आइतबार, माघ ११, २०८२

दार्चुलामा आएको बाढीपहिरोमा पाँच जनाको शव भेटियो

मेरोन्यूज २०७९ भदौ २५ गते १०:४६

काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक जगत मगरका अनुसार अनुसार दुईवटा स्कुलसहित १५ वटा घरमा क्षति पुगेको छ ।

अहिलेसम्म पाँच जनाको शव फेला परेको छ भने अझै तीनजना बेपत्ता छन् । प्रहरी निरक्षक मगरका अनुसार ज्यान गुमाउनेमा तीन जना महिला र दुईजना पुरुष छन् । जिल्‍लाको नौगाड गाउँपालिका २ सल्लामा अन्दाजी ३० वर्षीया जानुका ठगुन्ना र अन्दाजी १५ वर्षीया धनुली ठगुन्नाको शव भेटिएको छ । उनीहरूको शव पहिरोले घर पुरेपछि भेटिएको हो । उनीहरूको नाताबारे खुलेको छैन ।

नौगाड गाउँपालिका २ का वडाध्यक्ष नारायण सिह ठगुन्नाका अनुसार उक्त वडामा ६८ वर्षीय मोहनराम पार्कीको चट्याङ् लागेर निधन भएको हो । चट्याङ्ले उनको घरमा पूर्ण क्षति भएको छ भने शव पनि भेटिएको छ । प्रहरी भने उनको पहिरोको कारण निधन भएको जनाएको छ । त्यस्तै महाकाली नगरपालिका २ बस्ने बर्ष ७७ को नन्दराम बोहरा, सोही नगरको वडा नम्बर १ मा अन्दाजी ३५-४० की मानमती कार्कीको शव फेला परेको छ ।

शुक्रबार रातिदेखि परेको अविरल बर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुलसमेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

प्रतिक्रिया