सोमबार, माघ १२, २०८२

धर्मपुत्रीलाई बलात्कार गर्ने आरोपित महत पुर्पक्षका लागि जेल चलान

मेरोन्यूज २०७९ भदौ २९ गते २१:०८

काठमाडौँ । जुम्लामा धर्मपुत्रीको रूपमा राखिएकी बालिकामाथि बलात्कारको आरोप लागेका प्रेमराजा भनिने प्रेमजंग महत पुर्पक्षका लागि कारागार चलान भएका छन् । मिलापत्र गराउने कार्यमा संलग्न रहेको अभियोग लागेका पाँच जना भने धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत जुम्लाले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । घटनाको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले महतलाई २० वर्षको कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

दायर मुद्दामाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले महतलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । आदेशमा घटनाको मिलापत्र गराउने कार्यमा संलग्न रहेकालाई भने धरौटी माग गरिएको छ ।

त्यस्तै, मुलुकी अपराधसंहितामा १० देखि १४ वर्षकी नवबालिकामाथि जबरजस्ती करणी गरे १८ देखि २० वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । सोही माग दाबीसहित परेको मुद्दामा महतलाई कारागार चलाउने आदेश भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार सरोजराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार जबरजस्ती करणीको घटना मिलाएको अभियोगमा पक्राउ परेका पाँच अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । उक्त कार्यमा संलग्न चन्दननाथ नगरपालिका ५ कालीबहादुर भण्डारी र चन्दननाथ–४ की उर्मिला महत जनही दुई लाख पचास हजार धरौटीमा छुटेका छन् ।

चन्दननाथ–४ का नवराज भारती र तातोपानी गाउँपालिका–८ शर्मिला महत जनही २ लाख धरौटी तिरेर छुटेका छन् । तातोपानी गाउँपालिका ८ की ईश्वरी आरसी एक लाख धरौटीमा छुटेकी छन् ।

धरौटीमा छुटेका कालीबहादुर भण्डारी चन्दनाथ नगरपालिका ५ का वडा सदस्य हुन् । उर्मिलाकुमारी महत शिक्षिका हुन् । उनी स्थानीय एक विद्यालयको आधारभूत तहका विद्यार्थीलाई पढाउने गर्छिन् ।

मिलापत्र गराउने कार्यमा संलग्न तीन जना अझै फरार रहेको र उनीहरूको नाममा पक्राउ पुर्जी जारी गरिएको रेग्मीले बताए । मिलापत्र गराउने कार्यमा संलग्न अधिवक्ता दिलबहादुर महत, महेन्द्र महत र जीवन महत फरार रहेको छन् ।

जाजरकोट स्थायी घर भएर आमासँग जुम्ला सदरमुकाम खलंगा आएकी साढे १० वर्षकी नवबालिकामाथि महतले पटक पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ । नाबालिगकालाई महतले छोरीका रूपमा घरमा राखेर पढाइदिने आश्वासन दिएर आफ्नो घरमा राखेका थिए ।

जबरजस्ती करणी गरेको घटना बाहिर आएपछि ७ लाख रुपैयाँको लेनदेनमा घटना मिलापत्रको प्रयास भएको थियो । अधिवक्ता दिलबहादुरसहित आठ जनाको रोहवरमा ७ लाखमा रुपैयाँमा घटना मिलापत्र गराइएको थियो ।

प्रतिक्रिया