चिडियाखानामा कुन प्रजातिका कति छन् जीवजन्तु ?

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजन्तु रहेका छन् । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाका रूपमा स्थापना गरेको चिडियाखाना विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
चिडिया खाना घुम्न र त्यहाँ रहेका जीवजन्तु हेर्न मानिसहरु दिनुहँ घुइचो लाग्ने गर्छन् ।
चिडियाखानाको विसं २०५२ देखि व्यवस्थापनको जिम्मा नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको थियो । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे हुन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखिएको छ ।
चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु एक सय ५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ ।
चिडियाखानाले उद्धार गर्नुपर्ने जीवजन्तु घटे
कुनै समय वार्षिक एक हजारभन्दा बढी जीवजन्तुको उद्धार गर्दै आएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पछिल्लो समय यसरी ल्याइने जीवजन्तुको सङ्ख्यामा कमी आएको छ ।
पछिल्लो समय सामुदायिक वन सञ्चालनमा आउँदा जीवजन्तु उक्त स्थानमै बास बस्ने गरेका र मानिसमा जीवजन्तुलाई माया गर्नुपर्छ भन्ने भावना पलाउनु पनि उद्धार गर्ने जनावर घट्नुको कारण रहेको बताइएको छ । विशेषगरी उद्धार गरेर ल्याइनेमा चितुवा, नीर बिरालो, स्याल, बाँदर, कछुवा रहेका छन् । त्यसमा सबैभन्दा बढी चितुवा ल्याउने गरिएको चिडियाखानाका व्यवस्थापन प्रमुख रचना साहले जानकारी दिइन् ।
उनका अनुसार उद्धार गरी ल्याइने अधिकांश जनावरलाई लामो समय स्वास्थ्य उपचार गर्नुपर्छ । उपचारका क्रममा केही मर्छन् । उपचारपछि राम्रो स्वास्थ्य भएकालाई सम्भव भएसम्म बासस्थानमै लगेर छाड्ने गरिएको छ । केहीलाई स्थानको अभाव हुँदाहुँदै पनि यही राखेर व्यवस्थापन गरिँदै आएको प्रमुख साह बताउँछन् ।
यसरी ल्याइने जनावर काठमाडौँ उपत्यकाका विभिन्न स्थान चोभार, चन्द्रागिरि र केही उपत्यका बाहिरबाट पनि ल्याइने गरिएको छ । उनका अनुसार उद्धार गरी ल्याइएका जनावर कोही मानिसलाई आक्रमण गर्न आउँदा मानिसले कुटेर घाइते भएका त कोही रोग लागेर अलपत्र अवस्थामा रहेका हुन्छन् । गत वर्ष चिडियाखानाले सानाठूला गरी करिब छ सय जनावरको उद्धार तथा उपचार गरेको जनाएको छ ।

















प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान
टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
प्रतिक्रिया