री स्वत मेयरका दाबेदार हुन् ।

प्रतिक्रिया