वित्तीय समस्या गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरताका साथ लिएकाले समाधान गर्ने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्थाको ब्याज, लघुवित्तका समस्या, व्यवसायीको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताए ।
‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासा देखिएका छन्, लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्, व्यवसायीले विभिन्न ढङ्गले चासो र चिन्ता राखेका छन्,’ उनले भने, ‘यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन्, यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु ।’
मुलुकको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषद्को पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको स्मरण गरे ।
‘आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित भयो, सरकार अर्थतन्त्रका समस्या समाधान गर्न तल्लीन छ,’ उनले भने, ‘बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु ।’
उनले वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेको बताए । ‘सरकार समस्या समाधानमा गम्भीर छ, आवश्यक भए यसका लागि उच्चस्तरीय आयोग बनाउन सकिन्छ,’ उनले भने ।
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त प्रस्तुत गर्दै अर्थतन्त्रका सूचकांक सकारात्मक दिशातर्फ अग्रसर भइरहेको जिकिर गरे ।
बैठकमा निजी क्षेत्र तथा बैंङ्किङ क्षेत्रका प्रतिनिधिले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझाव प्रस्तुत गरे ।
बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, विभिन्न व्यावसायिक सङ्गठनका प्रतिनिधि, बैंकर एशोसिएशनलगायत वित्तीय क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो ।















रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको भाउ बढ्यो
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया