टानका महासचिव उम्मेदवार भन्छन् : कोरोनाबाट थला परेका पर्यटन व्यवसायीलाई सहुलियत हुन्छ

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचन हुँदै छ । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र समूहले उम्मेदवारी दर्ता गराएको छ ।
टानको अध्यक्ष पदमा रामप्रसाद सापकोटा (कमल सापकोटा)को प्यानलबाट महासचिव पदमा उम्मेदवारी नरध्वज तामाङ (क्षितिज)ले उम्मेदवारी दिएका छन् । काभ्रेका तामाङ डेढ दशकदेखि पर्यटन क्षेत्रमा आबद्ध छन् । तामाङ नेकपा एमाले जिल्ला कमिटी काभ्रेका सदस्य र एमाले क्षेत्र नम्बर १ काभ्रे (क) सहसंयोजक पनि हुन् । तामाङ रिमठिम पर्यटन सञ्जाल, सचिव रहेका उनी पर्यटनसँग सम्बन्धित विभिन्न अभियानमा सक्रिय भूमिकामा क्रियाशिल छन् । उनीसँग मेरो न्यूजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
तपाईंको उम्मेदवारी भोटको राजनीति गर्न मात्र हो वा टानमा व्यवसायिक संस्कार स्थापना गर्नका लागि पनि हो ?
हाम्रो उम्मेदवारी केवल भोटका लागि मात्र होइन । व्यवसायिक संस्कार बनाउनका लागि हो । त्यसैका लागि समयानुकूल प्रभावकारी एजेण्डा लिएर हामी आएका छौँ । अहिलेसम्म देखिएका समस्यालाई समाधान गर्न र आगामी बाटो सकारात्मक ढंगले तय गर्नका लागि हाम्रो टिम पूर्ण रुपमा प्रतिबद्ध छ ।
साना तथा नयाँ व्यवसायीलाई प्रोत्साहन गर्ने योजनाहरू के-के छन् ? कोभिड महामारीपछि थला परेको पर्यटन बजारलाई उकास्नका लागि तपाईंहरूसँग के-के योजना छन् ?
कोभिड १९ को महामारीपछि एकदमै ठूलो संकट ब्योहोर्नु पर्यो । हाम्रो सरकारी स्तरबाट र पर्यटनसँग सम्बन्धित संस्थाबाट सके जति कोशिस नभएको हो कि जस्तो लागेको छ । यी सबै कुरालाई मध्यनजर गर्दै हाम्रो टिमले साना व्यवसायीलाई प्रोत्साहन गर्नका लागि केही कार्यक्रम ल्याएको छ ।
जसमा सहुलियत ऋणका लागि सहजीकरण गरिदिने, पेशागत शसक्तिकरणका लागि विभिन्न किसिमका तालिम सञ्चालन गर्ने । युवा र शिक्षित पुस्तालाई पर्यटन पेशामा आकर्षित बनाउनका लागि विभिन्न प्याकेजहरू ल्याउने योजनामा छौँ ।
युवा र अग्रज व्यवसायीबीच जोड्ने पुलका रुपमा कसरी कार्य सम्पादन गर्नु हुन्छ ?
अहिलेसम्म टानले खेलेको राम्रो, नराम्रो भूमिका आफ्नो ठाउँमा छ । त्यसका लागि संस्थाप्रति हाम्रो उच्च सम्मान छ । र, मलाई लाग्छ यति कामले मात्र पुग्दैन । सबै सदस्यलाई अपनत्व दिनका लागि थप केही महत्वपूर्ण कामहरू गर्न जरुरी छ । जस्तै वर्षको एउटा मात्र किन नहोस् पुराना र अनुभवी पुस्ताका सदस्य भेला गरेर अन्तक्रिया कार्यक्रम आयोजना गर्ने योजना रहेको छ । यसबाट पुरानाको अनुभव र नयाँ पुस्ताको जोश, जाँगर र दृष्टिकोण जोडेर टानको गरिमालाई अझ उचाईमा पुर्याउन सकिन्छ भन्ने लाग्छ ।
बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य कसरी गर्ने सोच्नु भएको छ ?
हाल बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गर्नका लागि टानका सदस्यहरूलाई विभिन्न कार्यक्रममा बढीभन्दा बढी सहभागिता जनाउने वातावरण बनाउने छौँ । र, अस्वस्थ प्रतिस्पर्धाबाट समग्र पर्यटन उद्योगलाई पुग्ने असर र राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पर्ने प्रभावबारे सम्पूर्ण सदस्यहरूलाई बुझाउने कोशिस गर्ने छौँ ।
पर्यटन क्षेत्रका श्रमिकहरूका समस्याहरूलाई कसरी सम्बोधन गर्नु हुन्छ ?
टान र व्यवसायीसँग जोडिएका कुरा मात्र छैनन् । यस मामिलामा सबै खाले स्टकहोल्डरहरू चुकेका छन् भन्ने लाग्छ । मेरो विचारमा नेपाल सरकारले पर्यटन क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण र हामी पर्यटन पेशामा आबद्ध व्यवसायीहरूले हेर्ने र बुझ्ने दृष्टिकोणमै धेरै अन्तर छ जस्तो लाग्छ । यसको ज्वलन्त उदाहरणका रुपमा पटक पटक धेरै नै असान्दर्भिक विषयमा पर्यटन क्षेत्रका महत्वपूर्ण संस्थाहरूसँग घनिभूत सल्लाह नगरिकन प्रदेश सरकार, संघीय सरकारले विभिन्न दूरगामी असर पार्ने निर्णयहरू गरेबाटै प्रष्ट हुन्छ ।
र, अर्को महत्वपूर्ण कुरा टानका सदस्य कम्पनीहरूले पनि न्यूनतम मापदण्डलाई हार्दिकतापूर्वक स्वीकारेर कामदारलाई सेवा सुविधा दिनु पर्छ । यदि, दिएन भने नेतृत्वदायी संस्थाका रुपले टानबाट पहल गर्ने छौँ ।
समावेशिकरणको मुलभूत मान्यतालाई स्थापित गर्ने एजेण्डा बोक्नु भएको छ । यसलाई तपाईंहरू कसरी कार्यान्वयन गर्नु हुन्छ ?
अवश्य नै अहिलेको कार्य समिति आफैमा समावेशी छ । यसमा हामीले भूगोल, जाति, लिंगलगायत सबै पक्षलाई समेट्ने कोशिस गरेका छौँ । मलाई लाग्छ, समावेशीकरणको सुरुवात हामीले यो कार्य समितिको घोषणा गरेबाटै सुरु भइसकेको छ । र, निर्वाचनपछि समितिलाई पूर्णता दिने हामीले गर्ने काममा पनि समावेशीकरणको एजेण्डालाई कतै न कतै सम्बोधन हुने गरी काम गर्ने हाम्रो टिमको योजना छ ।
नेपालमा अहिलेसम्म विश्व विद्यालयले पर्यटन बजारलाई लक्षित गरेर पढाई सुरु गरेको पाइँदैन । नेपालको पर्यटन बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नका लागि के कस्तो पहल गर्नु हुने छ ?
हाम्रो अहिलेको पर्यटन उद्योगलाई कुनै पनि विश्व विद्यालयले जोडेको पाइँदैन । नेपालको बजार, माग, अवस्थाबारे कतै पनि अध्ययन, अध्यापन हुँदैन । यसबारे कसैको चासो पनि देखिदैन । यस कुरालाई गम्भिरतापूर्वक लिएको पनि देखिन्न । जे भइरहेको छ, त्यो राम्रो भइरहेको छैन ।
हामीले पर्यटन उद्योगलाई विश्व विद्यालयसँग जोड्ने छौँ । पर्यटन क्षेत्रमा ठूलो म्यानपावरको खाँचो छ । त्यसको पूर्ति हुन सकेको छैन । विश्व विद्यालयमा अध्ययन भएको भए, मागअनुसारको जनशक्ति तयार हुन्थ्यो । ट्रेकिङ र विश्व विद्यालयको कक्षालाई कसरी जोड्न सकिन्छ । पुलको रुपमा काम गर्ने हाम्रो भूमिका हुनेछ ।
यसभन्दा अगाडिका कार्य समितिको भन्दा कसरी फरक र उत्कृष्ट काम गर्नु हुन्छ ?
धेरैजसो कुराहरुमाथि नै भनिसकेको छु । र, अन्त्यमा टानको सचिवालय अहिलेको भन्दा व्यवस्थित र परिमार्जित रुपमा कार्य सम्पादन गर्ने छौँ । यसका लागि हामीसँग स्रोत, साधन र जनशक्तिलाई अधिकतम प्रयोग गर्ने र उनीहरुलाई समयानुकूल शसक्तिकरणका कार्यक्रमहरु पनि सञ्चालन गर्ने छौँ ।
यसो भएमा भोलि आउने शिक्षित पुस्ताले पर्यटन क्षेत्रलाई गर्वका साथ स्वीकार्ने र अझ प्रभावकारी ढंगले यो पेशालाई अगाडि बढाउन सक्षम हुनेछ भन्ने विश्वास छ ।













जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
प्रतिक्रिया