शनिबार, चैत ७, २०८२

धान बेच्न किसानलाई कष्ट : नागरिकतादेखि लालपुर्जालसम्म पेस गर्नु पर्ने

मेरोन्यूज २०७९ पुष १३ गते ८:१५

काठमाडौँ । ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहज रूपमा धान बिक्री गर्न पाएका छैनन् ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सीधै किसानको धान खरिद गर्न सुरु गरे पनि किसानले गोदामसम्म पुर्याउन कष्ट व्यहोर्नु परेको छ ।

वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्न थालेको छ । एक हप्ताअघिदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहकारीमार्फत धान खरिद गर्न थालेको हो ।

सहकारीमार्फत बिक्री गर्न परियोजना कार्यालयले तोकेको क्षेत्रभन्दा बाहिरका किसानले बिक्री गर्न पाएका छैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत धान बिक्री गर्ने किसानलाई गोदामसम्म ल्याउँदा बाटोमा सुरक्षाकर्मीले दुःख दिने गरेको उनीहरूको गुनासो छ । खाद्यले धान खरिद गर्न थालेपछि गोदाम परिसरमा धानसहितको ट्र्याक्टरको लाइन लागेको छ ।

सरकारले सोना मन्सुली धानको न्यूनतम समर्थन मूल्य तीन हजार १२८ तथा जिरामसिनो धान तीन हजार २५० खरिद गर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगञ्जका प्रमुख विकास कटुवालले जानकारी दिए ।

उनका अनुसार २५ क्विन्टलसम्म धान बिक्री गर्न आउने किसानले स्थानीय तहको कृषि शाखाले दिने सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा)लगायत कागजात पेस गर्नु पर्ने छ । एउटा किसानको ६० क्विन्टलसम्म मात्रै धान खरिद गर्ने र कार्यालयले खरिद गरेको धानको भुक्तानी आवश्यकतानुसार २५ क्विन्टलसम्म नगद वा चेक तथा सोभन्दा माथि अनिवार्य चेकमार्फत गर्ने प्रमुख कटुवालले बताए ।

धानको समर्थन मूल्य निर्धारण गरेको लामो समयसम्म सरकारले खरिदको व्यवस्था नगर्दा कतिपय किसान सस्तोमै व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए । अहिले सरकारले धान किन्न थालेपछि गोदामसम्म ल्याउनलाई किसानलाई कष्टकर हुने गरेको छ ।

गोदाममा पालो पाउनका लागि राति नै धान लिएर घरबाट आउँदा बाटोमा प्रहरीले जाँच गर्ने बहानामा दुःख दिने गरेको किसानको गुनासो छ । बाटोमा सास्ती खेप्दै गोदामसम्म पुर्याउँदा पनि पालो पाउन सडकमै सुत्नु पर्ने बाध्यता छ ।

पर्सामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोना मन्सुली धान १० हजार मेट्रिक टन तथा जिरामसिनो धान दुई हजार मेट्रिक टन खरिद गर्ने अनुमति पाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले सहकारी संस्थामार्फत धान खरिद गरेको हो ।

पर्सामा दुई सहकारी संस्थाले धान खरिदका लागि अनुमति पाएका छन् । परियोजना कार्यालयका प्रमुख गणेशप्रसाद यादवका अनुसार अटल कृषि सहकारी संस्था महुवन र ग्रामीण समाज विकास सुधार सहकारी संस्था छिपहरमाईले धान खरिदको अनुमति पाएका छन् ।

दुवैले सोमबारसम्म नौ हजार क्विन्टल धान खरिद गरिसकेका छन् । परियोजना कार्यालयले पर्सामा पाँच हजार मेट्रिक टन धान खरिद गर्ने अनुमति प्राप्त गरेको छ ।

प्रतिक्रिया