बिहीबार, चैत ५, २०८२

एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच लगानी सम्झौतामा हस्ताक्षर

मेरोन्यूज २०७९ मंसिर १२ गते १७:३०

काठमाडौँ । नेपालको अग्रणी लगानी बैंक एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयरअन्तर्गतको कम्पनी एचएमडिएलबीच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरेका हुन् ।

भारतको सबैभन्दा ठूलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेण्ट्स, फार्मास्युटिकल ड्रग्स एवम औषधीलगायतका सामान विकास गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी बन्न पुगेको छ ।

कोभिड १९ महामारीको समयमै सन् २०२१ मा स्थापना भएको एचएमडिएलले उक्त समयमा टाटा मेडिकल एण्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पिसिआर किट्स आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । त्यो समयमा एचएमडिएलले ल्याएका सम्पूर्ण पिसिआर किट्स र रिएजेन्ट्स यति धेरै बिक्री भयो कि यसले नै पूरै बजार कब्जा गरेर आफ्नै एउटा ब्राण्ड बनाउन सफल भएको थियो ।

यसको साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान पनि ल्याएको छ ।

कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरू स्थापना गरी विभिन्न उत्पादन र सुविधाहरू प्रदान गर्ने योजना बनाएको छ । साथै सर्वसाधारणलाई सुलभ मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने विशाल उद्देश्यको साथ कम्पनीले नेपालभरि सम्पूर्ण सुविधा सम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरू स्थापना गरेर सञ्चालन गर्ने जनाएको छ ।

एचएमडिएलले स्वास्थ्य सेवामा नवीनतम र फ्युचरिस्टिक प्रविधीहरू समायोजन गर्ने लक्ष्य राखेको छ । त्यस्तै यसले सर्वसाधारणलाई एकीकृत र सुपथ मूल्यमा सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल र अन्य डायग्नोस्टिक ल्याबहरूसँग मिलेर पनि काम गरिरहेको छ ।

प्रतिक्रिया