बिहीबार, चैत ५, २०८२

आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक : राष्ट्रपति भण्डारी

मेरोन्यूज २०७९ मंसिर २३ गते १९:४०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाको प्रवर्द्धनमार्फत स्वाधीन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा जोड दिएकी छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल हस्तकला महासंघले आज यहाँ आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेला तथा १७ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै उनले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन प्रवर्द्धन आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाली हस्तकला तुलनात्मक लाभको रूपमा रहनुका साथै नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । उनले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमा उत्पादित सामग्रीको निर्यात प्रवर्द्धन गर्न सकेमात्र मुलुकको चुलिँदो व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गरेकी थिइन् ।

मेलाले उत्पादन र उपभोक्तालाई आपसमा जोड्नुका साथै नेपाली मौलिक हस्तकलाको प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गर्दै उनले देशको सामुदायिक एवं सांस्कृतिक विविधतालाई समेटी नेपाली हस्तकलाका सामग्रीलाई व्यापक विस्तार गरिनु पर्नेमा जोड दिइन् ।

हस्तकलाका सामग्रीसहित स्वदेशी उत्पादन प्रोत्साहनका लागि सरकारले विशेष प्राथमिकता दिएको भन्दै राष्ट्रपति भण्डारीले यसबाट स्वदेशी हस्तकलालगायत उद्योगको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हस्तकलाको निर्यात प्रवर्द्धन गरी बढ्दो व्यापारघाटा न्यूनीकरण गरिनु पर्नेमा जोड दिइन् । उनले नेपाली मौलिक हस्तकलामार्फत पर्यटन प्रवर्द्धनका योजनाबद्ध कार्यक्रम ल्याइनु पर्ने धारणा राखिन् ।

प्रतिक्रिया