आइतबार, माघ २५, २०८२

संघर्षको कथा

बाटोमा लुगा बेचेरै मासिक ६० हजार कमाउने धादिङकी शोभा

जसले महंगो स्कुलमा सन्तान पढाउँछिन्

नरेन्द्र रौले २०७९ असार २२ गते २०:५१

काठमाडौँ । मनभरि पढ्ने अभिलाषा पालेकी शोभा सिम्खडाले आफ्नो रहर पूरा गर्न पाइनन् । १७ वर्ष पूरा नहुँदै बिहे भएपछि पढ्ने कुरा उनका लागि सपना भइदियो । मनको कुनामा दबिएको उनको पढ्ने त्यो छट्पट्टी आफ्ना सन्तानमार्फत पोख्न खोजिरहेकी छन् । आफ्नो सपनाको बिउ रोपिरहेकी छन् ।

कैयौँ मानिसका लागि सपनाको शहर हो, काठमाडौँ । यहाँबाट धेरै टाढा छैन, धादिङ । काठमाडौँको छिमेकी जिल्ला धादिङको गंगा जमुना नगरपालिका ४ गुम्दीकी शोभाको जीवनमा उतारचढाव लामै छ । उनले चालेका पाइला कैयौं अरुका लागि प्रेरणाको बन्न सक्छन् ।

पढेर के गर्ने ? पढेर के बन्ने ? पढाई सकेर कुन देश जाने ? कति कमाई होला ? जीवन धान्न के गर्ने होला ? मनमा यस्ता प्रश्न खेलाउनेहरूका लागि शोभाको जीवन एक झलक हेर्ने हो भने मात्र केही गर्ने आँट पलाउँछ ।

बालाजुको लोलाङ हाइटबाट हरेक दिन निस्किदा उनी ५० केजीको भारी बोक्छिन् । उमेर भन्दा १६ केजी बढीको त्यो भारीमा उनको सपना छ । खुसी छ । संघर्ष छ । रोजीरोटी छ । जीवन बाँच्ने आधार छ । अझ सबैभन्दा माथि उनका सन्तानको भविष्य छ ।

बालाजुको लोलाङबाट सुरु भएर फेरि आफ्नै बासस्थानमा फर्किंदासम्म शोभाले शहरमा ६ घण्टा फन्को लगाइसकेकी हुन्छिन् । यो उनको एक दिनको मात्रै दैनिकी होइन । यो उनको ३६५ दिनकै नियमित दैनिकी हो । घामपानी, झरी, हुरी होस् या कोरोनाजस्ता महामारी । कुनै कुराले उनलाई अवरोध गर्दैन । गरेन ।

बालाजु, ठमेल, नयाँ बजार, म्हेपी क्षेत्रमा हिँडिरहँदा कतै ठूलो ब्याग भिरेर लम्किरहेकी शोभासँग तपाईको पनि जम्काभेट हुन सक्छ । ब्यागमा टिसर्ट, मोजा, सर्ट जस्ता सामान बोकेकी उनी बाटोमै बसेर बेचिरहेकी हुन्छिन् । यस्तै, सीधै गार्मेन्टबाट सामान बोकेर राजधानीका ६०-७० वटा होलसेल पसललाई उनले सामान सप्लाई गर्छिन् । महिलाले यस्तो काम गर्यो भने कि श्रीमान्ले अर्को बिहे ग¥यो ठान्दा रहेछन् । कि बाँच्नै गार्हो भएछ भन्ने सोच्दा रहेछन् ।

‘सटर भाडा तिर्न नसकेर हिँडेको हो ? यो बिजोग तरिकाले के हिँड्नु ? अरुले सोध्छन्,’ हालैको एक साँझ ठमेलमा भेटिएकी उनले सुनाइन्, ‘बुढाले अर्की बुढी कहाँ राखेको छ भनेर सोध्छन् ।’ कतिले उनलाई बहिनी भनेर बोलाउँदा रहेछन् । यस्ता कुनै सम्बोधनले उनलाई फरक पार्दैन । बरु अठोटका साथ अघि बढ्छिन् ।

अधुरै रह्यो रहर

शोभालाई पढ्न निकै रहर थियो । नाँच्न, गाउन उनलाई एकदमै रमाइलो लाग्थ्यो । चार दिदी बहिनीमध्ये एक थिइन्, उनी । परिवारले साढे १६ वर्षमै उनले विवाह गरिदिए । त्यो बेला पढाईलाई निरन्तरता दिन पाएको भए म केही गर्थें, केही बन्थेँ भन्ने उनलाई लागिरहन्छ ।

शोभा राजधानी प्रवेश गरेको १३ वर्ष बित्यो । श्रीमान्ले उनको काममा निकै साथ दिएका छन् । आफू यहाँसम्म पुग्नुमा श्रीमान्कै हात रहेको उनी बताउँछिन् । उनी चुप लागेर बस्नै सक्दिनन् । सुत्केरी अवस्थामा पनि रुमाल बुन्थिन् । उनका आफ्नै दुःख र संघर्ष छ । तर, उनी सन्तुष्ट छिन् ।

उनले छोराछोरीलाई राम्रै स्थानमा पढाएकी छन् । छोरी सिद्धार्थ बनस्थलीमा पढ्छिन् भने छोरा साउथ वेस्टर्न कलेजमा । पुरुषहरु कमाउन विदेशिदा श्रीमतीहरू टिकटकमा समय बिताएको देख्दा उनलाई पटक्कै मन पर्दैन । बरु त्यो समयमा केही उद्यम, व्यवसाय गरेको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ, उनलाई ।

बाटोमा सामान बेचेर, होलसेल पसललाई सप्लाई गरेर शोभाले ६० हजार रुपैयाँ कमाइरहेकी छन् । छोराको मासिक खर्च २८ हजार रुपैयाँ बिल आउँछ । छोरीको १३ हजार । घर भाडा १० हजार । पढ्ने रहर हुँदा हुँदै त्यो बेला पढ्न पाइएन । अब छोरा छोरीले राम्ररी पढुन् । कहाँ राम्रो छ, कहा प्रतिस्पर्धा छ ? त्यही उनले आफ्ना सन्तान पढाइन् । महंगो पैसा तिरेपछि स्कुलले राम्ररी केयर गर्लान् भन्ने उनलाई आशा छ ।

महामारीले नछेकेको काम

कोरोना भाइरसको महामारीले देश पूरै लकडाउन भयो । यसबेला पनि शोभाको यात्रा रोकिएन । उनी एक दिन घरमा सुतिनन् । उनले त्यो बेला दिनको पाँच सय रुपैयाँ कमाइन् । बाटोमा हिँड्दा–हिँड्दै पुलिसले कैयौंपटक रोके ।

अहिले शोभा गुगलबाट सामान हेरेर आफै विदेशबाट अर्डर गर्न सक्ने भएकी छन् । ह्वाट्एपमार्फत टोपी, मोजा मगाउँछिन् । एकैदिनमा उनले टिसर्ट बेचेर ३८ हजार रुपैयाँ कमाएकी छन् । त्यो पनि सस्तो मूल्यमा टिसर्ट बेचेर कमाइन् । एउटा टिसर्ट बेच्दा ५, १० रुपैयाँ मात्र मार्जिन राख्दा उनलाई त्यति फाइदा भयो ।

पसललाई महिलाहरुले प्रयोग गर्ने लुगा लगायत विभिन्न आइटम उनले उपलब्ध गराउँछिन् । अहिले वीरगञ्ज, पोखरा, आँबुखैरेनीबाट उनलाई सामानको अर्डर आउने गर्छ । नयाँ–नयाँ कुरा सिक्नमा उनी खप्पिस छिन् । १० दिनमै स्कुटर सिकिन् । त्यहाँ सिकाउने मानिस पनि छक्क परे । अब भ्यान चलाउन सिक्ने रहर छ, उनलाई । त्यसैमा सामान बोकेर बेच्ने रहर छ ।

गार्मेण्टदेखि स्कुलको इञ्चार्जसम्म

शोभाले राजधानीमा के मात्र गरिनन् ? श्रीमान् कामको खोजीमा विदेश गएका बेला गार्मेण्ट काम गरिन् । एकपटक उनले निवार्ण बचत तथा सहकारीमा काम गरिन् । त्यो काम गर्दा उनलाई मासिक ७ हजार रुपैयाँ तलब आउथ्यो । झण्डै एक वर्षसम्म उनले त्यो काम गरिन् । त्यसपछि रेडन कलेजमा ४५ सयमा जागिर गरिन् । इञ्चार्जका रुपमा उनले त्यहाँ चार वर्ष काम गरिन् ।

गीत गाउन हुरुक्कै हुने उनको स्वभाव छ । भागी–भागी दोहोरी साँझमा उनले गीत पनि गाइन् । त्यो कुरा अझै पनि श्रीमान्लाई थाहा छैन । अहिले पनि कसैको विवाह वा अन्य कार्यक्रम हुँदा गीत गाउन जान्छिन् ।

उदाहरणीय शोभा

शोभालाई छरछिमेकका उदाहरणीय व्यक्तिका रुपमा लिनेहरु प्रशस्त छन् । कतिले महान नारी भन्छन् । उनको संघर्षको तारिफ गर्ने थपिदै गएका छन् । उनी ‘कान्छी’ सिरियल नछुटाइकन हेर्छिन् । टेलिभिजन र युट्युबमा प्रशारण हुने यस सिरियलको कथाले उनको मन छुन्छ । गाउँघरमा हुने घटना, नारीका दुःख यस सिरियलमा देखाइन्छ ।

माइती बस्दा भोगेको दुःख, गाउँमा बस्दाको पीडा त्यो सिरियलमा देखाइन्छ । त्यो कथावस्तुले उनलाई निकै मन पर्छ । यस सिरियलकी कलाकार आशा खड्का उनकी प्रिय कलाकार हुन् । कुराकानी भएर फर्किसकेपछि केही दिनमा उनले फोनमा सुनाएकी थिइन्, ‘भाइ, ती कलाकारलाई भेटाइदिनुस् न है ।’

अहिले पनि शोभालाई आफ्ना बिगतका दिन सम्झेर गर्व लाग्छ । फेरि आफ्ना सन्तान र श्रीमान्तिर फर्किन्छिन्, कता–कता उनलाई भित्रैदेखि खुसी लाग्छ । एकदिन उनलाई लाग्छ, मेरा पनि दिन फर्किने छन् । त्यही आशा र विश्वासले उनका पाइलाहरु कहिल्यै रोकिदैनन् । चलिरहन्छन्, अविराम, अविरल र अनन्त ।

प्रतिक्रिया