आइतबार, माघ ४, २०८२

एसईईका विद्यार्थीलाई नेपाल टेलिकमको निःशुल्क सिमसहित अफर

मेरोन्यूज २०७९ साउन १२ गते ११:२७

काठमाडौँ । नेपाल टेलिकमले एसईईका विद्यार्थीलाई मध्यनजर गर्दै एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ । उक्त सिम टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै टेलिकमको सिम भए सोही सिममा यी अफर उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्ने छ । सिम लिइसकेपछि विद्यार्थीको रजिष्ट्रेसन प्याक प्राप्त गर्न सक्ने छन् । यसका लागि नयाँ मोबाइल नम्बरबाट *१६००# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नु पर्दछ ।

उक्त विद्यार्थी रजिष्ट्रेसन प्याकबाट टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यसअनुसार ३० दिनसम्म तीन हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ ।

यो अफर भएको नयाँ सिममा बोनस अन रिजार्ज प्याकसमेत उपलब्ध गराइएको छ । यस प्याकमा ५० वा सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन ब्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्ने छन् । योबाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएससहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ ।

प्रतिक्रिया