बिहीबार, माघ १५, २०८२

सशस्त्र प्रहरीमा एआईजी बढुवाका लागि आवेदन माग

मेरोन्यूज २०७९ वैशाख १६ गते १९:३४

काठमाडौँ । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि आवेदन माग गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पुष्पराम केसीले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उप समूहमा यही वैशाख १९ पछि रिक्त हुने दुई एआईजी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् ।

यही वैशाख १८ मध्यरातदेखि सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेलले तीस वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

महानिरीक्षक पुष्पराम केसीको अवकाशपछि सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने छ ।

सशस्त्र प्रहरी बलमा रिक्त हुने दुई एआईजी पदका लागि सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम प्रमुख दाबेदार हुन् । नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका पौडेल र नेपाली सेनाबाट स्थानान्तरण भएका गौतमलाई आगामी साता एआईजीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरिएको छ ।

महानिरीक्षक केसीले जारी गरेको सूचनामा साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि पाँच दिनभित्र गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।

प्रतिक्रिया