थप रासायनिक मल उपलब्ध हुने भएपछि किसानलाई राहत
जनकपुरधाम । सरकारले थप रासायनिक मल उपलब्ध गराउने भएपछि धनुषाका किसानलाई राहत हुने भएको छ । मधेस–प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही माघ ४ को पत्रअनुसार कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखा धनुषालाई थप एक हजार ७९ मेट्रिक टन युरिया मल उपलब्ध गराउने भएपछि हिउँदे बाली लगाएका किसानलाई राहत हुने भएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड धनुषाका निमित्त प्रमुख रविकुमार केसरीले थप युरिया मल प्राप्त हुने र मल ल्याउन यसै महिनामै बोलपत्र आह्वानको तयारी भइरहेको जानकारी दिए ।
सम्भवतः यही माघ १८ मा बोलपत्र आह्वान हुने र हिउँदे बाली उत्पादक किसान लाभान्वित हुने गरी चाँडै मल ल्याउन पहल भइरहेको उनको भनाइ छ । “किसानले मलको माग गरिरहेकाले हामी दबाबमा थियौँ” केसरीले भने, “अब बाँकी प्रक्रिया पूरा गरेर छिट्टै मल उपलब्ध गराउँछौँ ।”
कृषि सामग्री कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा धनुषाको दक्षिणी क्षेत्रका लागि जनकपुरधाम शाखामा नौ हजार मेट्रिकटन युरिया र छ हजार मेट्रिकटन डिएपी मलको लक्ष्य तोकेको छ । हिउँदे सिजनका लागि हालसम्म एक हजार ४०४ मेट्रिक टन युरिया र एक हजार ८७२ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा एक हजार २५३ मेट्रिक टन युरिया र एक हजार ८०० मेट्रिक टन डिएपी वितरण गरिसकिएको केसरीले जानकारी दिए ।
“पर्याप्त र समयमै मल प्राप्त नहुँदा उसै पनि समस्या छ, त्यसैमा स्थानीय तहबाट समयमा सिफारिस नआउँदा मल विवतरणमा ढिलाइ भएको छ”, केसरीले भने “हामीसँग अब करिब ११ मेट्रिकटन युरिया र ७२ मेट्रिकटन डिएपी मल मौज्दात छ ।”
त्यसैगरी उत्तरी क्षेत्रका लागि शाखा कार्यालय ढल्केबर धनुषामार्फत् वार्षिक पाँच हजार मेट्रिकटन युरिया र दुई हजार ३०० मेट्रिकटन डिएपी मल बिक्री वितरण गर्ने लक्ष्य रहेको पनि जनाइएको छ । कृषि सामग्री केन्द्रले धनुषाको दक्षिणी क्षेत्रमा जनकपुरधाम कार्यालयमार्फत् करिब ६५ प्रतिशत र जिल्लाको उत्तरी क्षेत्रमा ढल्केबर शाखामार्फत् करिब ३५ प्रतिशत मल वितरण गर्दै आएको छ ।
जिल्लास्थित कृषि ज्ञान केन्द्रले स्थानीय तहमा खेती भइरहेको जमिनका आधारमा निर्धारण गरेको कोटाअनुसार मल वितरण हुने गरेको छ । धनुषाका एक हजार आठ स्थानीय तहमध्ये खेती भइरहेको जमिनका आधारमा लक्ष्मीनियाँ गाउँपालिकाले सबैभन्दा बढी र जनकनन्दनी गाउँपालिकाले सबैभन्दा कम कोटा मल पाइरहेका कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले जानकारी दिए ।
कुल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा ५३ हजार ८२५ हेक्टरमा धान र ३६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भइरहेको कृषि ज्ञान केन्द्र धनुषाको तथ्याङ्क छ । पर्याप्त र समयमै मल आपूर्ति नहुँदा देशभरीमा जस्तै यहाँका किसानले पनि समस्या झेल्दै आएका छन् । रासस
















ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
३ किलो ४३५ ग्राम गाँजासहित त्रिभुवन विमानस्थलबाट थाई नागरिक पक्राउ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया