संघर्षको कथा
बाटोमा लुगा बेचेरै मासिक ६० हजार कमाउने धादिङकी शोभा
जसले महंगो स्कुलमा सन्तान पढाउँछिन्

काठमाडौँ । मनभरि पढ्ने अभिलाषा पालेकी शोभा सिम्खडाले आफ्नो रहर पूरा गर्न पाइनन् । १७ वर्ष पूरा नहुँदै बिहे भएपछि पढ्ने कुरा उनका लागि सपना भइदियो । मनको कुनामा दबिएको उनको पढ्ने त्यो छट्पट्टी आफ्ना सन्तानमार्फत पोख्न खोजिरहेकी छन् । आफ्नो सपनाको बिउ रोपिरहेकी छन् ।
कैयौँ मानिसका लागि सपनाको शहर हो, काठमाडौँ । यहाँबाट धेरै टाढा छैन, धादिङ । काठमाडौँको छिमेकी जिल्ला धादिङको गंगा जमुना नगरपालिका ४ गुम्दीकी शोभाको जीवनमा उतारचढाव लामै छ । उनले चालेका पाइला कैयौं अरुका लागि प्रेरणाको बन्न सक्छन् ।
पढेर के गर्ने ? पढेर के बन्ने ? पढाई सकेर कुन देश जाने ? कति कमाई होला ? जीवन धान्न के गर्ने होला ? मनमा यस्ता प्रश्न खेलाउनेहरूका लागि शोभाको जीवन एक झलक हेर्ने हो भने मात्र केही गर्ने आँट पलाउँछ ।
बालाजुको लोलाङ हाइटबाट हरेक दिन निस्किदा उनी ५० केजीको भारी बोक्छिन् । उमेर भन्दा १६ केजी बढीको त्यो भारीमा उनको सपना छ । खुसी छ । संघर्ष छ । रोजीरोटी छ । जीवन बाँच्ने आधार छ । अझ सबैभन्दा माथि उनका सन्तानको भविष्य छ ।
बालाजुको लोलाङबाट सुरु भएर फेरि आफ्नै बासस्थानमा फर्किंदासम्म शोभाले शहरमा ६ घण्टा फन्को लगाइसकेकी हुन्छिन् । यो उनको एक दिनको मात्रै दैनिकी होइन । यो उनको ३६५ दिनकै नियमित दैनिकी हो । घामपानी, झरी, हुरी होस् या कोरोनाजस्ता महामारी । कुनै कुराले उनलाई अवरोध गर्दैन । गरेन ।
बालाजु, ठमेल, नयाँ बजार, म्हेपी क्षेत्रमा हिँडिरहँदा कतै ठूलो ब्याग भिरेर लम्किरहेकी शोभासँग तपाईको पनि जम्काभेट हुन सक्छ । ब्यागमा टिसर्ट, मोजा, सर्ट जस्ता सामान बोकेकी उनी बाटोमै बसेर बेचिरहेकी हुन्छिन् । यस्तै, सीधै गार्मेन्टबाट सामान बोकेर राजधानीका ६०-७० वटा होलसेल पसललाई उनले सामान सप्लाई गर्छिन् । महिलाले यस्तो काम गर्यो भने कि श्रीमान्ले अर्को बिहे ग¥यो ठान्दा रहेछन् । कि बाँच्नै गार्हो भएछ भन्ने सोच्दा रहेछन् ।
‘सटर भाडा तिर्न नसकेर हिँडेको हो ? यो बिजोग तरिकाले के हिँड्नु ? अरुले सोध्छन्,’ हालैको एक साँझ ठमेलमा भेटिएकी उनले सुनाइन्, ‘बुढाले अर्की बुढी कहाँ राखेको छ भनेर सोध्छन् ।’ कतिले उनलाई बहिनी भनेर बोलाउँदा रहेछन् । यस्ता कुनै सम्बोधनले उनलाई फरक पार्दैन । बरु अठोटका साथ अघि बढ्छिन् ।
अधुरै रह्यो रहर
शोभालाई पढ्न निकै रहर थियो । नाँच्न, गाउन उनलाई एकदमै रमाइलो लाग्थ्यो । चार दिदी बहिनीमध्ये एक थिइन्, उनी । परिवारले साढे १६ वर्षमै उनले विवाह गरिदिए । त्यो बेला पढाईलाई निरन्तरता दिन पाएको भए म केही गर्थें, केही बन्थेँ भन्ने उनलाई लागिरहन्छ ।
शोभा राजधानी प्रवेश गरेको १३ वर्ष बित्यो । श्रीमान्ले उनको काममा निकै साथ दिएका छन् । आफू यहाँसम्म पुग्नुमा श्रीमान्कै हात रहेको उनी बताउँछिन् । उनी चुप लागेर बस्नै सक्दिनन् । सुत्केरी अवस्थामा पनि रुमाल बुन्थिन् । उनका आफ्नै दुःख र संघर्ष छ । तर, उनी सन्तुष्ट छिन् ।
उनले छोराछोरीलाई राम्रै स्थानमा पढाएकी छन् । छोरी सिद्धार्थ बनस्थलीमा पढ्छिन् भने छोरा साउथ वेस्टर्न कलेजमा । पुरुषहरु कमाउन विदेशिदा श्रीमतीहरू टिकटकमा समय बिताएको देख्दा उनलाई पटक्कै मन पर्दैन । बरु त्यो समयमा केही उद्यम, व्यवसाय गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ, उनलाई ।
बाटोमा सामान बेचेर, होलसेल पसललाई सप्लाई गरेर शोभाले ६० हजार रुपैयाँ कमाइरहेकी छन् । छोराको मासिक खर्च २८ हजार रुपैयाँ बिल आउँछ । छोरीको १३ हजार । घर भाडा १० हजार । पढ्ने रहर हुँदा हुँदै त्यो बेला पढ्न पाइएन । अब छोरा छोरीले राम्ररी पढुन् । कहाँ राम्रो छ, कहा प्रतिस्पर्धा छ ? त्यही उनले आफ्ना सन्तान पढाइन् । महंगो पैसा तिरेपछि स्कुलले राम्ररी केयर गर्लान् भन्ने उनलाई आशा छ ।
महामारीले नछेकेको काम
कोरोना भाइरसको महामारीले देश पूरै लकडाउन भयो । यसबेला पनि शोभाको यात्रा रोकिएन । उनी एक दिन घरमा सुतिनन् । उनले त्यो बेला दिनको पाँच सय रुपैयाँ कमाइन् । बाटोमा हिँड्दा–हिँड्दै पुलिसले कैयौंपटक रोके ।
अहिले शोभा गुगलबाट सामान हेरेर आफै विदेशबाट अर्डर गर्न सक्ने भएकी छन् । ह्वाट्एपमार्फत टोपी, मोजा मगाउँछिन् । एकैदिनमा उनले टिसर्ट बेचेर ३८ हजार रुपैयाँ कमाएकी छन् । त्यो पनि सस्तो मूल्यमा टिसर्ट बेचेर कमाइन् । एउटा टिसर्ट बेच्दा ५, १० रुपैयाँ मात्र मार्जिन राख्दा उनलाई त्यति फाइदा भयो ।
पसललाई महिलाहरुले प्रयोग गर्ने लुगा लगायत विभिन्न आइटम उनले उपलब्ध गराउँछिन् । अहिले वीरगञ्ज, पोखरा, आँबुखैरेनीबाट उनलाई सामानको अर्डर आउने गर्छ । नयाँ–नयाँ कुरा सिक्नमा उनी खप्पिस छिन् । १० दिनमै स्कुटर सिकिन् । त्यहाँ सिकाउने मानिस पनि छक्क परे । अब भ्यान चलाउन सिक्ने रहर छ, उनलाई । त्यसैमा सामान बोकेर बेच्ने रहर छ ।
गार्मेण्टदेखि स्कुलको इञ्चार्जसम्म
शोभाले राजधानीमा के मात्र गरिनन् ? श्रीमान् कामको खोजीमा विदेश गएका बेला गार्मेण्ट काम गरिन् । एकपटक उनले निवार्ण बचत तथा सहकारीमा काम गरिन् । त्यो काम गर्दा उनलाई मासिक ७ हजार रुपैयाँ तलब आउथ्यो । झण्डै एक वर्षसम्म उनले त्यो काम गरिन् । त्यसपछि रेडन कलेजमा ४५ सयमा जागिर गरिन् । इञ्चार्जका रुपमा उनले त्यहाँ चार वर्ष काम गरिन् ।
गीत गाउन हुरुक्कै हुने उनको स्वभाव छ । भागी–भागी दोहोरी साँझमा उनले गीत पनि गाइन् । त्यो कुरा अझै पनि श्रीमान्लाई थाहा छैन । अहिले पनि कसैको विवाह वा अन्य कार्यक्रम हुँदा गीत गाउन जान्छिन् ।
उदाहरणीय शोभा
शोभालाई छरछिमेकका उदाहरणीय व्यक्तिका रुपमा लिनेहरु प्रशस्त छन् । कतिले महान नारी भन्छन् । उनको संघर्षको तारिफ गर्ने थपिदै गएका छन् । उनी ‘कान्छी’ सिरियल नछुटाइकन हेर्छिन् । टेलिभिजन र युट्युबमा प्रशारण हुने यस सिरियलको कथाले उनको मन छुन्छ । गाउँघरमा हुने घटना, नारीका दुःख यस सिरियलमा देखाइन्छ ।
माइती बस्दा भोगेको दुःख, गाउँमा बस्दाको पीडा त्यो सिरियलमा देखाइन्छ । त्यो कथावस्तुले उनलाई निकै मन पर्छ । यस सिरियलकी कलाकार आशा खड्का उनकी प्रिय कलाकार हुन् । कुराकानी भएर फर्किसकेपछि केही दिनमा उनले फोनमा सुनाएकी थिइन्, ‘भाइ, ती कलाकारलाई भेटाइदिनुस् न है ।’
अहिले पनि शोभालाई आफ्ना बिगतका दिन सम्झेर गर्व लाग्छ । फेरि आफ्ना सन्तान र श्रीमान्तिर फर्किन्छिन्, कता–कता उनलाई भित्रैदेखि खुसी लाग्छ । एकदिन उनलाई लाग्छ, मेरा पनि दिन फर्किने छन् । त्यही आशा र विश्वासले उनका पाइलाहरु कहिल्यै रोकिदैनन् । चलिरहन्छन्, अविराम, अविरल र अनन्त ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया