बिहीबार, फागुन २८, २०८२

पेटभित्र अड्किएको चम्चा नर्भिकका चिकित्सकले बिना शल्यक्रिया निकाले

मेरोन्यूज २०७९ असार १३ गते १८:४७

काठमाडौँ । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया पेटको आमाशयमा अड्किएको चम्चा निकालेका छन् । अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँकै १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना चोट निकाल्ने सफलता प्राप्त भएको हो । चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो । यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा. कुँवरले सुरक्षित तरिकाले इण्डेस्कोपी गरी निकालेका हुन् ।

डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो पहिलो घटना भएको दाबी गरे । उनको नेतृत्वमा टिमले यसअघि बच्चाहरूले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी बिना शल्यक्रिया निकाल्दै आएको छ ।

‘साइक्ट्रेकी इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनु भयो, यस्तो बिरामीलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ,’ डा. कुँवरले भने, ‘आमाशयमा गएर अड्किएको रहेछ, आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौँ ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिना शल्यक्रिया निकालिएको थियो । ‘चम्चा निकाल्ने क्रममा कतै चोट लागेन,’ डा. कुँवरले भने, ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो ।’

आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ ।

प्रतिक्रिया