शनिबार, चैत २८, २०८२

देशविदेशमा फैलिँदै छ ‘माघी’

मेरोन्यूज २०७९ पुष २६ गते १५:३३


काठमाडौंं । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् ।

काठमाडौँ उपत्यकामा विभिन्न स्थानबाट आएका थारू समुदाय पनि बस्छन् । थारूले मनाउने पर्वले यहाँका अन्य जातजातिलाई पनि आकर्षण गरेको छ । यस पर्वमा क्रममा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी आकर्षित हुँदै गएको पाइन्छ । माघीमा विशेषतः ढिक्री, घोँगी, माछा र गङ्गटा जस्ता परिकार खाने चलन छ ।

यसवर्ष माघी पर्व यही पुस ३० र आगामी माघ १ मा मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताए । सो पर्वका अवसरमा स्थानीय टुँडिखेलमा करिब एक सय कक्ष रहने छन् ।

“पछिल्लो वर्ष कोरोना कहरले गर्दा माघी मनाउन सकेका थिएनौंँ, तर यसवर्ष कोरोना कम भएकाले स्वास्थ्य सतर्कता अपनाउँदै मनाउने छौँ, प्रमुख अथितिका रूपमा प्रधानमन्त्रीलाई बोलाएका छौँ”, उनले थपे, “एउटा कक्षको बुकिङका लागि रु नौ हजार पाँच सय तोकिएको छ जसमा थारूका विभिन्न परिकारका खानेकुरा उपलब्ध हुन्छ । सुरुआतमा मोटरसाइकल ¥याली गरेर टुँडिखेल परिक्रमा गरिने छ ।”

टुँडिखेलमा कार्यक्रम गर्न मगर समुदायसँग आधीआधी भाग प्रयोग गर्ने विषयमा सम्झौता भएको बताइएको छ । मगरहरू माघ १ गते ‘मकर सङ्क्रान्ती’ पर्व मनाउँछन् ।

पहिला काठमाडौंमा थारू समुदायको बसोबास कम थियो । पछिल्लो समय भने तिनको बसोबास बढ्दै गएकाले खुल्ला मञ्च हुँदै टुँडिखेलमा माघी पर्व मनाउन थालिएको माघी महोत्सव मूलआयोजक समितिका पदाधिकारी तथा कीर्तिपुर पाँगास्थित बरघर रेस्टुराँका सञ्चालक सीताराम थारूले बताए । “पहिला थोरै सङ्ख्यामा थारू बसोबास गर्थे तर पछिल्लो समय उनीहरू काठमाडौँका विभिन्न ठाउँमा भित्रिएकाले सबैलाई समेट्न टुँडिखेलमा माघी महोत्सव मनाउन थालेका हौँ”, उनले भने, “पहिला एक महिनासम्म माघी मनाउने गरिन्थ्यो, तर पछिल्लो समय पुस ३० गते र माघको १ गते मात्रै मनाउने गरिएको छ ।”

थारूहरूले सामूहिक खेती गर्न थालेपछि माघी पर्व मनाउन थालेको लेखक तथा पत्रकार कृष्ण सर्वाहारीले बताए । “मङ्सिरसम्म धानबाली भित्र्याइसकिएको हुन्छ । कसले केके गर्ने भन्ने समीक्षा यही महिनामा गरिने भएकाले माघी पर्वका रुपमा अघि बढाइएको हो ।”

तत्कालीन मन्त्री गोपाल दहितका पहलमा विसं २०५९ मा माघी पर्वलाई राष्ट्रिय मान्यतासहित थारूको मुख्य पर्वको मान्यता दिइएको हो । थारु संस्कृतिविद् दहितले भन्नुभयो, “लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएको बेला म मन्त्री थिएँ, त्यसबेलै मौका पाएर मैले पहिलो माघ महोत्सव राख्न आग्रह गरेँ र त्यसबेलादेखि मनाउन थाल्यौँ”, उनले भने, “हाम्रो मुख्य उद्देश्य थारूहरूको पर्वलाई देश हुँदै विदेशमासमेत परिचित गर्ने थियो ।”

उहाँका अनुसार पहिला सीमित गाउ्रँमा मात्रै माघी मनाइएकामा अहिले देशदेखि विदेशमासमेत माघी मनाउँदै जाँदा यो मुख्य पर्वका रूपमासमेत परिचित भएको छ । अमेरिका, अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, कतार जस्ता देशमा रहेका थारूले समेत माघी पर्वमा छुट्टी लिएर मनाउने गरेका छन् ।

उनले भने, “पहिला थारूहरूले घोँगी खान लाज मान्थे तर अहिले काठमाडौंको हरेक होटलमा घोँगी परिकार राखिएको हुन्छ, यो सबैभन्दा धेरै बेचिने परिकार बनेको छ, यसको मुख्य कारण माघी महोत्सवको आयोजना नै हो ।” तराईमा बस्ने थारूहरूले पौष्टिक खानाका रूपमा प्रयोग गर्दै आएको गङ्गटो, माछा, घोँगी जस्ता परिकार अहिले लोकप्रिय भएको जनाइएको छ ।

“थारूहरूको पहिरनका रूपमा लगाइने गरगहना तथा कपडा लोप भएको अवस्था थियो, तर काठमाडौंँमा माघ महोत्सव मनाउन थालेपछि, यसको प्रयोग बढेको छ”, उनले जिकिर गरे ।

माघी किन मनाइन्छ ?
थारूहरू धेरैजसो कृषि पेसामा आवद्ध भएको र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे । माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ । । पहाड र काठमाडौँ उपत्यकामा यसै दिनपर्ने माघे सङ्क्रान्ति एक दिन मात्रै मनाइ पनि थारू समुदायले भने माघ महिनाभरी नै मनाउँछन् ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । थारू समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिस मिलेर सुङ्गुर काट्ने चलन छ । त्यस दिनलाई ‘जिता मरना दिन’ भनिन्छ । पुस मसान्तमा सुङ्गुरको मासु, ढिक्री, रोटी, माछाआदि परिकार तयार गरिन्छ । त्यस रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । विशेष गरी यसपर्वमा छोक्रा नाच (मघौटा नाच) र ढुमरु गाउने गरिन्छ ।

माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीमा नुहाउन जान्छन् र घरमा आएर आ–आफ्ना दिदीबहिनीलाई उपहार दिने गर्छन्, जसलाई ‘निसराउ’ भनिन्छ । त्यसपछि गाउँभरी ढोगसलाम गर्छन्, आशीर्वाद थाप्छन् र नाचगान गर्दै रमाउँछन् । यस पर्वमा उनीहरू वर्षभरीका सुखदुःखका कुरा साटासाट गर्छन्, घरपरिवारभित्र कामको बाँडफाँट गर्छन् । त्यही दिन सबै जना जम्मा भएर गाउँको महटावाँ (बरघर) र चौकीदार चुन्ने कार्य पनि हुन्छ ।

केही समय पहिले कमैया र कम्लहरीलाई छुटाउने, फुकाउने कार्य पनि यसै दिन गरिन्थ्यो । अहिले यस्तो प्रथा हटिसकेको छ । गाउँमा कामकाजको बाँडफाँट, गएको वर्षभरीको कामको समीक्षा र नयाँ नीतिनियम बनाउने जस्ता विविध काम पनि यही दिन गरिन्छ ।

प्रतिक्रिया