बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४ औँ साधरणसभाको आज भैरहवामा उद्घाटन गर्दै उनले केही समययता बैंकको ऋण नतिर्ने जस्ता विषयमा हल्ला सुरु भएका र यसबाट अराजकता सिर्जना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने धारणा राखेका हुन् ।
उनले बैंकको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनु पर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताए । उनले भने, “हामी निजी क्षेत्रका तर्फबाट व्यवसायीको हितमा हुनेगरी सधैँ पहल गरिरहेका छौँ । बैंकिङ ब्याजदरको विषयमा पनि सरकारसँग बारम्बार छलफल गरिरहेका छौँ । देशमा व्यावसायिक एवं लगानीमैत्री वातावरण निर्माण गर्ने काममा हामी सदैव लागिपरेका छौँ ।”
वरिष्ठ उपाध्यक्ष ढकालले देशको अर्थतन्त्रको अवस्था हेरेर व्यवसायीहरूले धैर्यधारण गनु पर्ने बेला आएको पनि बताए । उनले उद्योग व्यवसायमा धैर्य धेरै चाहिने र यसबाट मात्र व्यावसायिक सफलता हात लाग्ने सुझाव दिए ।
सो अवसरमा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्वअध्यक्ष ओमकार गौचन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्र डगमागाएको अवस्था देखिएकाले सबैको सहकार्य आवश्यक रहेको बताए ।
उनहरूले सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योगभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे ।
त्यसैगरी रुपन्देहीका उद्योगी व्यवसायीले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताए । उनीहरूले बैंक तथा वित्तीय संस्थाको आधार दर नघट्दासम्म ब्याजदर कम नहुने भएकाले अर्थतन्त्र जोगाउनका लागि तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताए ।
कृषिमा हुनु पर्ने आधुनिकीकरण र यान्त्रिकीकरणका साथै कृषिमा व्यावसायीकरण हुनु आवश्यक रहेकोमा उनीहरूको जोड थियो ।
















विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
आज चैत १२ गते बिहीबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
माैसम पूर्वानुमान: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया