शुक्रबार, फागुन २९, २०८२

व्यास नपाद्वारा भूमिहीनलाई निस्सा वितरण

मेरोन्यूज २०७९ असार २८ गते ६:५१

तनहुँ । तनहुँको व्यास नगरपालिकाले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण गर्न सुरुआत गरेको छ । नगरपालिकाले व्यास नगरपालिका–१ बाट सोमबारदेखि निस्सा वितरण थालनी गरेको हो । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने प्रक्रिया स्वरुप निस्सा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence


नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीले लालपूर्जाको निस्सा वितरण गरे । व्यास –१ का ४४ भूमिहीन दलित, ४५ भूमिहीन सुकम्बासी र तीन सय ६७ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको नगरपालिकाका इञ्जिनियर रवीन्द्रलाल मूलले जानकारी दिए । निस्सा लिन नआएकाहरुलाई सम्बन्धित वडा कार्यालयमार्फत् वितरण गरिने उनले बताए ।


भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि दावी विरोध स्वरुप एक हप्ताको र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना जारी गरिने मूलले बताए । नगरपालिकाका १४ वटै वडामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी करिब दश हजार जना रहेको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भूमिहिनलाई व्यवस्थित गर्नका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए ।

जिल्लाका अन्य स्थानीय तहहरुले भूमिहीनलाई लालपूर्जाको निस्सा वितरण सुरु गरेका छन् । केही दिन अगाडी मात्रै आँबुखैरेनी र देवघाट गाउँपालिकाले पनि लालपूर्जाको निस्सा वितरण गरेका छन् । आँबुखैरेनी गाउँपालिकाले वडा नम्बर १ र २ तथा देवघाट गाउँपालिकाले वडा नम्बर ५ मा निस्सा वितरण गरेको छ ।

विसं २०७७ चैत २२ गते र विसं २०७८ फागुन २६ गते लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्दा निवेदन दर्ता भएका व्यक्तिहरुलाई नाप नक्साको निस्सा वितरण गरिएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । वडा नम्बर १ का ९५ र वडा नम्बर २ का ९९ जनालाई निस्सा बाँडिएको छ । गाउँपालिकाले ६ वटै वडाका आठ सय ८३ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्नेछ । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडी बढ्ने भएकाले भूमिहीनले लालपूर्जा पाउने अध्यक्ष चुमानले बताए ।


देवघाट गाउँपालिकाले वडा नम्बर ५ का ७५ जनालाई निस्सा वितरण गरेको छ । पटक-पटक बनेको भूमि आयोगले लालपूर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपूर्जा पाउन सकेका छैनन् ।

यसअगाडी शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले पनि निस्सा वितरण गरेका छन् । शुक्लागण्डकीले पहिलो चरणमा दुई सय ४७ जनालाई निस्सा वितरण गरिएको छ । नगरपालिकाका १२ वटै वडाबाट चार हजार चार सय तीन भूमिहीनको निवेदन सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिकाले ६ वटै वडाका तीन सय २५ जनालाई निस्सा वितरण गरिसकेको छ ।

प्रतिक्रिया