राष्ट्रपति भण्डारीले दिइन् गणतन्त्र दिवसका अवसरमा शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औँ गणतन्त्रका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई शुभकामना दिएकी छन् ।
राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी छन् ।
सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याई नेपाललाई सबल र आत्मनिर्भर अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउनु गणतन्त्रको वास्तविक कार्यभार भएको शुभकामना सन्देशमा छ ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना स्वरूप प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौँ ।
वंश परम्परामा आधारित शासन व्यवस्थालाई जनतामा निहित सार्वभौम सत्ताको प्रयोगमार्फत जनताले नै छानेका प्रतिनिधिबाट सञ्चालन हुने प्रणालीमा रूपान्तरण गर्नु गणतन्त्रको मुलभूत विशेषता रहेको उल्लेख छ ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराइसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यसबाट गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो सामाजिक एवं राजनीतिक जीवन पद्धतिका रूपमा क्रमशः विकास भइरहेको सन्देशमा छ ।
‘नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, खानेपानी, सरसफाइ, वातावरण संरक्षणलगायत आधारभूत अधिकारलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्दै समाजवादोन्मुख आर्थिक प्रणाली निर्माण गर्न गणतन्त्र दिवसले हामी सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु,’ सन्देशमा भनिएको छ ।
मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसासमेत राष्ट्रपति भण्डारीले व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया