शुक्रबार, पुष १८, २०८२

सगरमाथा आरोहण गर्न ३१६ जनाले लिए अनुमति, ४७ करोड रोयल्टी संकलित

मेरोन्यूज २०७९ वैशाख १८ गते २०:५२

काठमाडौँ । यस वर्षको वसन्त यामको सगरमाथा हिमाल आरोहणका लागि ३९ आरोही समूहका ३१६ जनाले आरोहण अनुमति लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथासहित २५ हिमाल तथा चुली आरोहणका लागि १११ आरोही समूहका १९५ महिला र ७०४ पुरुषसहित कूल ८९९ आरोहीले अनुमति पाएका छन् ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मार्च अन्तिमसम्मको एक्सिपिडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् । अमादब्लम आरोहणका लागि नौ समूहका ९७ जनाले अनुमति पाएका छन् । कञ्चनजंघा आरोहणका लागि सात समूहले अनुमति लिएको छ ।

अन्नपूर्ण चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ । मकालुमा चार, धौलागिरिका लागि दुई र ल्होत्सेका लागि एक आरोही समूहले अनुमति लिएका छन् ।

त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुली र थापा पिकका लागि चार–चार समूहले आरोहण अनुमति लिएर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । ती हिमाल तथा पिक आरोहणबाट हालसम्म ४६ करोड ७५ लाख रुपैयाँ रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।

प्रतिक्रिया