बालुवाटारमा चुनावी हिसाब-किताब !
समानुपातिक सिटबारे यकिन गरेर मात्रै प्रत्यक्षतर्फ छलफलमा प्रवेश गर्ने कांग्रेसको तयारी

काठमाडौँ । असार मसान्तसम्म संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले चुनावको आन्तरिक हिसाबकिताब शुरु गरेको छ ।
संघ र प्रदेशको चुनावमा पार्टीले प्राप्त गर्न सक्ने मत र त्यसबाट प्राप्त हुने समानुपातिक सिट संख्याका विषयमा पहिलो चरणमा कांग्रेसले हिसाबकिताब शुरु गरेको हो ।
पार्टीको आन्तरिक हिसाबपछि गठबन्धन दलभित्र सिट बाँडफाँड गर्दा कति सिट आफूले लिएर अन्य दललाई कति छाड्ने भन्नेमा छलफल गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ । अहिले कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको मत, अघिल्ला चुनावमा कांग्रेसले प्राप्त गरेको मत र अन्य राजनीतिक दलको मत भारको हिसाब गरिरहेको छ ।
कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकतर्फ कम्तीमा ४० देखि ४५ सिट ल्याउने, प्रत्यक्षतर्फ कम्तीमा ९० सिट आसपास जित्ने र सक्दा एकल, नभए अन्य साना दललाई मात्रै साथ लिएर सहज सरकार सञ्चालन गर्न मिल्ने गरी चुनावी परिणाम आफ्नो पक्षमा पार्न चाहिरहेको छ । सोही कारण कांग्रेसले अहिले समानुपातिकतर्फ कुन दलले कस्तो स्थान जित्न सक्लान् ? भन्ने लेखाजोखामा छ ।
त्यस आधारमा कांग्रेसले गठबन्धनका दलसँगको सिट बाँडफाँडमा छलफल गर्न चाहेको बालुवाटार स्रोतले बताएको छ । अनौपचारिक तहमा कांग्रेसले एक सय सिट आफूले लिने र बाँकी ६५ सिटमा अन्य गठबन्धनमा आवद्ध हुने दलका लागि छोड्ने रणनीतिमा छ । यद्यपि, कांग्रेसको यो रणनीतिमा अन्य दल सहमत हुने नहुने विषयमा अहिले विषय प्रवेश पाएको छैन ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई प्रत्यक्षतर्फको एक सय सिटभन्दा तल नझर्न पार्टीभित्रै दबाब बढ्दो छ । देउवा भने पहिले चुनावको मिति घोषणा गर्ने र सत्ता गठबन्धन दलबीच सिट बाँडफाँडका विषयमा छलफल गर्ने सोचमा देखिएका छन् । उनले गठबन्धनमै रही माओवादी केन्द्रलाई साथमै राखेर अगाडि जाने मनस्थिति बनाएका छन् ।
सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धनका नाममा कांग्रेसलाई मात्रै बोकेर हिँड्न नहुने पक्षमा सत्ता सहयात्री दल रहेका छन् ।
गठन्धनमा रहने अन्य दलहरु एकीकृत समाजवादी, जनता समाजवादीभित्रको पार्टी लफडा कुन रुपमा रहन्छ । र, त्यसले गठबन्धनमा रहने शक्ति कस्तो हुन्छ ? त्यस आधारमा मात्र सिट बाँडफाँडमा छलफल गर्ने तयारी प्रधानमन्त्री देउवाको देखिन्छ । देउवा चुनावपछि आफ्नै नेतृत्वको सरकारका निरन्तरता चाहान्छन् ।
कांग्रेसले चाहेको जस्तो प्रत्यक्षतर्फको एक सय सिट आफूले लिने र अरु अन्य गठबन्धनको दललाई छाड्ने प्रस्तावमा गठबन्धनका अन्य दलले सहमति जनाउने नजनाउने खुलेको छैन । सम्मानजनक सिट बाँडफाँडका लागि उनीहरुले प्रधानमन्त्री देउवामाथि दबाब बढाइरहेका छन् । सम्मानजनक सिट बाँडफाँड नभए गठबन्धनका नाममा कांग्रेसलाई मात्रै बोकेर हिँड्न नहुने पक्षमा सत्ता सहयात्री दल रहेका छन् ।
प्रधानमन्त्री देउवा माओवादीलाई जसरी पनि आफूसँग गठबन्धनमा टिकाइराख्न चाहान्छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आगामी ५ वर्ष अब नेपालको राजनीतिमा आफू निर्णायक हुन चाहिरहेका छन् । कांग्रेससँग मिल्दा र एमालेसँग मिल्दा माओवादीबिना कसैको सरकार निर्माण हुन नसक्ने अवस्थाको सिर्जना माओवादी आगामी चुनावबाट गर्न चाहिरहेको छ । जसले प्रचण्डसमेत दबाबमा छन् । उनी कांग्रेसले सम्मानजनक सिट नदिए एमालेसँग चुनावमा मिल्न जाने आकलन पनि कांग्रेसभित्रै छ ।
संघ र प्रदेशको निर्वाचनमा ‘सम्मानजनक’ सिट बाँडफाँट हुनु पर्ने भन्दै मनोवैज्ञानिक दबाब देउवामाथि गठबन्धनका दलले बढाउन थालेपछि कतै देउवाले सिट बाँडफाँड सहज रुपमा छोडिदिने पो हुन् की भन्ने शेखर कोइराला पक्षले देउवामाथि दबाब राख्न चाहेको छ । त्यही क्रममा उसले आज दिउँसो आफूनिकट नेताको बैठकबाट निष्कर्ष निकालेर देउवामाथि दबाब बढाउन चाहेको छ ।
चुनावपछि आउने दलको पोजिसनका आधारमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्छ, बन्दैन पहिले नै सुनिश्चितता खोजिरहेको देखिन्छ ।
देउवाले आगामी असार २० गते पार्टीको केन्द्रीय समिति बैठक बोलाएर यसबारेमा छलफल चलाउने र चुनाव मिति घोषणा गरेर गठबन्धनका दलसँग सिट बााडफाँडको छलफलमा बस्न चाहेका छन् । देउवाले केन्द्रीय समिति बैठक बोलाउने बारेमा बुधबारमात्रै पार्टीका नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए ।
चुनावपछि आउने दलको पोजिसनका आधारमा कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्छ, बन्दैन पहिले नै सुनिश्चितता खोजिरहेको देखिन्छ । सोही कारण उसले सक्दासम्म आफ्नै नेतृत्वमा सरकार बन्ने गरी चुनावी परिणाम आफ्नो पक्षमा पार्न चाहेको छ ।
त्यसो गर्न नसके पनि ठूलो दलका रुपमा आफूले कम्तीमा १३५ माथि सिट (प्रत्यक्ष, समानुपातिक) कटाउने र मधेस केन्द्रीत केही साना दलहरुले जित्ने संख्यालाई जोडेर सरकार चलाउन सक्ने वातावरणको खोजी गरिरहेको छ ।
त्यसो नुहँदा पनि गठबन्धनमा रहेका अहिलेकै दललाई एमालेसँग मिल्न जानबाट रोक्ने र गठबन्धनकै सरकार बनाएर जाने कांग्रेसको तयारी छ । सोही कारण पनि उसले समानुपातिकमा पार्टीको सिट कतिसम्म आउन सकिन्छ । पहिले निक्यौल विश्लेषण गर्ने र गठबन्धन दलबीचमा सिट बाँडफाँडलाई पनि सोही आधारमा हिसाब निकालेर मात्र प्राथमिकतामा राख्ने योजनामा कांग्रेस छ ।
‘अहिले हामी पार्टीले समानुपातिकमा कति सिट जित्न सक्छ, त्यसैमा अरु दलहरुको पोजिसन के हुन्छ ? त्यसको मिहिन हिसाब निकाल्दै छौँ, त्यसैलाई पनि आधार बनाएर आगामी चुनावपछि पनि कांग्रेसको सरकार हुने गरी गठबन्धन दलसँग सिट बाँडफाँडको छलफल गर्ने सोच कांग्रेसको छ,’ कांग्रेसका देउवा निकटका एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने, ‘आन्तरिक हिसाबकै अहिले जोडघटाउ चलिरहेको छ ।’
कांग्रेस सय सिट आफूसँगै राख्ने, माओवादीलाई ५० र एकीकृत समाजवादीलाई बाँकी दिने गरी आन्तरिक तयारीमा छ । उसले जसपाभित्रको विवादले उसको पोजिसन के हुने नहेरी यकिन गर्न चाहिरहेको छैन । तर गठबन्धनका दलहरु भने अहिले जुन दलले जति जिते त्यो कायम राखेर एमालेले जितेका ८० सिटमा बाँडफाँट गर्ने गरी जान चाहिरहेका छन् ।
















टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराईमा कुहिरो,पहाडी भागमा आंशिक बादल
माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया