शुक्रबार, फागुन १, २०८२

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : मन्त्री भुसाल

मेरोन्यूज २०७९ साउन ८ गते १०:४९

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकास निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेकी छन् । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उनले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताएकी हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

‘विकास निर्माणकार्यमा एउटै मनले समन्वकारी भूमिका निर्वाह गर्नु पर्छ, निर्वाचनका बेला विभिन्न दलका नाममा मत मागे पनि विकासका काममा हामी एक मत छौँ, हुनुपर्छ, सधैँ जनताको काममा एकताबद्ध भएर लाग्छौँ,’ उनले सार्वजनिक जग्गा सदुपयोग गरेर निर्माण गरिएको पार्कले स्थानीयवासीको जीवनशैली विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

उनले ठेचोवासीको सुविधाका लागि निर्माण भएको पार्कको उचित संरक्षण र संवद्र्धन गरेर उपयोग गर्नु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘यो पार्कको उचित संरक्षण र उपभोग गर्ने जिम्मा स्थानीयवासीको हो ।’ करिब ७५ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको पार्कमा शारीरिक व्यायामका लागि आवश्यक पर्ने पूर्वाधार विकास गरिएको छ ।

उक्त अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जनले शारीरिक अभ्यास र बालबालिकाका लागि उपयुक्त हुने गरी पार्क निर्माण गरिएको जानकारी दिए । उनले पार्कलाई २४ सै घण्टा प्रयोग गर्न सकिने गरी सिसीटिभी र बिजुली बत्तीको उपयुक्त व्यवस्था गरिने बताए । कार्यक्रममा वडा नं १२ का वडाध्यक्ष जगतबहादुर महर्जनले वडाको विकासमा संघ र प्रदेशबाट भर पर्दो सहयोग प्राप्त भएको बताए ।

प्रतिक्रिया