बिहीबार, फागुन २१, २०८२

पूर्व प्रधानन्याधीशलाई राष्ट्रपति बनाउन संविधान बाधक !

मेरोन्यूज २०७९ पुष १ गते ९:४४


काठमाडौं । निर्वाचनपछिको शक्ति बाँडफाँडमा गठबन्धन दलहरुले राष्ट्रपतिमा गैर राजनीतिक व्यक्तिहरु राष्ट्रपतिमा ल्याउन खोजेपनि संविधान बाधक देखिएको छ । राष्ट्रपतिको चर्चामा आएका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, कल्याण श्रेष्ठ, सुशीला कार्की जस्ता न्यायधीशहरुको नाममा संविधान बाधक देखिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

संविधानको धारा १३२ मा ‘प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने’ स्पष्ट लेखिएको विषयलाई ध्यान नदिई उनीहरुको चर्चा थालिएको छ ।


पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले त गत मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग डेढघण्टा भेटवार्ता नै गरे । सामान्य बधाई मात्रै दिन आफू बालुवाटार गएको रेग्मीले बताउने गरे पनि देउवाले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने गठबन्धनका नेताहरुलाई बताएकै बेला उनको भेटलाई सामान्य शुभकामना आदान प्रदानलाई मात्रै हेरिएको छैन ।


संविधानको धारा १३२ मै हेर्ने हो भने उनीहरुलाई राष्ट्रपतिमा ल्याउन नमिल्ने देखिएपछि अहिले कोर्स राजनीतिक नेताहरुमै फर्किएको छ । संविधानको धारा १३२ को उपधारा (२)मा भनिएको छ, – प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधाधनमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन ।’


त्यसरी अर्को धाराले मानवअधिकार आयोगमा जस्ता निकायमा मात्रै नियुक्त गर्न मिल्ने उल्लेख छ । ‘संविधानमा अन्यथा लेखिएको’ भन्नाले धारा २४८ लाई हेर्नुपर्ने हुन्छ । सो धाराको उपधारा ६ को (क) ले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षको हकमा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशबाट सेवानिवृत्त भइसकेको व्यक्तिलाईसमेत नियुक्तिका लागि योग्य मानेको छ ।


दलका नेताहरुले पूर्वप्रधानन्यायाधीश वा सर्वोच्च अदालतका पूर्वन्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाउन संविधानले नै दिँदैन । संविधानतः पूर्वन्यायाधीशहरुलाई राष्ट्रिय मानवअधिकार आयोगमा बाहेक अन्यत्र कतै पनि नियुक्त गर्नै नमिल्ने अवस्थामा उनीहरुलाई चर्चामा ल्याएर रहर मात्रै जगाइएको हुनसक्ने टिप्पणी गर्न थालिएको छ ।

‘अहिले न्याधीशबाट कोर्स परिवर्तन भैसक्यो, राष्ट्रपति दलहरुले चाहेको व्यक्ति हुनेछन्, कांग्रेस, माओवादी, नेकपा एसबाटै राष्ट्रपतिमा प्रस्ताव गरिनेछ’, गठबन्धन दलका एक नेताले भने । दुई दिन अघि नेकपा एसका अध्यक्ष माधव नेपालले पनि गैर राजनीतिक व्यक्तिबाट राष्ट्रपति बनाउने चर्चा अनावश्यक हल्ला मात्रै भएको बताएका थिए ।

प्रतिक्रिया