उपेन्द्रको पार्टीमा बारम्बार किन हुन्छ विभाजन ?
जसपा पुनः विभाजनको संघारमा, केन्द्रीय कार्याकारिणी र संसदीय दलमा टाउको गन्न सुरु

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पुनः विभाजन मुखमा छ । अविश्वास यतिसम्म छ कि, उपेन्द्रले चाल्न सक्ने कदमप्रति संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराई पक्ष र बाबुरामले चाल्न सक्ने सम्भावित कदमप्रति उपेन्द्र दुवै संशंकित भएका छन् ।
सोमबार त यतिसम्म भयो कि डा. भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षमा पार्टीभित्र बहुमत रहेको, महत्वपूर्ण निर्णयमा तीन जनाको हस्ताक्षर हुने पार्टीको यसअघिको निर्णय रहेकाले अध्यक्ष यादवको एकल निर्णयलाई आधिकारितका नदिनु भने ।
यसले जसपाभित्र कुन तहमा विवाद झाांगिएको छ भन्ने देखाएको छ । जसपाका एक नेताका अनुसार अहिले दुवै पक्षका नेताहरु केन्द्रीय कार्याकारिणी समिति र संसदीय दलमा को नेता कता छन् ? भनेर लेखाजोखा र हिसाब राख्न थालेका छन् ।
जसपामा अहिले बाबुराम भट्टराई पक्षले उपेन्द्रमाथि तीन वटा शर्त अगाडि सारेको छ ।
पहिलोः अहिलेसम्मका गतिविधिको आत्मालोचना गर्नु पर्ने ।
दोस्रोः पार्टीमा अर्को अध्यक्ष चयन गर्नु पर्ने ।
तेस्रोः सरकारमा गएका मन्त्रीहरू फेर्नु पर्ने ।
तर, उपेन्द्र यादव यी कुनै शर्त मान्ने पक्षमा देखिएका छैनन् । उनी सरकारमा गएका मन्त्री पूरै फेर्ने दाउमा छैनन् । देउवा नेतृत्वको सरकारमा सहभागी हुनेबेला जसपाभित्र एकीकृत समाजवादीमा जस्तै ६ महिने आलोपालो सरकारमा जाने नीति बनाइएको थियो । तर, अहिले उपेन्द्रले यसलाई सुन्न चाहिरहेका छैनन् ।
उनी सरकारमा रहेकामध्ये एक जना मन्त्री मात्रै फेर्ने र अरुलाई निरन्तरता दिने पक्षमा छन् । यादवको सोच कृषि मन्त्री महेन्द्र राय यादवलाई मात्रै फिर्ता बोलाउने र उनको ठाउँमा अर्को मन्त्री पठाउने योजना देखिन्छ ।
तर, भट्टराई सबै मन्त्रीलाई फिर्ता बोलाउने र नयाँ सेट पठाउने सोचमा छन् । यादवले फिर्ता बोलाउन चोहका एक मात्र मन्त्री महेन्द्रराय डा. भट्टराई पक्षमा खुलेका छन् । सोही कारण अध्यक्ष यादव महेन्द्रराय यादवलाई मात्र तर्साउने र फिर्ता बोलाउने योजनामा देखिन्छन् ।
यादवमाथि भट्टराई पक्षले राष्टि«यसभा चुनाव, मन्त्री नियुक्तिदेखि स्थानीय तह निर्वाचनको उम्मेदवारीसम्ममा एकलौटी गरेको आरोप लगााउँदै आएको छ । कतै पुनः अहिले पनि मन्त्री फेर्ने कुरामा महेन्द्ररायलाई मात्र फिर्ता बोलाएर अरु आफू अनुकूल हुने गरी बनाउँछन कि भन्ने भट्टराई पक्षलाई डर छ ।
जसपाका एक नेताका अनुसार, त्यही डरपछि भट्टराईले प्रधानमन्त्रीलाई धयानाकषर्ण गराएका हुन् । उपेन्द्रको निर्णय मात्र नमान्न प्रधानमन्त्रीलाई सचेत गराएका हुन् ।
टाउको गनागन
जसपामा विवाद बढ्दै जाँदा अहिले केन्द्रीय कार्याकारिणी समिति र संसदीय दलमा नेताहरुको टाउको गनागन हुन थालेको छ । भट्टराई पक्षले संसदीय दलमा प्रष्ट आफ्नो पक्षमा बहुमत रहेको जिकिर गरेको छ ।
केन्द्रीय समितिमा भने समिति अध्यावधिक गर्ने भन्ने भएकाले ठोस विवरण आएनसकेको भट्टराई पक्षको भनाइ छ । तर, छिनोफानोकै रुपमा लड्न चाहँदा आफ्नो पक्षमा केन्द्रीय समिति बैठकमा पनि बहुमत पुग्ने भट्टराई पक्षको दाबी छ ।
′संसदीय दलमा हाम्रो बहुमत छ, १९ सांसद (एक निलम्बितबाहेक) मध्ये हामीसँग ११ जना छन् । तर, केन्द्रीय कमिटीमा भने केही समस्या छ । ४९९ सदस्यीय केन्द्रीय कमिटीमा हाम्रो पक्षमा २३६ जना छन्,’ भट्टराई पक्षका नेताको दाबी छ ।
भट्टाराई पक्षमा कृषिमन्त्रीसमेत रहेका महेन्द्र राय, कार्यकारिणी सदस्य एवम् सांसदहरू मोहम्मद इस्तियाक राई, राजकिशोर यादव, अमृता अग्रहरी, नगराज सुवेदी, गंगा श्रेष्ठलगायत छन् ।
पहिले बाबुरामसँग रहेका सबै बाबुरामतिरै र जसपातिर रहेका महेन्द्र राय यादव, मोहममद इस्तियाक राई, राजकिशोर यादव, अमृता अग्रहरीलगायत नेताहरु पनि अहिले भट्टराईलाई साथ दिएको भट्टराई पक्षका नेताहरु बताउँछन् । तर, उपेन्द्र पक्ष बहुमत भटटराई पक्षमा रहेको कुरा स्वीकार गर्न चाहदैनन् ।
′उहाँहरू (बाबुराम पक्ष)ले बहुमत पुर्याउन कोसिस गर्नु हुन्छ, जुन सम्भव देखिन्न, तर उहाँहरुले कोसिस गरिरहनु भएको छ, बहुमत पुर्याउन नसके ४० प्रतिशत सांसद र ४० केन्द्रीय सदस्य लिएर पार्टी विभाजन गर्न प्रयासमा उहाँहरु हुनुहुन्छ कि भन्ने लागेको छ, संसदीय दलमा त ४० प्रतिशत पुग्छ होला तर केन्द्रीय कमिटीमा उहाँहरुले ४० प्रतिशत पुर्याउन पनि गाह्रो छ,’ उपेन्द्र पक्षका नेता भन्छन् । यादवलाई रेनु यादव, रामसहाय प्रसाद यादव, प्रमोद साहलगायतले साथ दिएका छन् ।
जसपामै रहेको अर्को फयाक्टरका रुपमा रहेका वरिष्ठ नेता अशोक राई, मन्त्री राजेन्द्र श्रेष्ठलगायत यो पक्षका नेताहरू भने विवादमा मौन बसिरहेका छन् ।
फागुनमा बसेको जसपा केन्द्रीय कमिटी बैठकले यादव, भट्टराई र अशोक राई रहेको स्टेरिङ कमिटी बनाएको थियो । तर, यादवले दुई नेतासँग छलफल नगरी आफूखुसी स्थानीय तह निर्वाचनमा उम्मेदवार तय गरेको भट्टराई पक्षको आरोप छ । त्यसयता यादवले कार्यकारिणी बैठकसमेत बोलाएका छैनन् ।
किन फुटिरहन्छ जसपा ?
उपेन्द्र यादवको नेतृत्वको पार्टी अनेक फुटको श्रृंखलामा चलिरहेको छ । एक वर्षअगाडि मात्रै महन्थ ठाकुरलगायत नेताहरुसँग जसपाको औपचारिक सम्बन्ध विच्छेद भएको थियो । लोसपा र जसपाका रुपमा त्यसपछि मधेस केन्द्रीय यी दल विभाजित हुन पुगेका थिए ।
पार्टी विभाजनको एक वर्षकै अन्तरालमा फेरि जसपा विभाजनको डिलमा पुगेको हो । बामपन्थी पृष्ठभूमिबाट राजनीति गरेका उपेन्द्र यादवको विगत हेर्ने हो भने ०५४ सालसम्म उनी नेकपा एमालेमा थिए । त्यसपछि एमाले परित्याग गरेर तत्कालीन भूमिगत माओवादीमा उनी प्रवेश गरेका थिए ।
तर, माओवादीमा पनि उनी अडिन सकेनन् । माओवादी नेताहरू सुरेश आलेमगर र मात्रिका यादवसँगै भारतमा पक्राउ परेका उनले त्यसपछि माओवादी छोडेका थिए । २०६२–६३ को आन्दोलनपछि उपेन्द्र जातीय राजनीतितर्फ होमिएका हुन् । उनी एनजीओमार्फत राजनीतिमा आउने मौकाको खोजीमा थिए ।
२०६३ पछि काठमाडौंमै अन्तरिम संविधानको मस्यौदा च्यातेर पहिलोपटक यादव राष्ट्रिय चर्चामा आएका थिए । त्यसबेला उनले मधेसी जनअधिकार फोरम नामक एनजीओ बनाएर आन्दोलन गरेका थिए । त्यसपछि भएको मधेस आन्दोलनमा फोरमको चर्चा चुलियो । उनले त्यसै फोरमलाई पार्टीमा रुपान्तरण गरे । र, मधेसको आइकन बन्न खोजे ।
तर, मधेस आन्दोलन चलिरहेकै बेला तत्कालीन सरकारसँग २१ बुँदे सम्झौता गरेपछि उनको फोरममा पहिलो विभाजन भएको थियो । उनले तत्कालीन सरकारसँग गरेको सम्झौतापछि असन्तुष्ट भएर भाग्यनाथ गुप्ताको नेतृत्वमा रामकुमार शर्मा, किशोर विश्वास, जितेन्द्र सोनललगायत नेताहरू अलग भएर मधेसी जनअधिकार फोरम मधेस बनाएका थिए । त्यसपछि उपेन्द्र नेतृत्वको तत्कालीन फोरम हालका जसपा शृङ्खलाबद्ध रूपमा विभाजन हुँदै गएको इतिहास छ ।
यादव नेतृत्वको फोरमबाट अमर यादवसहितका नेताहरू अलग भएर मधेस फोरम गठन गरेका थिए । त्यसलगत्तै सोही पार्टीबाट अलग भएर विजयकुमार गच्छदारले मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक गठन गरेका थिए । त्यसपछि सोही पार्टीबाट जेपी गुप्ता अलग भएर मधेसी जनअधिकार फोरम गणतान्त्रिक पार्टी गठन गरेका थिए ।
त्योबीचमा कौशलकुमार सिंह नेतृत्वको लोक दलले पनि तत्कालीन फोरमसँग एकीकरण गरेको थियो । तर, त्यो एकीकरण एक वर्ष पनि टिक्न सकेन । फोरमबाट लोक दल अलग भयो ।
त्यस्तै, फोरमबाट अलग भएका अमर यादव पनि उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमसँग एकीकरण गरेका थिए । तर, त्यो एकीकरण ६ महिना पनि टिक्न सकेन । अमर आफ्नो समूह लिएर अलग भए ।
यस्ता साना–साना पार्टीसँग एकीकरण गरेर अलग भएका थुप्रै घटना छन् । नेपाल सद्भावना पार्टी लिएर सरिता गिरीले पनि तत्कालीन फोरमसँग एकीकरण गरेकी थिइन् । तर, उनी पार्टीबाट कारबाहीमा परेर अहिले अलग भएकी छिन् ।
उपेन्द्र नेतृत्वको तत्कालीन समाजवादी पार्टीले २०७७ वैशाख १० गते मध्यराति महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालसँग एकीकरण गरेर जसपा नेपाल बनेको थियो । तर, २०७८ भदौमा सो पार्टी विभाजन भयो ।
२०७६ वैशाखमा उपेन्द्र नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भएको थियो । दुई दलबीच एकीकरण भएको अढाई वर्ष नपुग्दै दुई नेताबीच अहिले खटपट सुरु भएको छ । पार्टीमा चिरा परिसकेको छ, विभाजनको घोषणा मात्र हुन बाँकी छ ।
पार्टीभित्र अनेक खाले फुट हुँदा पनि उपेन्द्र भने केन्द्रमै छन् । उपेन्द्र राजनीतिका चतुर खेलाडी हुन् । अन्य पुराना मधेसी नेताहरुलाई पछि पार्दै मधेसको पहिलो नेताका रुपमा स्थापित हुँदा उनको चतुरता र रणनीतिक भूमिकाले काम गरेको छ ।
उपेन्द्र अन्य मधेसी नेताहरु जति संकीर्ण नरहेको उनका गैरमधेसी समर्थकको विश्वास छ । कतिपय सन्दर्भमा उनले राष्ट्रिय चरित्र देखाएका पनि छन् ।
















किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
प्रतिक्रिया