प्रचण्ड- ओली भेटवार्ता
प्रचण्ड -ओली : नजिक बन्ने प्रयास, निस्किएन राष्ट्रपतिमा निकास
प्रचण्ड प्रधानमन्त्री बनेयता ११ पटक बालुवाटार, ४ पटक बालकोट र १ पटक खुमलटारमा भेटवार्ता

काठमाडौं । सत्ता साक्षेदार मुख्य दुई दलका शीर्ष नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीचमा अचेल बाक्लो सम्वाद हुन थालेको छ । लामो सम्वादहिनता तोड्दै यी दुई नेताले पुस १० देखि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी नयाँ राजनीतिक समिकरण सुरु गरेका थिए ।
त्यसयता ओली र प्रधानमन्त्री प्रचण्डका बीचमा सम्वादहिनता त तोडिएको छ । तर, एकले अर्काे नेतालाई गर्ने आशंका र अविश्वास मेटिएको छैन । त्यही मेटने र नजिक बन्ने कोसिसमा दुई नेताले पुस १० यता नै दर्जन बढी पटक एक्लाएक्लै वार्ता गरेका छन् ।
त्यस्तो वार्ता दुवै नेताका निवाससम्म पुगेरै भईरहेका छन् । बुधबार मात्रै पनि प्रधानमन्त्री प्रचण्ड ओलीसँगको सम्वादका लागि ओलीको भक्तपुर बालकोटस्थित निवासमा पुगेका थिए । बुधबारसहित प्रधानमन्त्री प्रचण्ड ओलीको निवासमै सम्वादका लागि ४ पटक पुगेका छन् ।
ओली पनि प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटार नसर्दै एकपटक खुमलटार पुगेर छतमा बसेर सुन्तला खाँदै गफिएका थिए । प्रचण्ड बालुवाटार सरेपछि ओली एक्लै वार्ताका लागि थप ११ पटक प्रधानमन्त्री निवास पुगेका थिए ।
पुस १० मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले सहित राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), राष्टिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसद समेतको साथमा प्रधानमन्त्री भएका थिए ।
त्यसयता प्रधानमनत्री प्रचण्ड र ओलीका बीचमा एक्लाएक्लै १६ पटक भेटवार्ता र छलफल भएको छ । थप ५ पटक सत्ता साक्षेदार दलको बैठकमा उनीहरुका बीचमा सम्वाद भएको छ । प्रधानमन्त्रीले एकपटक आफुलाई संसदमा विश्वासको मत दिने कांग्रेससहितको सर्वदलीय बैठक राखेका छन् ।
माओवादी केन्द्रलाई कांग्रेससँगको समिकरणबाट आफुहरुसँगको समिकरणमा ल्याउन पहल गरेको एमालेले प्रचण्डलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफुले लिने समझदारी गरेको बताउँदैं आएको छ । प्रधानमन्त्री र सभामुखमा भने अढाई वर्षको आलोपालो गर्ने समझदारी पनि त्यसबेला भएको नेताहरुको तर्क छ ।
तर प्रधानमन्त्रीले पुस २६ मा संसदमा विश्वासको मत लिनेबेला कांग्रेसले पनि प्रचण्डलाई मत दिएका थिए । कांग्रेसले सिधा प्रतिपक्षमा नबसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले त्यही समयदेखि प्रचण्डसँग भित्रभित्र झस्किएको छ । अझ त्यसमाथी प्रधानमन्त्रीले गत माघ ३ मा आफुलाई विश्वासको मत दिने दलहरुको सर्वदलीय बैठक राख्नु र त्यसयता राष्ट्रपति मा साझा सहमति खोज्नुपर्ने अडान लिन थालेपछि एमाले शसंकित छ ।
माओवादी केन्द्रले सरकार निर्माणका बेला बनेको समिकरण प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनेबेला बदलिएको भन्दै नयाँ ढंगले प्रमुख दलहरुका बीचमा सहमति हुनुपर्ने र राष्ट्रपति सवैका लागि मान्य साझा खोज्नुपर्नेमा जोड दिँदैं आएको छ । तर माओवादी र प्रधानमन्त्री प्रचण्डको त्यस्तो प्रस्तावमा एमाले सहमत छैन ।
कांग्रेसले भने प्रधानमन्त्रीको दल माओवादीले राष्ट्रपति चुनावमा आफुहरुलाई साथ दिने आश गरिरहेको छ ।
यो वीच ओली सत्ता साक्षेदार दलको राजनीतिक संन्यत्रको संयोजक भएर देखाएको ब्यवहार, कार्यशैली, संसदमा ओलीले विगतमा आफुले गरेको संसद विघटनको बचाउ देखि कांग्रेसमाथी गरिरहेको आक्रमण, राष्टिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय, गृह मन्त्रालयको विवाद सम्मले प्रधानमन्त्री र ओलीका बीचमा अविश्वास बढ्दै जान थालेको र त्यसको असर राष्ट्रपति निर्वाचनमा देखिने आशंका राजनीतिक बृतमा छ ।
राष्ट्रपति चुनावमा माओवादी केन्द्रको मत निर्णायक छ ।
यही बुझेरै ओली र कांग्रेस सभापति शेरवहादुर देउवा सम्मले प्रधानमन्त्री प्रचण्डलाई तान्ने कोसिस गरिरहेका छन् । ओली र प्रचण्ड भने बाक्लो सम्वादमा भएपनि एक अर्काका गतिविधिलाई एकदमै नजिकबाट नियालिरहेका छन् । प्रचण्ड प्रधानमन्त्री बनेको ढेड महिनाको बीचमा एक्लै १६ पटक र सत्ता साक्षेदार दलहरुसहितको बैठकमा ५ पटक भेटिसकेका ओली र प्रचण्डले कुनै सस्थागत निर्णय लिन सकिरहेका छैनन । राष्ट्रपति को भन्नेमा उनीहरुका बीचमा सम्वाद हुन सकेको छैन ।
भलैं भोलि सत्ता साक्षेदार दलको राजनीतिक संन्यत्रको बैठक बस्ने र त्यही राष्ट्रपतिका उम्मेदवारका विषयमा छलफल गर्ने उनीहरुको तयारी छ । तर ओली एमालेका उम्मेदवार राष्ट्रपति उम्मेदवार हुने र त्यसैमा प्रधानमन्त्रीले सहमति खोज्ने भए खोज्नुपर्ने अडानमा ओली छन् ।
तर प्रचण्ड सकभर कांग्रेसलाई पनि मान्य हुने नेता लाई राष्ट्रपति बनाउनु पर्ने पक्षमा छन् । ओलीले आफु अनुकुलको पात्र अगाडी सारेर राष्ट्रपति पदको मर्यादा जोगाउने भन्दा आफु अनुकुल प्रयोग गर्नसक्ने पात्र छनौट गर्नसक्ने भय प्रचण्डमा देखिन्छ । सोहीकारण पनि उनी कांग्रेसले पनि मान्य हुने गरी राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा उभिइरहेका छन् ।
ओली र प्रचण्डका बीचमा भएका दर्जन बढी एक्लाएक्लै सम्वादमा पनि ओलीले राष्ट्रपति उम्मेदवार बनाउने पात्रका बारेमा कुनै संकेत प्रधानमन्त्रीलाई गरेका छैनन । त्यसले पनि दुई नेताका बीचको सम्वन्ध सौहार्द बन्न नसकिरहेको अनुमान गरिएको छ । रास्वपालाई गृह दिनुपर्ने ओलीको दवावमा पनि प्रचण्ड यो बीचमा परेका छन् । रास्वपालाई सरकारमा टिकाउन नसकेकोमा एमालेका नेताहरुले प्रधानमन्त्रीमा दोष देखिरहेका छन् । यसले पनि सत्ता गठबन्धनमै रहेपनि भित्रभित्र दुई शीर्ष नेताका सम्वन्धमा खटपट रहेको वुझन कठिन छैन ।
यधपी उनीहरुले एकले अर्काेलाई इन्ग्रेज गराईराख्ने र सम्वन्ध सुधार गरेर नजिक बन्ने प्रयासमा अहिले बाक्लो सम्वाद भईरहेको दुवै पार्टीका नेताहरु बताउँछन् ।
ओली प्रचण्ड भेटवार्ताका श्रृंखला
पुस १० मा कांग्रेससँगको सम्वन्ध तोडेर बालकोट पुगेका प्रचण्ड त्यसपछि प्रधनमन्त्री नियुक्त ।
पुस ११ मा प्रधानमन्त्रीको शपथ, त्यस अगाडी सिंहदरवारमा सत्ता साक्षेदार दलको बैठक
पुस १३ मा प्रचण्डको निवास खुमलटारमा ओली प्रचण्ड वार्ता, छतमा सुन्तला खाँदै वातचित । त्यही दिन उनी प्रधानमन्त्री बालुवाटार सरेका थिए ।
पुस १४ मा बिहानै बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता सँगै सत्ता गठबन्धन दलको बैठक
पुस १५ मा प्रधानमन्त्री निवास बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता
पुस १९ मा बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता
पुस २० मा सत्ता साक्षेदार दलको बैठक बालुवाटारमा
पुस २३ मा बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितीमा सरकारको साझा निति तथा कार्यक्रम तय गर्न बनेको समितिको रिपोट पेश ।
पुस २४ मा सत्ता साक्षेदार दलकोहरुको बैठक बालुवाटारमा
पुस २५ मा प्रतिनिधिसभाको बैठक शुरु , त्यही दिन सरकारका नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिककरण सिंहदरवार प्रधानमन्त्री कार्यालयमा
पुस २६ मा प्रधानमन्त्रीलाई संसदमा असाधारण विश्वासको मत प्रँप्त । कांग्रेसले विश्वासको मत दिएपछि ढोक्सा थाप्न कांग्रेस लागेको ओलीको आरोप
पुस २७ मा ओली निवास बालकोटमा प्रचण्ड र ओलीवीच भेटवार्ता ।
पुस २८ मा बालुसवाटारमा ओली प्रचण्ड भेटवार्ता
पुस ३० मा ओली र प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता
माघ २ मा बालकोटमा केपी ओली र प्रचण्डका बीचमा भेटवार्ता, त्यसै दिन साझ बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक, पद बाँडफाँड
माघ ३ मा मन्त्रिपरिषद् थप विस्तार
माघ ३ मै प्रधानमन्त्रीले आफुलाई संसदमा विश्वासको मत दिने कांग्रेस सहितका दलको सर्वदलीय बैठक आह्रवान । राष्टिय सहमतिको प्रयास थाल्ने उदघोष । ओली केही बेर सहभागी भएर बाहिरिएका थिए ।
माघ ५ मा एमालेबाट देवराज घिमिरे सभामुखमा निर्वाचित
माघ ७ मा रास्वपाबाट उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित
माघ १० मा ओली प्रचण्ड भेटवार्ता बालुवाटारमा
माघ १२ मा ओली प्रचण्ड बालुवाटारमा भेटवार्ता
माघ १८ मा ओली प्रचण्ड भेटवार्ता बालुवाटारमा
माघ २१ बालुवाटारमा ओली प्रचण्ड भेटवार्ता ।
माघ २२ मा ओलीको संसदमा सम्वोधन ।
माघ २४ मा ओली प्रचण्ड वार्ता बालुवाटार ।
माघ २५ बालकोटमा ओली प्रचण्ड भेटवार्ता

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।
प्रतिक्रिया