आइतबार, वैशाख ६, २०८३

गठबन्धन गणितीय उपलब्धि हासिल गर्न मात्रै होइन : नेता पौडेल

मेरोन्यूज २०७९ जेठ २६ गते १७:१२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पौडेलले पार्टीभित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउन नलागेको टिप्पणीसमेत गरे । उनले गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पारेका छन् ।

‘गठबन्धनले पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष हाम्रो छैन, गठबन्धन प्रभावकारी हुन सकेन, हाम्रो शक्ति कांग्रेसलाई जिताउनका निम्ति हामीले खर्चिने स्थिति निर्माण गर्न सकेनौँ,’ उनले भने, ‘गठबन्धन संविधानका निम्ति हो, समृद्धिका निम्ति हो, एउटा निश्चित उद्देश्यका निम्ति हो, कसैलाई कमजोर बनाउन, गणितीय उपलब्धि हासिल गर्न मात्रै होइन, यसको वैचारिक साझा एजेण्डा हुनु पर्छ, त्यस अवस्थामा मात्रै गठबन्धन उपलब्धिमूलक हुन सक्छ भन्ने मलाई लाग्छ ।’

उनले महानगर र उपमहानगरको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताए । उनले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएकाले महानगर र उपमहानगरमा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गरे । उनले आगामी दिनमा गठबन्धन गर्दा साझा एजेण्डा र स्थानीय परिस्थितिलाई आधारित बनाएर गरिनु पर्ने बताए ।

कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्र्तगतको अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजकसमेत रहेका नेता पौडेलले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको बताए । उनले वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा कांग्रेस ठूलो दल भएको बताए ।

प्रतिक्रिया