बिहीबार, चैत ५, २०८२

अलैँचीको मूल्य घटेसँगै मर्कामा किसान

मेरोन्यूज २०७९ मंसिर २४ गते १५:५२

काठमाडौँ । अलैँचीको मूल्यमा गिरावट आएको छ । एक हप्ताअघि झापाको बिर्तामोडमा प्रतिमन २६ हजारका दरले अलैँचीको कारोबार भएकामा अहिले २४ हजारमा झरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यो वर्षको नयाँ उत्पादन सुरु हुँदा २८ देखि २९ हजारका दरले समेत कारोबार भएको थियो । क्रमशः मूल्य घटेर अहिले २४ हजारमा झरेको अलैँची व्यवसायीले बताएका छन् ।

यो वर्ष अलैँचीको माग न्यून भएकाले पनि मूल्य बढ्न नसकेको अलैँची व्यवसायी नरेन्द्र तिवारीले बताए । पछिल्लो समय अलैँचीको उत्पादनमा वृद्धि भएको तर माग न्यून भएकाले मूल्य नबढेको उनको तर्क छ ।

उनले यस वर्ष झण्डै चार सय मन अलैँची जम्मा गरेका थिए । जसमध्ये आधा जसो २९ हजारका दरले किसानबाट लिइसकेका छन् । बजार र मूल्य नभएपछि सबै अलैँची गोदाममै थन्क्याएर राखेको उनले बताए ।

यता किसानले समेत मूल्य पर्खिएर बसेका छन् । आफूले उत्पादन गरेको अलैँची साहुलाई जिम्मा लगाए पनि मूल्य बढ्ला भनेर भाउ काटेका छैनन् । मूल्य तलमाथि भइरहने भएकाले अन्योल हुने गरेको सिरिजङ्घा ७ खेवाङका किसान राजकुमार भट्टराईले बताए ।

अलैँचीको बजारका लागि भारतकै भर पर्नु पर्ने भएकाले ठूला व्यापारी पनि समस्यामा परेका छन् । गत वर्ष प्रतिमन ४८ हजारका दरले समेत कारोबार भएको थियो । त्यसयता क्रमिक रुपमा मूल्य घट्दै गइरहेको व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया