आइतबार, माघ १८, २०८२

आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न हुँदैन ?

मेरोन्यूज २०७९ वैशाख २७ गते ६:५९

काठमाडौं । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

आयोगले आजदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री, वितरण र सेवन नगर्न आग्रह गरेको छ । तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

निर्वाचन आचारसंहिता पालन भएरनभएको अनुगमनका लागि अनुगमन टोली पनि आयोगले परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ । आयोगले मुख्यमन्त्रीदेखि मेयरका उमेदवारसम्मलाई स्पष्टिकरण सोधिसकेको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

-मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

-मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

-एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

प्रतिक्रिया