संघीय निर्वाचन-२०७९
माओवादीलाई उछिनेर तेस्रो दल बन्ने रविको पार्टीको अनुमान

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनावमा देशकै तेस्रो ठूलो दल बन्ने महात्वाकांक्षी आकलन गरेको छ । कांग्रेस, एमालेपछि आफ्नो दल तेस्रो बन्ने गरी निर्वाचनमा सम्पूर्ण तयारीका साथ होमिएको उक्त पार्टीको जिकिर छ ।
उसले ०७० को दोस्रो संविधानसभा यता तेस्रो दलको हैसियतमा रहेको माओवादीलाई पछाडि पार्ने लक्ष्य राखेको बताएको छ । गत असार ७ गते पार्टी दर्तापछिको छोटो अवधिमै मूलधारका राजनीतिक दलप्रति मानिसहरूमा बढेको असन्तुष्टिको फाइदा आफ्नो पार्टीलाई पुगिरहेको र त्यहीअनुसार चुनावी परिणामको अपेक्षा पार्टीले गरिरहेको उक्त पार्टीका नेताहरूको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले आफ्नो पार्टी समानुपातिकतर्फ सबैभन्दा ठूलो दल बन्दै समग्रमा तेस्रो शक्ति बन्ने बताउँछन् । ‘हामी प्रत्यक्षतर्फ घटीमा १५ र समानुपातिकतर्फ २५ देखि ३० सिट ल्याएर समग्रमा तेस्रो शक्ति बन्छौँ, अहिलेसम्मको चुनावी माहोलले त्यो चित्र देखाइरहेको छ,’ उनले भने ।
प्रतिनिधिसभातर्फ यो पार्टीले देशका १३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । उक्त पार्टीले पार्टी सभापति रवि लामिछानेको चितवन २ मा जित घोषणा गर्न मात्रै बाँकी रहेको र चितवन १, काठमाडौं १, २, ६, ८ ललितपुर ३ लगायतका निर्वाचन क्षेत्रमा पार्टीले चुनाव जित्ने आकलन गरेको छ । नागरिकता विवादमा परेर निर्वाचन आयोगले स्पष्टीकरण सोधे पनि रविको चितवनमा कुनै प्रतिस्पर्धी नरहेको पार्टीका नेताहरूको भनाइ छ ।
काठमाडौं १ मा सामाजिक अभियान र राजनीतिमा लामो समयदेखि सक्रिय पुकार बम, काठमाडौं २ मा सोविता गौतम, काठमाडौं ६ मा शिशिर खनाल, काठमाडौं ५ मा द्वन्द्व व्यवस्थापन विज्ञ प्रणयशमशेर राणा, काठमाडौं ८ मा विराजभक्त महर्जन, ललितपुर ३ मा डा. तोसिमा कार्कीले चुनाव जित्ने उक्त पार्टीको दाबी छ ।
त्यस्तै, चितवन १ का हरि ढकाल, मकवानपुर १ का सुरेश थापा र २ का भरत पराजुली, नुवाकोट २ का सुमन पाण्डेलगायतले चुनाव जित्ने पार्टीको जिकिर छ ।
समानुपातिकतर्फ भने नसोचिएको जसरी पार्टीलाई मत आउने उक्त पार्टीका नेताहरुको तर्क छ । ‘हामी समानुपातिकतर्फ पहिलो दल नै बन्छौँ, नसोचिएको परिणाम हामीले समानुपातिकबाटै देखाउँछौँ,’ प्रवक्ता डा. ढकालले भने, ‘राष्ट्रिय पार्टी बन्नलाई अब हामीलाई समस्यै रहेन, हामी समग्रमा तेस्रो दल बन्ने छौँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न क्षेत्रका परिचित अनुहारहरूको आकर्षण देखिए पनि यो पार्टी अहिलेसम्म चुनावमा टेष्टेड नभएकाले यसले दाबी गरे जति नतिजा ल्याउँछ/ल्याउँदैन त्यसका लागि चुनावी परिणाम कुर्नु पर्ने छ ।
















अनेरास्ववियुद्वारा भृकुटीमण्डप क्षेत्रमा टायर बालेर सडक अवरुद्ध
मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब
इरान र हिजबुल्लाहद्वारा उत्तरी इजरायलमा ‘एकैसाथ’ आक्रमण
रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र
Chinese Foreign Minister Congratulates Foreign Minister Khanal, Vows Stronger Bilateral Ties
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया