बुधबार, चैत ४, २०८२

राष्ट्र बैंकले भन्यो- बजार महंगी ८.६४ प्रतिशत (प्रतिवेदनसहित)

मेरोन्यूज २०७९ कार्तिक ४ गते १३:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार महंगी करिब ९ प्रतिशत पुगेको बताएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को भदौ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको बैंकले उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत कायम रहेको जनाएको हो ।
मुद्रास्फीति अघिल्लो वर्षको सोही महिनामा ३.४९ प्रतिशत मात्र रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

दसैं तिहारजस्ता ठूला चाडपर्व अघिकै महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.०२ प्रतिशत रहेको बैंकले जनाएको छ ।
२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको बैंकले जनाएको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, स्वास्थ्य, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरुको मूल्य केही बढेको बैंकले जनाएको छ । तर यता बजारमा भने यस्तो उपभोग्य वस्तुको मूल्य २० प्रतिशत माथिले बढिसकेको उपभोक्ताहरूको गुनासो छ ।

आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई रु.२८ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रतिक्रिया