बिहीबार, चैत ७, २०८१

कर्मचारीले धाँधली गरेको भन्दै तिलोत्तमामा मत गणना स्थगित

मेरोन्यूज २०७९ जेठ ३ गते १५:१२

बुटवल । मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद हुँदा तिलोत्तमा नगरपालिकाको मत गणना रोकिएको छ । कांग्रेसले मत गणनामा एमालेनिकट कर्मचारी धेरै रहेकाले कांग्रेसलाई हराउन कर्मचारीले धाँधली गर्न लागेको आरोप लगाउँदै आएको छ ।

अहिले मत गणना स्थल बाहिर कांग्रेस कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । उनीहरूले जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारी चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए । वडा नम्बर १६ र २ को मत गणना भइरहेकोमा मत संख्याबाहिर सार्वजनिक गर्ने बेलामा वास्तविक मतभन्दा एमालेको धेरै मत बताएको नेपाली कांग्रेसको आरोप छ ।

निर्वाचन कार्यालयले भने मत गणनाको मत संख्या गणक र दलका प्रतिनिधिबाट हस्ताक्षर गराएर मात्रै राख्ने गरिएको जनाएको छ ।

एमालेले भने नेपाली कांग्रेसले विगतमा जितेका वडामा पराजय हुने अवस्था देखिएपछि मत गणना बिथोलेर निर्वाचन जित्ने दाउमा रहेको जनाएको छ । ‘आफूहरूले निर्वाचन हार्दै जान थालेपछि गृह मन्त्रीको आडमा राज्य सत्ता र शक्तिको प्रयोग गरेर निर्वाचन आफ्नो पक्षमा पार्न कांग्रेसले अनेक दाउ गरी रहेको छ,’ एमालेका नगरप्रमुख उम्मेदवार मोहन चापागाईले भने ।

तिलोत्तमा नगरपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रामकृष्ण खाँण गृह मन्त्रीका सहोदर भाइ हुन् । मत गणनापछि संख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत संख्यामा फरक पर्न गएकाले वास्तवित तथ्यांक हेरी गणनाअगाडि बढाउने समहति भएको निर्वाचन अधिकृत माधव लोहनीले बताए ।

‘मतगणना शुरु गर्ने सहमति भएको छ, केही बेरमा गणना शुरु हुन्छ,’ लोहनीले भने ।

प्रतिक्रिया