स्थानीय तह निर्वाचन
चुनावले अझै छोएन बिजिली महरालाई
‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ'

महोत्तरी । महोत्तरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी लामो प्रचारप्रसारपछि मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न्न कारणले जिल्ला बाहिर रहेकाहरु गाउँँ फर्किरहेका छन् । यतिखेर चुनावी माहोलले गाउँँघरमा भिडभाड बढेको छ ।
तर, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेकाहरुलाई भने निर्वाचन महोलले छोएको छैन । मजदुरी तथा रोजीरोटीका लागि काम गर्नेहरुलाई भने पहिलेको जस्तै कामको नै चटारो छ ।
राजनीतिक माहोलभन्दा आफ्नै समस्याले थलिएकालाई बिहान बेलुका पेट पाल्ने चिन्ता छ । चिन्तित भएका मध्येका एक हुुन्, महोत्तरी बर्दिबास–१४ का बिजिली महरा ।
पुराना, मक्किएका, च्यातिएका जुत्ता पालिस गरेर टिलिक्क टल्काउनु उनको दैनिकी पेसा हो । उनलाई चुनावी माहोलले अझै छोएको छैन ।
महरालाई अरूले फुरुंग्याएको र दया देखाएको पटक्कै मन पर्दैन । उनी भन्छन्, ‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।’
महराले परिवारको भरणपोषण र छोराछोरीको शिक्षादीक्षाका लागि जुत्ता पालिसबाटै मनग्ये आम्दानी गर्छन् । जुत्ता टल्काएर उनले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउँछन् । महरालाई आफ्नो काम र कमाइमा सन्तुष्टि छ् । कोही कसैले गिज्याए, होच्याए पनि आफ्नो काममा निरन्तर अगाडि बढिरहेका उनी भन्छन् ।
महरालाई नेताहरुको प्रलोभन र आश्वासनमा रत्तिभर पनि विश्वास छैन । ‘भोट त दिन्छु । तर, कसलाई दिन्छु, त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला,’ उनले भने ।
नेताहरु सामाजिक परिवर्तनको नारा बोकेर निर्वाचनमा होमिएका छन् । तर, महराले देखेको समाजको चेतनास्तर जस्ताको तस्तै छ ।
महराका चार छोरा र एक छोरी छन् । कान्छो छोरा सुनिल सेठ्ठी महरा कक्षा १२ अध्ययनरत छन् । माइलो र साइँलोले बाबुको बिँडो थामेका छन् । एउटी छोरीको बिहे भइसक्यो ।
महराजस्तै अरु महराहरू पनि दिनभरि सडक कुनामा बस्छन् । कहिलेकाहीँ नगरबाट आएको नगर प्रहरीले बाटामा किन बसेको भन्दै दुःख दिने गरेको उनीहरूको सामूहिक गुनासो छ ।
फुटपाथमा व्यापार गर्नेलाई स्थानीय सरकारले भेदभाव गर्ने र सटर लिएर भाडामा बस्नेलाइ काखी च्यापेको देख्दा दुःख लाग्ने महरा सुनाउँछन् । फुटपाथबाटै रोजीरोटी चलेकाले नगरले नै व्यवस्थापन गरिदिए गरिखान सहज हुने उनको बुझाइ छ ।
‘बर्दिबासका मुख्य सडक छेउको एउटा सटर भाडामा २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । २० हजार रुपैयाँ मासिक कमाउनेले कसरी भाडा तिर्नु ?’ महराको प्रतिप्रश्न छ ।
















Film journalist Sitaula passes away
प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया