स्वर्गीय राजा वीरेन्द्रदेखि प्रधानमन्त्री देउवासम्मको कपाल काटेका नारायण
जसले कपाल काट्ने सैलुनको ५० औँ वार्षिकोत्सव मनाए

काठमाडौँ । स्वर्गीय राजा वीरेन्द्र शाहदेखि प्रधानमन्त्री, मन्त्रीहरूको कपाल काटिसकेका नारायण नापितले कैँची चलाएको ५० वर्ष पूरा भएको छ । यस अवसरमा उनले वैशाख १० गते (०७९)को अवसरमा विशेष कार्यक्रम गरे ।
कैँची चलाउन थालेको उनलाई हिजै जस्तो लाग्छ । तर, पाँच दशक कटेको पत्तै पाएनन् । शनिबार बौद्धस्थित राष्ट्रिय केश कर्तनालयमा भेटिदा उनी भनिरहेका थिए, ‘मलाई अझैँ १० वर्ष कस्सिएर काम गर्न मन छ, मभित्र जोश, जाँगर उस्तै छ ।’
काठमाडौँको चाबहिलमा २०१४ सालमा जन्मिएका नारायणले १४ वर्षकै उमेरमा कैँचीसँग साइनो गाँसे । उनका पिता स्व. गणेशलाल र बाजेले कपाल काट्ने पेशा पहिलेदेखि गर्दै आएका थिए । बुवा, बाजेले तत्कालीन समयमा राणा, राजा, महाराजाहरूको कपाल काट्ने काम गरे ।
घर–घरमा पुगेर कपाल काट्थे । उनका बुवाले वडा गुरुज्यु मृगेन्द्रराजको परिवार, शान्त शमशेर ज.ब.रा., सुरेन्द्र शमशेर, मिन शमशेर, किरण शमशेर, शशी शमशेर, पशुपति शमशेरलगायतका कपाल काटे । यति मात्र होइन पूर्व प्रधानसेनापति गुण शमशेर, सुरेन्द्र शमशेर, पूर्व आईजीपी दिराज पालसाङ्गको परिवारको समेत कपाल काटे ।
यस्तै, प्रधानमन्त्री टंकप्रसाद आचार्यदेखि, कृतिनिधी विष्ट, तत्कालीन प्रधानमन्त्री, अमेरिकी तथा जापानी राजदूतहरूको कपाल काटेर प्रशंसा पत्र पाए । जुन, अझै सुरक्षित साथ राखिएका छन् । बुवासँगको त्यही सामिप्यताले नारायणले पनि यही पेशा अंगाल्न पुगे ।
हेयर स्टाइलिष्ट नारायणले २०२८ सालमा डिल्लीबजारमा कपाल काट्ने पसल खोले । पछि समय क्रममा उनले चाबहिल, बौद्ध, दरबारमार्गमा पनि पसल खोले । स्वर्गीय राजा वीरेन्द्रले पनि उनीबाट सेवा लिएका छन् ।
एकपटक शितल निवासमा कार्यक्रम थियो । राजाका सचिवले कपाल काट्नका लागि उनलाई बोलाए छन् । ‘शुरुमा मैले दर्शन गरेँ, त्यसपछि कपाल काटेँ,’ आफूलाई भाग्यमानी सम्झिदै उनले भने, ‘वीरेन्द्र सरकार हाँसिबक्सियो, राम्रो छ भनिबक्स्यो ।’
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा, चर्चित गायक कुमार सानु, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राजनीतिज्ञ हिसिला यमी, पूर्व मन्त्री मिनेन्द्र रिजाल, मंगोलियाका वाणिज्यदूत छेटेन घिर्मेला श्रेष्ठ, बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामालगायत हजारौँको सेवा गरिसकेका छन् ।
स्वदेशी मात्र होइन उनकै हातले कैयौँ विदेशीहरूको पनि कपाल डिजाइन गरिसकेका छन् । उनी मसाज ट्रिटमेण्ट विज्ञसमेत हुन् । नेपालको आँखा अस्पतालमा विगत तीस वर्षदेखि कार्यरत स्टिभ त नारायणको डिजाइनप्रति असाध्यै लोभिन्छन् । नेपाल आएर नारायणकै सैलुनमा पुगिहाल्छन्, उनी । उता पुगे पनि नारायणको कला, क्षमता र सीपको प्रचार–प्रसार गरिदिन्छन् । पच्चिस वर्षदेखि नेपाललाई कर्मथलो बनाइरहेका एडिसन नारायणबाहेक अरुको सैलुनमा जान रुचाउँदैनन् ।
काठमाडौँ उपत्यकाका भैँसीपाटी, कलंकी, सूर्यबिनायकदेखि टाढा–टाढाबाट उनकै सैलुनमा मानिसहरूको घुइचो लाग्ने गर्छ । कुनै एक व्यक्ति मात्र होइन सिंगो तीन पुस्ता नै नारायणको सैलुनबाट निरन्तर सेवा लिँदै आएका छन् ।
तिनैमध्येका एक हुन्, काठमाडौँ, मुलपानीका अनिलराज गिरी । सानिमा जनरल इन्स्युरेन्स एजिएममा कार्यरत गिरीको तीन पुस्ताले निरन्तर नारायणकै सैलुनबाट सेवा लिँदै आएका छन् । उनका पितादेखि शुरु भएको त्यो क्रम उनका छोराले समेत पाएका छन् । ‘नारायण दाइको हातमा जादु छ, उहाँको कटिङ स्टाइल अरुभन्दा युनिक छ,’ २५ वर्षदेखि कपाल कटाइरहेका गिरी सुनाउँछन्, ‘उहाँको बोलिरहने बानी छ, मेरो बच्चाले अन्त कपाल काट्नै मान्दैन ।’
‘नारायण अनुभवी र सीप भएको व्यक्ति हुनुहुुन्छ,’ ब्युटी एशोसियसन नेपालकी पूर्व अध्यक्ष तथा वरिष्ठ ब्युटिसियन डा. राज्यलक्ष्मी श्री श्रेष्ठ सुनाउँछिन्, ‘बाल्यकालदेखि नै यही पेशामा समर्पित उहाँको हातमा जादु नै छ ।’
शुरुवाती दिनमा ५० पैसाबाट कपाल काट्न थालेका नारायणले दारी काटेको दस पैसा मात्र लिन्थे । यसले राम्रो कपाल काट्छ भन्ने प्रशंसा गर्दै पाँच पैसा टिप्स पनि पाउँथे । तैपनि, मख्ख पर्थे । अहिले कपाल काटेको दुई सय र दारी काटेको एक सय रुपैयाँ लिन्छन् ।
कतिले कपाल कटाउन शुरुमा नाम टिपाउथे । पालो पाउन पनि निकै समय कुर्नु पथ्र्यो । जेन्ट्स र लेडिज पार्लर भएकाले दुइटैका लागि कपाल मसाज, फेसियललगायतका सेवा सुविधा प्रदान गर्दै आएका छन् ।
पचास वर्ष कैंची चलाएका नारायण आफैले जीवनमा कहिल्यै तालिम लिएनन् । बरु देशका कुनाकाप्चा पुगेर तालिम दिए । अझै कतिपय स्थानमा उनी पुग्ने गरेका छन् । उनले एक महिने, तीन महिने, ६ महिने तालिम प्रदान गर्दै आएका छन् ।
जनकपुर उद्योग वाणिज्य संघ, जनकपुर, इलम प्रशिक्षण केन्द्र, धरान, गोर्खा डिपार्टमेन्ट स्टोरलगायत ठाउँहरूमा उनले सैलुनबारे प्रशिक्षण दिएका छन् । कतिलाई उनले निःशुल्क तालिम दिएका छन् ।
विपन्न परिवारका व्यक्तिलाई आफ्नै सैलुनमा रोजगारी दिलाएका छन् । उनी जहाँ–जहाँ पुगे, सबैतिर उनले इज्जत पाए । नाम कमाए । त्यसैमा उनलाई गर्व छ ।
काठमाडौँमा नापितहरुले कपाल काट्ने पेशा अंगाल्दै आएका थिए । राजधानीमा कपाल काट्ने पेशामा नापितहरुको बाहुल्यता थियो । विस्तारै धेरैले यो पेशा छोडे ।
‘अपवादमा नारायणले भने यो पेशालाई निरन्तरता दिए, बुवा बाजेले शुरु गरेको कामलाई मैले निरन्तरता दिएँ,’ नारायण सुनाउँछन्, ‘अब मेरा सन्तानहरूले पनि यसलाई निरन्तरता दिने छन् ।’
इमानदार र मिहिनेती नारायण सीपले मानिसलाई जिम्मेवार बनाउने बताउँछन् । सबै ग्राहकहरूलाई सन्तुष्ट पार्न सक्नु उनको विशेषता हो । व्यक्तिको अनुहार हेरेरै छिटोमा १० मिनेटमा उनले कपालको डिजाइन तयार पारिसक्छन् ।
हात, खुट्टा, गोडा, ढाड, टाउको आदिको फिजिओथेरापीमा आधारित मसाज गरिदिन्छन् । जसले नशासम्बन्धी रोग लागेकालाई फाइदा पुग्ने गर्छ ।
पाएका सम्मान
उनले विभिन्न संघ, संस्थाहरूले प्रदान गरेका थुप्रै सम्मान तथा अवार्डहरू सैलुनको भित्ता सजिएको छ । कैयौँपटक उनी सम्मानित भइसकेका छन् । राष्ट्रिय युवा सेवा कोषद्वारा आयोजित अधिराज्यव्यापी खुल्ला कपाल काट्ने प्रतियोगितामा प्रथम स्थान हात पारेका छन् ।
नेपाल नाई टे«ड युनियन, महिला सशक्तिकरण विकास केन्द्र, स्वप्निल ब्युटि क्लिनिक, नेपाल नापित समाज, निलडेविड्स सैलुन एण्ड एकेडिमीलगायत विभिन्न संघ, संस्थाले सम्मान तथा अवार्ड प्रदान गरेका छन् । राष्ट्रिय सीप परिक्षण समिति सिटिइभिटीबाट कपाल काट्नेहरूको मूल्यांकनकर्ता पनि रहिसकेका छन् ।
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् दशक तथा आठौँ सामाजिक सेवा दिवसको अवसरमा राष्ट्रिय सेवा कोषद्वारा आयोजित अधिराज्यव्यापी कपाल काट्ने खुल्ला प्रतियोगिता २०४४ मा उनले प्रथम स्थान हात पारेका थिए ।
समाजिक सेवा
नापित यस्ता व्यक्ति हुन्, जो पैसा कमाउनमा मात्र ध्यान दिँदैनन् । अरुको भलाइ र सेवाका लागि सधैँ तत्पर रहने व्यक्ति हुन्, उनी । उनले बेलाबेला आमा घर, खगेन्द्र नवजीवन केन्द्र, बाल संरक्षण गृह, नेपाल बाल संगठन, बाल संरक्षण गृह, अपाङ्ग पुर्नस्थापना केन्द्र, नेपाल लगायतका संस्थामा आश्रय लिइरहेका व्यक्तिलाई निःशुल्क कपाल काटेका छन् ।
आश्रममा शरण लिइरहेका बालबालिका तथा वृद्धवृद्धालाई खाना खुवाउने काम गर्दै आएका छन् ।














डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
HoR polls: 15.77 million ballot papers printed
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया