बिहीबार, चैत २६, २०८२

जलवायु क्यानभासः कलाको माध्यमबाट हरित र दिगो भविष्यको माग गर्दै बालबालिका

मेरोन्यूज २०७९ असोज २९ गते १७:२६

काठमाडौँ । सेभ द चिल्ड्रेनले आयोजना गरेको एक कार्यक्रममा ३०० भन्दा बढी बालबालिकाले ३० फिट लामो ुजलवायुु क्यानभासमा आफ्नो भविष्य दर्साउने विभिन्न खाले चित्र कोर्दै वयस्कहरूलाई आफ्ना कुरा सुन्न र बालबालिकाको सुरक्षित र दिगो भविष्यका लागि कार्य गर्न आह्वान गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

सेभ द चिल्ड्रेनले राष्ट्रव्यापी रूपमा ७,००० भन्दा बढी बालबालिकासँग गरेको बाल सुनुवाइमा बालबालिकाले व्यक्त गरेका आशा र दृष्टिकोणको प्रतिनिधित्व क्यानभासले गरेको थियो, जसमा बालबालिकाले जलवायु मैत्री पहलहरू जस्तै कम प्रयोग, पुनः प्रयोग र रिसाईकल, इकोफ्रेन्डली समाधानहरू मार्फत कार्बन उत्सर्जन घटाउने र प्रकृति संरक्षण गर्ने सम्बन्धी बताएका थिए।

कार्यक्रममा सेभ द चिल्ड्रेनले जलवायु परिवर्तन सम्बन्धी बालबालिकाका आवाज र विचारलाई बढावा दिने उद्देश्य राखेको थियो भने उपस्थित बालबालिकाले जलवायु परिवर्तनको असर कम गर्न र बालबालिकाको लागि दिगो र सुरक्षित भविष्य निर्माण गर्न अभिभावक, राजनीतिक नेताहरू तथा निर्णयकर्ताहरूलाई आफ्नो आफ्नो स्तरबाट कार्य गर्न आग्रह गरेका थिए। ‘अब विशेष गरेर निर्णयकर्ता तथा पहुँचमा रहेका सबै व्यक्तिहरूले बालबालिकाको कुरा सुन्ने, उनीहरूका विचार र योजनाबाट प्रोत्साहित भएर कार्य गर्ने बेला हो। यो जलवायु परिवर्तनसँगको लडाईंमा हामी उहाँहरूलाई बालबालिकासँगै अगाडी बढ्न र बालबालिकाका योजनालाई समर्थन गर्न आग्रह गर्छौं,’ कार्यक्रममा सहभागि १३ वर्षीय स्वाभिमान भन्छन् ।

‘जलवायु परिवर्तन वास्तविक हो र पहिले नै बाँच्नको लागि दैनिक रूपमा संघर्ष गरिरहेका बालबालिका र परिवारहरू यो बाट धेरै प्रभावित भएका छन्। उनीहरू बारम्बार आउने बाढी, खडेरी, जंगलमा डढेलो र अन्य जलवायु खतराहरूबाट सबैभन्दा बढी जोखिममा छन्। त्यसैले अब हामीले काम गर्ने बेला आएको छ,’ सेभ द चिल्ड्रेन नेपालकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले बताए ।

‘सेभ द चिल्ड्रेनका रुपमा हामीले जुन कदम चालिरहेका छौं, त्यो बालबालिकाको आवाजमा आधारित छ । जलवायु परिवर्तनसँग जुध्न देशहरूले बालबालिका तथा युवाहरूको कुरा सुन्नुपर्छ र युवाहरूको आवाजको कदर गर्नुपर्छ’ भनी बालबालिका स्वयंले हामीलाई विभिन्न सर्वेक्षण र परामर्शहरूमा बताएका थिए। बालबालिका र युवाहरू काम गर्न तयार छन् । हामीले उनीहरूलाई सूचना, स्थान र अवसर दिएर सहयोग गर्नुपर्छ,’ उनले थपे ।

१ हजार भन्दा बढि मानिसहरूले कार्यक्रममा सहभागि भएर अवलोकन गरेको जलवायु क्यानभासमा हामी सबैले मिलेर कार्य गरे निष्पक्ष, हरित र दिगो संसार सम्भव छ भन्ने देखिएको थियो । पाटन दरबार क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बालबालिकाले आफ्नो भविष्यको कल्पना गर्दै रङ्गरोगन गरेको क्यानभासलाई लोकप्रिय सांगीतिक ब्याण्ड कुटुम्बले साँझ सार्वजनिक गरेको थियो । क्यानभास सार्वजनिक गरेपछि कुटुम्बले बालबालिका र कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आफ्ना केही लोकप्रिय संगीतहरु प्रस्तुत गरेको थियो ।

आज बालबालिकाले रंगाएको क्यानभास ३० अक्टोबरमा जाकार्तामा आयोजित जी २० मा प्रदर्शन हुने गरी इन्डोनेसिया पठाइनेछ जहाँ नेपाल लगायत विश्वका अन्य धेरै देशका बालबालिकाले बनाएको क्यानभासहरू एकै चोटि प्रदर्शन गरिने छन्। सेभ द चिल्ड्रेनले नेपालमा र विश्वभरी नै जलवायु परिवर्तनसम्बन्धी विभिन्न अभियानहरू सञ्चालन गर्दै आईरहेको छ जसको नेतृत्व बालबालिका र युवाहरूले गरिरहेका छन्। जलवायु क्यानभास कार्यक्रम जेनेरेसन होप नामक अभियान अन्तर्गत आयोजना गरिएको थियो ।

जी २० को बारेमाः
जी–२० एक अन्तरसरकारी मञ्च हो जसमा युरोपेली संघ (ईयू) लगायत अन्य १९ देश रहेका छन् । यसले अन्तर्राष्ट्रिय वित्तीय स्थिरता, जलवायु परिवर्तन न्यूनीकरण र दिगो विकास जस्ता विश्व अर्थतन्त्रसँग सम्बन्धित प्रमुख मुद्दाहरूलाई सम्बोधन गर्न काम गर्दछ।

सेभ द चिल्ड्रेनका बारेमाः
सेभ द चिल्ड्रेन प्रत्येक बालबालिकाको सुन्दर भविष्यमा विश्वास गर्छ । हरेक दिन हामी नेपाल र संसारभरका बालबालिकालाई जीवनको स्वस्थ्य सुरुवात गर्न, सिक्न र हिंसाबाट सुरक्षित राख्न काम गर्छौँ । हामी हरेक दिन र हरेक विपद्को समयमा बालबालिकाको आवश्यकताका लागि काम गर्छौँ —ताकी उनीहरूको जीवन र भविष्यमा सुन्दर परिवर्तन आओस् ।

जेनेरेसन होपको बारेमाः
#GenerationHope सेभ द चिल्ड्रेनले बालबालिकाकासँग मिलेर संचालन गरिरहेको विश्वव्यापी अभियान हो, जसले जलवायु परिवर्तन र असमानतासँग जुध्न तत्काल कदम चाल्न आह्वान गर्दछ। हाम्रो संसार एउटा दोबाटोमा छ, र यो समय हो कि हामी बालबालिकाको नेतृत्व पछ्याउँछौं। उनीहरूको अधिकारलाई पहिलो प्राथमिकतामा राखेर, हामी जलवायु परिवर्तनको सामना गर्नेछौं र संसारभरीका बालबालिकाको उज्ज्वल भविष्यमा लगानी गर्नेछौं। अब हामीलाई राजनीतिक इच्छाशक्तिको खाँचो छ ।

प्रतिक्रिया