बिहीबार, माघ १५, २०८२

आचार संहिताविपरीत नेताको जिल्ला दौडाहा, हेलिकोप्टरमा पूर्वदेखि पश्चिमसम्म

प्रधानमन्त्री काठमाडौंमै केन्द्रीत, ओलीले पुगे १० जिल्ला, प्रचण्ड चितवनमा मात्रै ३ पटक पुगिसके

मेरोन्यूज २०७९ वैशाख १५ गते २१:२५

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत २६ गतेबाट आचार संहिता जारी गरेको छ । आचार संहिता जारी गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ छाडेका छैनन् । सरकारी ओहोदामा रहेका प्रधानमन्त्री, मन्त्रीहरूलाई आफै उम्मेदवार भएबाहेक अन्य बेला चुनावी कार्यक्रममा सहभागी हुन रोक लगाउने आचार संहिताको व्यवस्था छ ।

सोही कारण देउवा सत्ता गठबन्धन दलका सिट बाँडफाँड र उम्मेदवार चयनमा आन्तरिक पार्टी काममा बालुवाटारमै सक्रिय रहे पनि अन्य दलका नेताहरू जसरी जिल्ला दौड भएको छैन । देउवालाई आचार संहिताले बढी नै बाँध्ने भएकाले योबीचमा जिल्लाका कार्यक्रम रोकेका छन् ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलदाहा ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटटराई र नेकपा एसका सम्मानित नेता झलनाथ खनाल योबीचमा जिल्लाका कार्यक्रममा सहभागिता भइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार केपी शर्मा ओलीले पाँचपटक हेलिकोप्टर प्रयोग गरेर विभिन्न १० जिल्ला पुगेका छन् । उनले चैत २६ गते हेलिकोप्टरबाट पर्वत र बाग्लुङ, चैत २७ गते हेलिकोप्टरको प्रयोग गरेर डोल्पाको कार्यक्रममा सहभागिता जनाएका थिए ।

त्यस्तै उनले वैशाख २ गते लमजुङ र नुवाकोटको कार्यक्रममा जान पनि हेलिकोप्टर नै प्रयोग गरेका थिए । उनले ३ गते सर्लाही जान र ५ गते सोलखम्बु जान पनि हेलिकप्टोरको प्रयोग गरेका थिए । यसबीच ओली विराटनगर र नेपालगञ्ज पुगे । नेपालगञ्ज पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई साथ लिएर पुगेका थिए । यो क्रममा उनले यति एयरलाइन्सको जहाज प्रयोग गरेका थिए ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४ पटक राजधानी छाडेर जिल्ला दौडाहामा निस्केका छन् । तर उनको दौडाहा गृह जिल्ला चितवनमा मात्रै तीनपटक भएको छ । पछिल्लोपटक उम्मेदवारी मनोनयको भोलिपल्ट सुटुक्क चितवन पुगेर फर्केका थिए । प्रचण्डले पार्टीभित्रको आन्तरिक विवाद र चितवनको भरतपुरमा माओवादी उम्मेदवारविरुद्धमा बागी उम्मेदवारी दिएको कांग्रेसका नेताको उम्मेदवारी फिर्ताको विषय र असन्तुष्ट कांग्रेस नेतासँगको सम्वादका लागि चितवन पुगेर फर्केका थिए ।आचारसंहिता जारी भएपछि प्रचण्ड तीनपटक भरतपुर र एकपटक धनगढी पुगे ।

नेकपा एसका अध्यक्ष नेपाल एकपटक हेलिकोप्टर लिएर डोल्पा पुगेका थिए । त्यसबाहेक उनी पोखरा र भैरहवा पुगे । उनी चैत २७ मा फिस्टेल एयरको हेलिकोप्टर लिएर डोल्पा पुगेका थिए । त्यस्तै चैत २९ मा पोखरा र वैशाख २ मा भैरहवा पुगेका थिए । उनी भैरहवामा नेपाल एक दिन बसेर भोलिपल्ट मात्रै काठमाडौँ फर्केका थिए ।

त्यस्तै जसपाका अध्यक्ष यादव चारपटक काठमाडौँबाहिर गएका छन् । उनी चैत २८ मा जनकपुर, वैशाख १ मा फेरि जनकपुर , वैशाख ८ मा पनि जनकपुर र १२ गते सिमरा पुगेका थिए ।

जसपाकै संघीय परिषद्का अध्यक्ष डा‍. बाबुराम भट्टराई भने योबीचमा एकपटक पोखरा पुगेका छन् ।

ओलीपछि सबैभन्दा बढी आचार संहिता जारी भएपछि जिल्ला दौडाहामा निस्कने नेतामा राप्रपाका अध्यक्ष लिङदेन पर्छन् । उनी आठपटक जिल्ला दौडाहामा निस्केका छन् । २६ चैतमा उनी भरतपुर पुगेका थिए । २८ चैतमा सिमरा, वैशाख २ गते भरतपुर, ४ गते भद्रपुर ६ गते विराटनगर, ८ गते भैरहवा, ९ गते विराटनगर र १४ गते धनगढी पुगेका थिए ।

यस्तै, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल तीनपटक जिल्ला दौडाहामा निस्केका छन् । उनी गृह जिल्ला भद्रपुरका कार्यक्रममा पुगेका हुन् । २९ चैतमा विराटनगर, ३० गते भद्रपुर र ६ गते भद्रपुर पुगेका थिए ।

प्रधानमन्त्री काठमाडौँबाहिर ननिस्के पनि उनका पत्नी डा. आरजु राणा एकपटक धनगढी पुगेकी छन् । कांग्रेस सभापति पार्टी कार्यक्रममा जिल्लाबाहिर नपुगे पनि कांग्रेसका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण चितवन भरतपुरमा बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन कोशिसका लागि पुगेका थिए । यसलाई निर्वाचन आयोगले नोटिसमा राखेको छ ।

कांग्रेसका डा. शेखर कोइराला, महामन्त्री गगन थापालगायतका नेताहरूले पनि केही जिल्लाहरूमा पुगेका छन् ।

प्रतिक्रिया